शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

सोमबार, २८ जेठ २०८१, १४ : ०५
सोमबार, २८ जेठ २०८१

नारायणगढ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।  

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उनले भने, “काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न ।” 

उनले पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम भएको बताए । गर्मी बढेको कारण पर्यटकको सङ्ख्यामा कमी आएको उनको अनुमान छ । अध्यक्ष भट्टले विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको बताए । 

उनले भने, “भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रियस्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन् । जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ ।”  जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् । रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष धु्रव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताए ।  

उनले भने, “हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन् ।” यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उनले जानकारी दिए । उनले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवा सहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताए ।

चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आएका पर्यटनकर्मी रमेश दवाडीले  वर्षायाममा पर्यटक स्वतः घट्ने बताए । नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताए । 

उनले भने, “मन्सुन सुरु हुन लागेको छ । अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ ।” उनले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप