बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप

यस्ता छन् भारत–पाकिस्तान खेलमा बनेका कीर्तिमान

सोमबार, २८ जेठ २०८१, ११ : ११
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित हात पारेको छ । भारतले आइतबार राति खेलिएको आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गर्‍यो ।

जितसँगै भारत चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक बटुलेको अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ ।  

आफ्नो दुवै खेलमा पराजित भएको पाकिस्तान र आयरल्यान्डको भने पहिलो चरणबाटै घर फर्किने सम्भावना बढेको छ । पाकिस्तानी टोली आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो ।

आइतबार राति न्यु योर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियममा खेलिएको भारत र पाकिस्तानबिचको खेलमा केही कीर्तिमान पनि बनेका छन् । त्यो खेलका क्रममा बनेका केही कीर्तिमानको विषयमा यहाँ चर्चा गरिएको छ ।

भारतीय टोलीको नाममा बनेको यो कीर्तिमान

खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा लआउट हुनुअघि एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १३ रनमात्र बनाउन सक्यो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो भारतको ऐतिहासिक जित हो । यसअघि भारतले एक सय १९ वा त्योभन्दा कम रन बनाएको खेलमा जित हात पार्न सकेको थिएन । यसअघि सन् २०१६ मा भारतले जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्दै एक सय ३८ रन बनाएको खेलमा जित हासिल गरेको थियो ।

टी–२० विश्वकपमा बनेको यो कीर्तिमान

भारत र पाकिस्तानबिचको खेलमा पहिले ब्याटिङ गर्दै केवल एक सय १९ रन बनाएर पनि भारतीय टोलीले जित हासिल गर्यो । टी–२० विश्वकपको इतिहासमा यसअघि एकपटक मात्र पहिले ब्याटिङ गर्दै यति कम स्कोर बनाउने टोली विजयी भएको छ ।

सन् २०१४ को टी–२० विश्वकपमा श्रीलङ्का र न्युजिल्यान्डबिचको खेलमा यस्तो नतिजा आएको थियो । त्यतिबेला श्रीलङ्काले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुनुअघि एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डको टोली १५.३ ओभरमा ६० रन बनाउँदै अलआउट भएको थियो । विश्वकपको त्यो संस्करणको उपाधि पनि श्रीलङ्काले नै जितेको थियो ।

भारतको नामसँग जोडियो यस्तो खराब कीर्तिमान

पाकिस्तानविरुद्ध आइतबार राति खेलिएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै १९ ओभरमा अलआउट हुनुअघि एक सय १९ रन बनायो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक भारतीय टोली पाकिस्तानविरुद्ध अलआउट भएको हो ।

यसका अतिरिक्त टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानविरुद्ध भारतले बनाएको यो सबैभन्दा कम स्कोर पनि हो । यसअघि सन् २०१२ मा खेलिएको भारत र पाकिस्तानबिचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले नौ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । त्यो खेलमा भारत पराजित भएको थियो ।

पहिलो पटक साहिन शाहको पहिलो ओभरमै छक्का

आईसीसी टी–२० विश्वकपको इतिहासमा पहिलो पटक पाकिस्तानी टोलीका तीव्र गतिका बलर साहिन शाह अफ्रिदीले आफ्नो पहिलो ओभरमै छक्का खाए । साहिन शाह अफ्रिदीलाई पहिलो ओभरमै भारतीय टोलीका कप्तान रोहित शर्माले छक्का प्रहार गरेका थिए । यसअघि टी–२० विश्वकपमा साहिन शाह अफ्रिदीलाई कुनै पनि ब्याट्सम्यानले पहिलो ओभरमै छक्का प्रहार गर्न सकेका थिएनन् ।

हार्दिक पाण्ड्याको नाममा लेखिएको यो कीर्तिमान

भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले आइतबार राति खेलिएको पाकिस्तानविरुद्धको खेलमा दुई विकेट लिए । योसँगै हार्दिक टी–२० क्रिकेटमा पाकिस्तानविरुद्ध सबैभन्दा बढी विकेट लिने भारतीय बलर पनि बनेका छन् । हार्दिकले भुवनेश्वर कुमारको कीर्तिमान तोडेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप