बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकपमा आज

पहिलो पटक दक्षिण अफ्रिकालाई हराउने योजना बुन्दै बंगलादेश

सोमबार, २८ जेठ २०८१, १४ : ०९
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा सोमबार दुई टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशबिच भिडन्त हुँदैछ । खेल न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति २०ः १५ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका र बंगलादेश प्रतियोगिताको समूह ‘डी’ मा छन् । नेपाल, श्रीलंका र नेदरल्यान्ड्स पनि यही समूहमा रहेका छन् । यो समूहमा नेपाल र बंगलादेश बाहेक अन्य टोलीले दुई–दुई खेल खेलिसकेका छन् । नेपाल र बङ्गलादेशले भने एक–एक खेल खेलेका छन् ।

यो समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा बङ्गलादेशले श्रीलंकालाई दुई विकेटले हराएको थियो ।

यसैगरी चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । समूहमा चार अंकसहित दक्षिण अफ्रिका पहिलो र दुई अंकसहित बंगलादेश दोस्रो स्थानमा छन् । दुई अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । नेपाल र श्रीलंकाले भने अंक बटुल्न सकेका छैनन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र बंगलादेश नवौँ स्थानमा छन् । टी–२० विश्वकपमा यी दुवै टोलीले नवौँपटक सहभागिता जनाउन लागेका हुन् । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै यी दुवै टोलीले नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन सेमिफाइनलको यात्रा हो ।

दक्षिण अफ्रिका सन् २००९ र सन् २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । बंगलादेश भने एकपटक प्रतियोगिताको सुपर–८ चरणसम्म पुगेको छ । बंगलादेशी टोली सन् २००७ मा सुपर–८ चरणमा प्रवेश गरेको थियो । दक्षिण अफ्रिकाले हालसम्म टी–२० विश्वकपमा कुल ४२ खेल खेलिसकेको छ । दक्षिण अफ्रिका त्यसमध्ये २६ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यसैगरी बङ्गलादेशले हालसम्म टी–२० विश्वकपमा कुल ३९ खेल खेलेको छ । बंगलादेशी टोलीले त्यसमध्ये १० खेलमा जित हात पारेको छ भने २८ खेलमा पराजय ब्यहोरेको छ । बंगलादेशको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । टी–२० विश्वकपमा हालसम्म बङ्गलादेशले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन । यी दुई टोलीबिच हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा कुल आठ खेल खेलिएको छ । त्यसमध्ये आठवटै खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

यसैगरी टी–२० विश्वकपमा हालसम्म यी दुई टोलीबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये तीनवटै खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । यी दुवै टोली सोमबारको खेलमा एक–अर्कालाई हराउँदै सुपर–८ चरणमा पुग्ने सम्भावना बलियो बनाउने धुनमा छन् ।

बंगलादेश र दक्षिण अफ्रिकाबिच सोमबारको खेल हुने न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच अहिलेसम्म सबैका लागि टाउको दुःखाइको विषय बन्दै आएको छ । यो स्टेडियमको पिच खासगरी ब्याट्सम्यानका लागि दुर्भाग्य साबित हुँदै आएको छ ।

यो स्टेडियममा खासरगरी तीव्र गतिका बलरको प्रदर्शन उपलब्धिमूलक बन्ने गरेको देखिन्छ । पछिल्लो समय दक्षिण अफ्रिकी ब्याट्सम्यान रिजा हेन्ड्रिक्स लयमा देखिएका छन् । उनी पछिल्लो एक वर्षको अवधिमा टोलीमा लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।

उनले एक वर्षको अवधिमा १० खेल खेल्दै कुल दुई सय ९२ रन बनाइसकेका छन् । यस क्रममा उनले दुई वटा अर्धशतक पनि प्रहार गरेका छन् । यद्यपि, जारी विश्वकपमा भने उनले दुई खेल खेल्दै कुल सात रनमात्र बनाउन सकेका छन् ।

यसैगरी पछिल्लो एक वर्षको अवधिमा दक्षिण अफ्रिकाका लागि सबैभन्दा बढी विकेट लिने बलर ओटनिल बार्टम्यान हुन् । उनले यस अवधिमा टोलीका लागि तीन खेल खेल्दै कुल आठ विकेट लिइसकेका छन् । जारी विश्वकपमा पनि उनले दुई खेलमा पाँच विकेट लिएका छन् ।

यसैगरी पछिल्लो समय बंगलादेशका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तौहिद हृदोय सबैभन्दा अगाडि छन् । उनले पछिल्लो एक वर्षको अवधिमा बंगलादेशका लागि १७ खेल खेल्दै कुल चार सय चार रन बनाएका छन् । यस क्रममा उनले दुई वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले पछिल्लो खेलमा ४० रन बनाएका छन् ।

यसैगरी पछिल्लो समय बंगलादेशका लागि सर्वाधिक विकेट लिने बलर मुस्तफिजुर रहमान हुन् । उनले पछिल्लो १२ महिनाको अवधिमा कुल १४ खेल खेल्दै २३ विकेट लिएका छन् । जारी विश्वकपमा पनि उनी टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले श्रीलंकाविरुद्ध तीन विकेट लिएका थिए ।

दक्षिण अफ्रिका र बंगलादेशबिच सोमबारको खेल हुँदा न्यु योर्कको मौसम सामान्यतः सफा रहने बताइएको छ । यद्यपि, वर्षाको सम्भावना चार प्रतिशत रहेको समाचारमा जनाइएको छ । सोमबार न्यु योर्कको तापमान १५ देखि २४ डिग्री सेल्सियसको बिचमा रहने छ ।

दक्षिण अफ्रिकाको सम्भावित टोलीमा एडेन मारक्रम (कप्तान), क्विन्टन डी काक (विकेटकिपर), रिजा हेन्ड्रिक्स, हेनरिच क्लासन, डेभिड मिल्लर, ट्रिस्टन स्टब्स, मार्को यानसेन, केशव महाराज, कागिसो राबडा, एनरिच नोर्जे र ओटनिल बार्टम्यान रहेका छन् ।

यसैगरी सम्भावित बंगलादेशी टोलीमा नजमुल हुसैन सान्तो (कप्तान), तानजिद हसन, सौम्य सरकार, लिटन दास (विकेटकिपर), तौहिद हृदोय, शकिब अल हसन, महमुदुल्लाह, रिसाद हुसैन, तास्किन अहमद, मुस्तफिजुर रहमान र तनजिम हसन सकिब रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप