बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

के भन्छन् गण्डकी प्रदेश सरकार जोगाइदिने देवकोटा ?

सोमबार, २८ जेठ २०८१, १८ : १३
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । गण्डकी प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटाले आफ्नो निर्णयको बचाउ गरेका छन् । सोमबार प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत दिइयोस् भन्ने प्रस्तावको पक्षमा उनले माओवादी दलको ह्विप उलङ्घन गरी विश्वासको मत दिएका थिए । 

प्रदेश सभामा निर्णायक रहेका देवकोटाको मतले पाण्डे सरकार ढल्नबाट जोगिएको छ । उनले प्रदेश सभा निर्वाचनमा माओवादीको एकल चुनाव चिन्ह लिएर जितेको भएपनि संसदीय दल, प्रदेश सभा र निर्वाचन अयोगमा पार्टीको नाम नेपाल समाजवादी पार्टी भएकाले केन्द्रको निर्णय अनुसार विश्वासको मत दिएको दाबी गरे । यद्यपि देवकोटाले दलको ह्विप उलङ्घन गरेको भन्दै माओवादी गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले उनीमाथि कारबाही गर्ने बताइसकेका छन् ।

तर प्रचलित कानुन र पार्टीको निर्णय अनुसार विश्वासको मत दिएकाले माओवादीले कारबाही गर्न नसक्ने उनको तर्क छ । साथै प्रदेश सभा र सरकारलाई बचाउनका लागि आफूले पाण्डेलाई विश्वासको मत दिएको उनले दाबी गरेका छन् ।

विश्वासको मत दिएपछि यस्तो छ, देवकोटाको प्रतिक्रिया 

हामी सबैलाई थाह छ, गण्डकी प्रदेशको स्थिति अलि जटिलतातर्फ गयो । १४/१५ महिनामा चार पटक सरकार फेरबदलको स्थिति बन्यो । गण्डकी प्रदेश रहने कि नरहने चुनौती मैल देखेँ । पार्टीभित्र यसबारेमा धेरै छलफल गर्‍यौँ । अघिल्लो पटक खगराज माननीयलाई पहिलोपटक हस्ताक्षर गरेर समर्थन दिएका थियौँ । दोस्रो पटक केन्द्रीय राजनीतिमा परिवर्तन भयो । सुरेन्द्रराज पाण्डेलाई हस्ताक्षरसहित समर्थन दिएको थिएँ । त्यसपछि हामीलाई थाह नै नदिएर सरकार बनाउन चलखेल हुन थाल्यो । हामीलाई गम्भीर शङ्का लाग्यो, गण्डकी प्रदेश अब बरबादीतर्फ जाँदैछ । यो बारेमा पार्टीभित्र गम्भीरतापूर्वक छलफल भयो । घटनाक्रम विकसित हुँदै गयो । मुद्दा अदालतमा पुग्यो । सरकार बन्ने भत्किने क्रम बढ्यो । सरकारले बहुमत प्राप्त नगर्ने तर सधैँ फेरबदल हुँदै गयो । विश्वास र अविश्वासको प्रस्ताव प्रदेश सभामा आइरहने भयो । सबैभन्दा ठुलो कुरा प्रदेश र प्रदेश सभालाई स्थायित्व दिने कुरा थियो । त्यही आधारमा यहाँका राजनीतिक पार्टीहरूसँग बारम्बार छलफल गरेको थिएँ ।

सरकार बनाउन म मात्र निर्णायक थिइनँ । मैले भोट दिइरहँदा पनि सरकार बन्छ भन्ने आधार थिएन । मैले भोट दिँदा पनि सरकार बनेन  । स्थायित्व पाएन  । त्यसका लागि अन्य शक्ति पनि आउनुपर्थ्यो । मुख्यतः राप्रपा पनि आउनुपथ्र्यों । आज निर्णायक रूपमा रहेका अन्य पार्टी एकै ठाउँमा उभिएको स्थितिमा मैले र मेरो पार्टीले पक्षमा मतदान गर्दा गण्डकी प्रदेश सरकारले स्थायित्व पाउँछ । सरकार बचाउन सकिन्छ । मध्यावधिबाट रोक्न सकिन्छ । आर्थिक सङ्कट परेको अवस्थामा सरकार बचाउन सकिन्छ भनेर पार्टी केन्द्र र प्रदेश पार्टीको निर्णय मुताबिक माओवादी केन्द्रले ह्विप जारी गरेता पनि विश्वासको मत दिएँ ।

मेरो पार्टी नेसपा भएका कारणले कानुनले दिएको अधिकार प्रयोग गरेको हुँ । चुनावमा एकल चिन्ह रहेपनि मेरो परिचयपत्र र संसदीय दलले दिएको परिचयपत्र, प्रदेश सभाले दिएको परिचयपत्र र निर्वाचन आयोगको वेबसाइटमा पार्टीको नाम नेसपा रहेकाले पार्टीको निर्देशन अनुसार मतदान गरेको हुँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप