आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

२०७३ मा प्रचण्डले शुभारम्भ गरेको ‘गुरिल्ला ट्रेक’ ले अब गति लिने विश्वास

सोमबार, २८ जेठ २०८१, १३ : ३६
सोमबार, २८ जेठ २०८१

बागलुङ । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवर्द्धन हुनेमा स्थानीय र पर्यटनकर्मी आशावादी छन् ।  

बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर विसं २०६८ मा गुरिल्ला ट्रेकको पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए । 

माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङसहित जनयुद्धले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो । 

पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका एक सदस्य सुरेन्द्र रानाले बजेटमा गुरिल्ला ट्रेकका नाम आउनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताए । 

“गुरिल्ला ट्रेकको गाइड बुक, म्याप सन् २०१२ मा बनिसकेको छ, हामीले महिनौँ लगाएर यो पदमार्ग पहिचान गरेका थियौँ, सुरुसुरुमा केही प्रवद्र्धनका काम पनि भए, पछि बिस्तारै ओझेलमा पर्दै गयो”, उनले भने, “पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने दायित्व राज्यको हो, बजेटमा घोषणा गरेर मात्र हुँदैन, कार्यान्वयन हुनुपर्छ ।” उनले सडक सञ्जाल विस्तारले पुराना र चल्तीका पदमार्ग सङ्कटमा परेको भन्दै तिनको संरक्षण गर्नुपर्ने बताए । 

पर्यटक पथप्रदर्शक दिवस गुरुङ गुरिल्ला ट्रेकलाई ‘लुकेको हिरा’का रुपमा चिनाउन चाहन्छन् । उनका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथिति आदि गुरिल्ला ट्रेकका विशेषता हुन् । “गुरिल्ला ट्रेक भर्जिन गन्तव्य हो, यसको ब्रान्डिङ गर्नु जरुरी छ”, उनले भने, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।”

सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्ने उनको भनाइ छ । उनले सरकारले ग्रेट हिमालयन, मुन्धुम, गुरिल्ला ट्रेकलगायतमा पर्यटकीय पूर्वाधार निर्माणको घोषणा गर्नुलाई सुखद मान्नुपर्ने बताए । 
उनले गत साल मध्य बर्खामा ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेका थिए । 

“अरू पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो”, उनले सुनाए । रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासङ्घ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताउए । 

उनका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनले बताए ।  राससबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप