तराईमा प्रचण्ड गर्मी, ‘लु’ बाट कसरी जोगिने ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म तराईमा अत्यधिक गर्मीको सम्भावना रहने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी मध्य तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको छ ।
पछिल्लो समय नेपालगन्जमा यो वर्षको सबैभन्दा बढी अर्थात् ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने जोखिम हुन्छ । मानव शरीरको तापक्रम ३७ डिग्री नै भइरहने फिजिसियन डा. पुष्पमणि खरालले बताए । शरीरले यो तापक्रमलाई सन्तुलन गरिरहन खोजे पनि योभन्दा बढी तापक्रम भएर स्वास्थ्य समस्या देखिनुलाई नै ‘लु’ लाग्नु भनिने उनले बताए ।
- के हो ‘लु’ ?
वायुमण्डल वा वातावरण तातो भएर मानव शरीरमा देखिने असामान्य अवस्थालाई ‘लु’ भनिन्छ । डा. खरालका अनुसार वातावरणको तापक्रम धेरै बढेर शरीरमा भएको पानी र नुनको मात्रा घट्नु नै ‘लु’ हो । धेरै तातो वायुले मान्छेलाई चक्कर लाग्ने, टाउको दुख्ने, रिँगटा लाग्ने लक्षण देखिएमा ‘लु’ लागेको हुन सक्ने डा. खराल बताउँछन् ।
- ‘लु’ का कारण मान्छे कोमामा जान सक्छ !
‘लु’ का विभिन्न लक्षण हुन्छन् । ‘लु’ लाई लक्षणका आधारमा तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा अन्तिम वर्ग भनेकै मान्छे अचेत हुने र कोमामा जाने रहेको डा. खराल बताउँछन् ।
‘लु’कोे सामान्य अवस्थामा चक्कर लाग्ने, टाउको दुख्ने, रिँगटा लाग्ने लक्षण देखिन्छ । समस्या बढ्दै गयो र लामो समयसम्म तापक्रम बढिरह्यो भने मान्छे बेहोस हुन सक्छ । ‘लु’ को सबैभन्दा कडा रूप भनेकै अचेत हुने र कोमामा जाने रहेको डा. खरालले सुनाए ।
- ‘लु’ले पार्ने असर ?
वायुको तापक्रम बढ्दै जाँदा शरीरले तापक्रम प्राकृतिक रूपमा सन्तुलन गर्ने कार्य गर्दछ । तर लामो समयसम्म तापक्रम बढेमा शरीरको विभिन्न अङ्गमा अप्रत्यक्ष रूपमा असर पुर्याउँछ । मुटु, कलेजो, फोक्सो लगायत अङ्गमा अप्रत्यक्ष रूपमा असर गर्ने डा. खरालले सुनाए । तर यसले मस्तिष्क र मुटुलाई बढी असर पुर्याउने उनको भनाइ छ ।
‘मुटुको चाल थपघट हुने, पानी र नुनको कमीले ब्लड–प्रेसर घट्दै जाने, मुटुको चाल छिटोछिटो हुने कारणले मुटुमा समस्या देखिन्छ,’ उनले भने, ‘तापक्रम बढी भएमा नुन र पानीको कमीका कारण मान्छे कन्फुज हुने, बेसोस हुने लगायत समस्या देखा पर्छ ।’
- कस्ता मानिस बढी जोखिममा ?
बढ्दो तापक्रम र तातो बतासका कारणले मानव स्वास्थ्यमा असर देखिन्छ । तर बढी मात्रामा प्रभावित हुने बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगका बिरामी बढी जोखिम रहने डा. खरालले भनाइ छ ।
- ‘लु’ बाट कसरी जोगिने ?
बढ्दो गर्मीमा ‘लु’ लाग्ने सम्भावना हुने भएकाले सकेसम्म घाममा ननिस्कन विज्ञले सुझाएका छन् । ‘सकेसम्म दिउँसो घाममा ननिस्कने, अति आवश्यक कामका लागि निस्कन परेमा छाता लिएर निस्कने, केही समय हिँडेर छहारीमा बस्ने गर्नुपर्छ,’ खरालले भने ।
यस्तै, बिहान ११ देखि दिउँसो ३ बजे बिचमा बाहिर ननिस्कन डा. खरालले आग्रह गरे । ‘लु’ बाट जोगिने मुख्य उपाय भनेकै गर्मीबाट जोगिनु रहेको उनले बताए । गर्मीमा बढी मात्रामा पानी पिउनसमेत उनले सुझाए ।
आगामी चार दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना भएको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । तराई क्षेत्रमा ४० डिग्रीभन्दा बढी तापक्रम हुन सक्ने विभागको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेड र लियों युरोपा लिगको अन्तिम आठमा
-
पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय