शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
बागमती

सरकारी कार्यालय नै पेस गर्दैनन् ईआईए प्रतिवेदन

२ कार्यालयलाई १०/१० लाख रुपैयाँ जरिवाना
सोमबार, २८ जेठ २०८१, ११ : ०५
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । सरकारी कार्यालयहरूले नै वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) पेस नगरेको पाइएको छ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका अनुसार २ सरकारी कार्यालयले  ईआईए प्रतिवेदन पेस नगरेको पाइएको हो ।

मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको चौतारा रङ्गशाला र मकवानपुरको गौरीटार रङ्गशाला निर्माण आयोजनाले ईआईए प्रतिवेदन तयार नगरी संरचना निर्माण गरेका हुन् । ईआईए प्रतिवेदन पेस नगरी संरचना बनाउने उक्त आयोजनालाई मन्त्रालयले जरिवाना समेत गरेको छ ।

मन्त्रालयका अधिकृत सञ्जीव सुवेदीका अनुसार चौतारा रङ्गशाला निर्माण आयोजनाको नियामक निकाय काभ्रेको भैँसेपाटीस्थित सार्वजनिक कार्यान्वयन इकाई र गौरीटार रङ्गशाला निर्माण आयोजनाको नियामक निकाय धादिङको गजुरीस्थित सार्वजनिक निर्माण कार्यान्वयन इकाईले संरचना निर्माण पूर्व ईआईए प्रतिवेदन पेस नगरेकाले जरिवाना गरिएको हो ।

ईआईए स्वीकृत भएपछि मात्र आयोजना कार्यान्वयन अघि बढ्ने कानुनी व्यवस्था रहेकोमा उक्त सरकारी कार्यालयले कानुनको परिपालना नगरेको पाइएकाले जरिवाना गरिएको उनले बताए । ईआईएले कुनै आयोजना गर्दा वातावरणमा प्रतिकुल प्रभाव पार्ने वा नपार्ने सम्बन्धमा विस्तृत रूपमा अध्ययन गरिने उनको भनाई छ । कुनै पनि ठुला आयोजना वा भवन संरचना निर्माण कार्यान्वयन गर्दा आयोजना क्षेत्रको भौतिक, जैविक तथा सामाजिक वातावरणमा दीर्घकालीन रूपमा पार्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न ईआईए अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उनले बताए ।

सार्वजनिक निर्माण कार्यान्वयन इकाई धादिङले प्रस्ताव गरेको हेटौँडा–६ स्थित निर्माणाधीन गौरीटार रङ्गशाला र सार्वजनिक कार्यान्वयन इकाई काभ्रेले प्रस्ताव गरेको सिन्धुपाल्चोक स्थित चौतारा रङ्गशाला आयोजनामा ईआईए प्रतिवेदन पेस नगरेको उनले बताए ।

ईआईए प्रतिवेदन पेस नगरेपछि उक्त कार्यालयहरूलाई जरिवाना गरिएको अधिकृत सुवेदीले बताए । इआइए प्रतिवेदन पेस नगरेको भन्दै दुवै कार्यालयलाई १०÷१० लाख रुपैयाँ जरिवाना गरिएको उनले बताए ।

उनका अनुसार हाल भने दुवै कार्यालयले इआइए प्रतिवेदन पेस गरेको छ । इआइए पेस भएसँगै उक्त प्रतिवेदन स्वीकृतको चरणमा रहेको र गौरिटार रङ्गशाला र चौतारा रङ्गशाला आयोजनको निर्माण कार्य अघि बढेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले अहिले गौरिटार रंगशालामा अन्तराष्ट्रियस्तरमो क्रिकेट रङ्गशाला र स्विमिङ पुल निर्माणको कार्य गरिरहेको छ ।

३ निजी आयोजनालाई ६६ लाख जरिवाना

मन्त्रालयले ईआईए स्वीकृत नगरी संरचना निर्माण गर्ने ३ निजी आयोजनालाई ६६ लाख जरिवाना गरेको हो । मन्त्रालयले आदर ट्रेड मल निर्माण आयोजना काठमाडौँ, व्यापारिक मल निर्माण आयोजना काठमाडौँ र गुड कर्म अपार्टमेन्ट काठमाडौँलाई इआइए नगरी संरचना निर्माण गरेको भन्दै जरिवाना गरेको हो ।

मन्त्रालयले आदर ट्रेड मल निर्माण आयोजना काठमाडौँको सञ्चालक संस्था आदर मल्टिइन्भेष्टमेन्ट कम्पनी प्रा.लीलाई ईआईए नगरी संरचना निर्माण गरेको भन्दै २५ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना पश्चात् सो कम्पनीले इआइए प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरेको थियो । कम्पनीले पेस गरेको उक्त प्रतिवेदन स्वीकृत भइसकेको मन्त्रालयका अधिकृत सुवेदीले बताए ।

उनका अनुसार इआइए प्रतिवेदन तयार नगरी संरचना बनाउने व्यापारिक मल निर्माण आयोजना काठमाडौँको सञ्चालक शुशीलमान गुरुङलाई ११ लाख रुपैयाँ जरिवाना गरेको छ । जरिवाना पश्चात् उक्त आयोजनाको इआइए प्रतिवेदन पेस भएको र मन्त्रालयबाट स्वीकृत गरिएको उनले बताए ।

ईआईए प्रतिवेदन नबनाई संरचना निर्माण गर्ने गुड कर्म अपार्टमेन्ट काठमाडौँको सञ्चालक संस्था गुड कर्म ग्रुप अफ कम्पनीज प्रा.लीलाई मन्त्रालयले ३० लाख रुपैयाँ जरिवना गरेको छ । जरिवाना पश्चात् सो कम्पनीले इआइए प्रतिवेदन मन्त्रालयमा पेस गरेको र स्वीकृतिको चरणमा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप