बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

भारतसँगको खुला सीमा व्यवस्थित गर्नुपर्छ : ईश्वर पोखरेल

सोमबार, २८ जेठ २०८१, १७ : ३४
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतसँगको खुला सीमा व्यवस्थित गर्नुपर्ने बताएका छन् । पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहेका उनले ठुलो जनसङ्ख्या भएको देश भारतसँग खुल्ला सीमाका कारण अपराधजन्य घटना हुनसक्ने भएकाले सुरक्षा दृष्टिले सीमालाई व्यवस्थित गर्नुपर्ने बताए ।

नेकपा एमाले मकवानपुरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमाले नेपाललाई विभाजित गर्ने चिन्तनको विपक्षमा रहेको टिप्पणी गरे । पहिचानको नाममा आगो सल्काउनेहरूको विपक्षमा एमाले रहने र पहिचानको मुद्दामा एमालेका नेता कार्यकर्ता प्रस्ट हुन आवश्यक रहेको उनले बताए ।

‘एमालेका नेता कार्यकर्ताहरू नयाँ ढङ्गबाट अघि बढ्नुपर्छ । राजनीति अधिकार प्राप्तिको लागि हिजो लड्यौ । अब उत्पादन र विकास निर्माण रोजगारी तथा सामाजिक सुरक्षाका सवालमा काम गर्नुपर्छ । एमाले भ्रष्टाचार विरुद्धका सवालमा एजेन्डा बनाउनुपर्छ ।’

उनले भने, ‘उत्पादन विकास निर्माणका विषय राज्यको संरचनाको मात्र होइन । अब एमालेको एजेन्डा बन्नुपर्छ । विगतको कथाले एमाले चल्दैन । एजेन्डा विगत हुन सक्दैन त्यो इतिहास हो । अहिलेको जीवन परिवर्तनको एजेन्डा एमाले निर्माण गर्नुपर्छ । वर्तमानको परिस्थिति एमालेको एजेन्डा बन्नुपर्छ ।’

एमालेले भनेको मिसन ८४ राजनीति स्थिरताको लागि रहेको उनले प्रस्ट पारे । राजनीतिक अस्थिरताको कारण उत्पादन र आर्थिक समृद्धिको विषय पछि परेको उनको भनाई छ । कुनै पनि दलको बहुमत हुँदा देशमा अराजकता फैलिएको र मुलुकले विकासको गति लिन नसकेको उनको भनाई छ ।

मुलुकलाई विकासको गतिमा डोर्‍याउन एमालेले मिसन ८४ को एजेन्डा अघि बढाएको उनले बताए । ‘राजनीतिक अस्थिरताका कारण जनताको जीवनस्तर सुधारका काम गर्न सकिएन । अरू पार्टीले बहुमत ल्याएर देश बनाउन सक्दैन । बिगार्ने मात्र हो । देश विकास एमालेबाट मात्र सम्भव छ ।’ उपाध्यक्ष पोखरेलले भने ।

एमालेले पार्टी सुदृढ गर्ने योजनाअनुसार समय अगावै जिल्ला अधिवेशन गराएको उनले बताए । उनका अनुसार एमालेको १० औँ महाधिवेशनले पारित गरेको सिद्धान्त, विचार र एजेन्डा स्थापित गर्न एमाले पार्टी सुदृढ गर्ने अभियान चलाएको हो । 

एमालेलाई बलियो शक्ति बनाउन विचार र सिद्धान्तमा स्पष्टता आवश्यक रहेको उनले औँल्याए । विचारमा स्पष्टता नभएको पार्टी, सङ्गठन भनेको भिड मात्र हुने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप