आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

नेविसंघको अराजकता, तोडफोडमा स्ववियु सभापतिसमेत संलग्न

कर्मचारी, नगर प्रहरी र जनप्रतिनिधिमाथि हातपात गर्नेलाई मुद्दा चलाएपछि अराजकता सिर्जना
आइतबार, २७ जेठ २०८१, २२ : ३४
आइतबार, २७ जेठ २०८१

विराटनगर । विराटनगरमा आइतबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका कांग्रेस निकट नेविसंघका केही कार्यकर्ताले अन्धाधुन्ध आक्रमण र तोडफोड गरे । विद्यार्थीको तोडफोड र आगजनीका कारण कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो जलेर नष्ट भएको छ । उक्त गाडीमा सवार योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारीलाई पनि सामान्य चोट लागेको जनाइएको छ । 

यस्तै सरकारी नम्बर प्लेट कै बिएबी ८१८० साथै नेपाल विद्युत् प्राधिकरणको बा १ ञ १८८७, बा १ ञ २४१९, बाग्मती प्रदेश ०१–००१ ञ २७०१ र बाग्मती प्रदेश ०१–००१ ञ २७९० नम्बरको गाडीमा आगजनी भएको छ । सर्वसाधारणको केही थान साइकल पनि विद्यार्थीले नै क्षति पुर्‍याइदिएका छन् । 

विद्यार्थीहरूले आइतबार बिहानैदेखि महेन्द्र मोरङ क्याम्पस परिसरमा आन्दोलन सुरु गरेका थिए । त्यसक्रममा बिहान क्याम्पसको गेट अगाडिबाट हिँडिरहेका सरकारी नम्बर प्लेटका गाडीलाई तोडफोड र आगजनी गर्न सुरु गरेका थिए ।

पत्रकार तथा सर्वसाधारणलाई निर्बाध रूपमा क्याम्पस अगाडिबाट हिँडडुलमा पनि उनीहरुले अवरोध गरेका थिए । सञ्चारकर्मीहरूलाई गाडी तोडफोडको भिडियो, फोटो नखिच्न भनेका थिए । फोटो खिच्दा ढुङ्गा मुढा गरिरहेको देखिन्थ्यो । 

यस्तै केही नेविसंघका कार्यकर्ताहरूले क्याम्पसबाट उत्तर पाञ्चाली तिर पुगेर पनि गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार विद्यार्थी नेता महेन्द्र मोरङ क्याम्पसका सभापति जसवन्त पौडेल र सचिव सनम ठकुरीले आन्दोलनको नेतृत्व गरेका थिए । 

घटनाको कारण के हो ?

विराटनगरमा यो घटना हुनुका पछाडि तीन दिनअगाडि रङ्गेली नगरपालिकाभित्र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको विवाद प्रमुख कारक हो । गत जेठ २४ गते साढे ४ बजेतिर रङ्गेली नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीबिच विवाद भएको थियो ।

विद्यार्थी दीपककुमार यादवको नेतृत्वमा केही दिन अगाडि संयुक्त विद्यार्थी आन्दोलन समिति निर्माण गरी रङ्गेली नगरपालिकामा विद्यार्थीहरूले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रमा निजी विद्यालयहरूले लिने शुल्क सबै विद्यालयमा समान हुनुपर्ने, रङ्गेली नगरपालिकाले पारित गरेको शिक्षा ऐन प्रदेश र सङ्घसँग बाझिने खालको भएकोले त्यसलाई सच्याउनुपर्ने, निचामारी माविमा दरबन्दी मिलान हुँदा आएका शिक्षकलाई हाजिर गराउनुपर्ने लगायतका विषय छन् । 

संयुक्त विद्यार्थी आन्दोलन समितिले १३ गते जेठमा यो माग राख्दै नगरपालिकामा ज्ञापनपत्र दिएका थिए । त्यही विषयमा २३ जेठमा केही विद्यार्थीले नगरपालिकामा गएर आन्दोलनको घोषणा गरे । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतसँग मात्रै वार्ता गर्ने भने पछि प्रशासकीय अधिकृत लगायतसँग वार्ता भयो तर, समाधान भएन ।

समाधान नभएपछि सोही दिन ८ नम्बर वडाध्यक्ष ढकप्रसाद आचार्यसँग कुरा गर्ने तय भयो । वडाध्यक्ष आचार्य पालिकाका प्रवक्ता तथा नगरपालिकाका कार्यबहाक प्रमुख थिए । किनकि नगरप्रमुख दिलीप बगडियाले उनैलाई कार्यवाहक प्रमुख बनाएर उपचारका लागि भारत गएका थिए । 

तर, विद्यार्थीले तपाईँ को हो भनेर आचार्यसँग निहुँ खोज्न सुरु गरे । ‘आफू कार्यवाहक नगरप्रमुख हुँ भन्दा तपाईँले लिखित कागज देखाउनु भने । यो त निहुँ खोज्ने कुरा भयो । मजाक गर्ने कुरा भयो । तपाईंहरुको पनि आधिकारिता देखाऊ भनेर भन्दा गफ गर्नुको औचित्य छैन भन्दै उनीहरू बाहिरिए,’ आचार्यले त्यसबेलाको घटना सुनाए, ‘त्यसको भोलिपल्ट जेठ २४ गते दिउँसो विद्यार्थी एक्कासि हुल बाँधेर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरे र अन्धाधुन्ध आक्रमण सुरु गरे ।’

कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, ८ नम्बर वडाका वडाध्यक्ष आचार्यलगायत थिए । विद्यार्थीको हुल आक्रोशित हुँदै टेबुल ठोक्न थालेको दृश्य सीसीटिभी फुटेजमा पनि देखिन्छ । त्यसलाई रोक्न नगर प्रहरी आएका थिए । नगर प्रहरीमाथि पनि विद्यार्थीहरू जाइलाग्ने प्रयास गरेका छन् ।

निकै बेरको घम्साघम्सीपछि प्रहरी टोली आएर केहीलाई पक्राउ गरेर लगेको थियो । पक्राउ पर्नेमा रङ्गेली ६ का दीपक यादव, राहुल यादव, रुकुम यादव, रङ्गेली ७ का रमणकुमार राय, रङ्गेली ८ का विशेक झा र रङ्गेली २ का मिलन मिश्र रहेका छन् । 

उक्त घटनापछि कार्यवाहक नगरप्रमुखको भूमिकामा रहेका वडा अध्यक्ष आचार्यसहित जनप्रतिनिधिहरूको बैठक बस्यो । बैठकले घटनामा संलग्न तथा पक्राउ परेका व्यक्तिहरूले आपराधिक घटना गर्ने योजनासहित प्रवेश गरेको निष्कर्ष निकालेको थियो र मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको सोही सिफारिसका आधारमा पक्राउ परेका युवाहरूमाथि प्रहरी रङ्गेली नगरपालिकामा सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ । त्यसैको विरुद्धमा नेविसंघका कार्यकर्ता आइतबार आगजनी र तोडफोडमा उत्रिएका हुन् ।

यता, ६ विद्यार्थी सङ्गठनले एक संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थी तत्काल रिहा गर्न माग गरेका छन् । विज्ञप्तिमा नेविसंघ मोरङका सभापति प्रशान्त यादव, अनेरास्ववियुका कार्यवाहक अध्यक्ष माधव पासवान, अखिल क्रान्तिकारीका रोहित यादव,अनेरास्ववियूका अध्यक्ष गिरेन्द्र भुजेल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष राकेशकुमार यादव र स्वतन्त्र विद्यार्थी मञ्चका संयोजक प्रज्ज्वल अधिकारीले हस्ताक्षर गरेका छन् । उनीहरुले पक्राउ परेका विद्यार्थीहरूको रिहाइ नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

सुरक्षा स्रोतले भने गृहमन्त्री रवि लामिछाने विराटनगर आएको मौकामा नेविसंघका कार्यकर्ता अराजक भएको दाबी गरेको छ । ‘गृहमन्त्रीलाई देखाउन नै यसो गरेको देखिन्छ । नभए रंगेलीको घटनामा महेन्द्र मोरङका विद्यार्थी आन्दोलित हुनुपर्ने कारण खासै देखिँदैन । यो योजनाबद्ध तोडफोड र आगजनी हो,’ उक्त स्रोतले भन्यो । 

Student (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप