बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
बजेट

कोशी प्रदेशले साढे ३४ अर्बको बजेट ल्याउने

संघीय सरकारबाट २९ अर्ब १० करोड ५२ लाख रुपैयाँ पाउने निश्चित
सोमबार, २८ जेठ २०८१, १३ : ३५
सोमबार, २८ जेठ २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट निर्माणको अन्तिम तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता खगेन्द्र खड्काले बजेट निर्माणको अन्तिम तयारी गरिरहेको जानकारी दिए । 

‘संघीय सरकारले बजेट ल्याइसकेको छ । बजेटका अनुमानित स्रोतहरूको अनुमान पनि आइसकेको छ,’ खड्काले भने, ‘अब प्रोभिन्सियल लाइन मन्त्रालय बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा योजनाहरू समाविष्ट गर्ने काम सुरु हुन्छ ।’

यस पटकको बजेट भने विगत दुई वर्षको भन्दा सानो आकारको हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । संघीय सरकारले राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदानबापत सात वटै प्रदेशहरूलाई ९६ अर्ब ४५ करोड ८ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा कोशी प्रदेशले १४ अर्ब ५४ करोड २६ लाख रुपैयाँ अनुदान पाउनेछ । 

यस्तै वित्तीय समानीकरण अनुदान ८ अर्ब ९६ करोड ३२ लाख रुपैयाँ र सशर्तमा चार अर्ब १६ करोड ४३ लाख रुपैयाँ, विशेष अनुदान ७८ करोड १ लाख रुपैयाँ र समपूरक अनुदान ६५ करोड ५० लाख रुपैयाँ गरी २९ अर्ब १० करोड ५२ लाख रुपैयाँ सुनिश्चित भएको छ । 

प्रदेश सरकारले चालू आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार उठाउने लक्ष्य राखेको छ । उक्त लक्ष्यमा पनि ८० प्रतिशत कमी आउने अर्थ मन्त्रालयको अनुमान छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले सोही अनुसारको राजस्व लक्ष्य राख्दा पनि बजेटको आकार ३३ अर्ब ६८ करोड हाराहारी पुग्ने अनुमान छ । 

प्रदेशको सञ्चित कोषको रकम थप हुँदा र केही घाटा बजेट ल्याउँदा पनि बजेटको आकार साढे ३४ अर्ब भन्दा बढीको बनाउन नहुने अर्थ मन्त्रालयका अधिकारीहरूको सुझाव छ । 

  • विगत ४ वर्षको बजेट इतिहास

प्रदेश सरकारले हालसम्म ल्याएको सबैभन्दा ठुलो बजेट भनेकै आर्थिक वर्ष २०७६/७७ मा हो । उक्त आर्थिक वर्षमा सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याए पनि यथार्थ खर्च भने २९ अर्ब ८३ करोड ३२ लाख मात्रै भयो । यस्तै आर्थिक वर्ष ०७७/७८ मा प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाखको बजेट ल्याउँदा यथार्थ खर्च भने २७ अर्ब ९५ करोड १२ लाख मात्रै भयो । 

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याउँदा बजेटको यथार्थ खर्च भने २९ अर्ब ९६ करोड ६४ लाख मात्रै भयो । यस्तै गत आर्थिक वर्षमा प्रदेश सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको भए पनि खर्च भने ३० अर्ब ७५ करोड ७७ लाख मात्रै भयो । चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट ल्याएको छ । यसको पनि यथार्थ खर्च ३० अर्बभन्दा माथि नजाने प्रदेश लेखा नियन्त्रक कार्यालयको दाबी छ । 

प्रदेशका अहिलेसम्मका बजेटहरूको यथार्थ आय ३० देखि ३२ अर्ब हाराहारीको मात्रै छ । कोशी प्रदेश सरकारले चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ गरी ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप