सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २८ जेठ २०८१, २१ : ४१
सोमबार, २८ जेठ २०८१

आज २०८१ जेठ २८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा ‘फ्लोर क्रस’ पछि गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, दिल्ली भ्रमण सकेर फर्किए प्रधानमन्त्री प्रचण्ड, सुदूरपश्चिम सरकार विस्तार, विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप लामिछाने, गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा लम्बियो, विदेशी विनिमय सञ्चिति बढ्यो लगायत छन् ।

१. ‘फ्लोर क्रस’पछि गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । माओवादी केन्द्रको चुनावचिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेसँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् ।

२. दिल्ली भ्रमण सकेर फर्किए प्रधानमन्त्री प्रचण्ड  
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्लीको भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आयोजित शपथग्रहण समारोहमा सहभागी हुन त्यसतर्फ गएका थिए । 

३. सुदूरपश्चिम सरकार विस्तार
लामो कसरतपछि सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गरेका छन् । उनले सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रसमेतलाई समेटेर सरकार विस्तार गरेका हुन् ।

४. विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप लामिछाने
टी–२० विश्वकपमा नेपाली टोलीबाट खेल्न क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । भिसा नदिएका कारण यसअघि अमेरिका जान रोकिएका उनी वेस्ट इन्डिजमा हुने नेपालको दुई म्याचमा खेल्नका लागि वेस्ट इन्डिज पुगेका हुन् । 

५. गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा लम्बियो
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश गरेको हो । यससँगै लामिछानेविरुद्धको मुद्दा लम्बिने भएको छ ।  

६. जसपा नेपालको नजरमा कस्ता छन् प्रमुख दल ?
जसपा नेपालको एकता महाधिवेशन सोमबार जनकपुरमा सुरु भएको छ । महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । जसमा विभिन्न प्रमुख दलहरूको बारेमा टिप्पणी गरिएको छ । 

७. विदेशी विनिमय सञ्चिति बढ्यो
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेको जानकारी दिएको छ । १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार २०८० असार मसान्तको तुलनामा २६.२ प्रतिशतले विदेशी विनिमयको सञ्चिति बढेको हो ।

८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो आपतकालीन उद्धार अभ्यास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनासँग सम्बन्धित अभ्यास गरिएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यास आयोजना गरिएको हो ।

९. नेप्से बढ्यो
सोमबार ८.९० अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झण्डै साढे ५ अर्ब हाराहारीको कारोबार भएको छ । नेप्से परिसूचक २०८२ बिन्दुमा पुगेर रोकिएको छ ।

१०. सुनको सिक्री लुट्न गोली प्रहार
सुनको सिक्री लुट्न महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएका अज्ञात समूहले सुनको सिक्री लुट्न युवकमाथि गोली प्रहार गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप