मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खच्चड फसेको घटना : कर्णाली राजमार्गको विकाससँगै बनेको थियो झोलुङ्गे पुल

दुई खच्चडको मृत्यु, ११ को सकुशल उद्धार
आइतबार, २७ जेठ २०८१, २२ : ०३
आइतबार, २७ जेठ २०८१

सुर्खेत । आइतबार अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा पुलमा सवार खच्चडहरू अड्किएको घटनाले निकै चर्चा पायो ।  पुलमा तीन वटा लट्ठा चुँडिँदा दैनिक उपभोग्य सामाग्रीहरू ल्याउन दैलेख खिड्की जीउला बजार आउँदै गरेका १३ वटा खच्चड पुलमा फसेका थिए । 

घटना बिहान नौ बजेतिर नै भए पनि प्रहरीसमक्ष ११ बजेतिर मात्रै खबर पुगेको थियो । त्यसपछि दुवै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागितामा खच्चडहरूलाई करिब पाँच घण्टापछि मात्रै उद्धार गर्न सकियो । 

इलाका प्रहरी कार्यालय राकम कर्णालीबाट घटनास्थलमा खटिएका सहायक हवलदार दीपेन्द्र कठायतका अनुसार १३ मध्ये दुई वटा खच्चडको मृत्यु भयो भने बाँकीको सकुशल उद्धार गरिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडा र पश्चिम दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुलमाथि खच्चडहरू हिँडिरहेका बेला दैलेखतर्फका लट्ठा चुँडिएका थिए । 

निकै पुरानो पुल भए पनि मर्मत सम्भार हुन नसक्दा लट्ठाहरू कमजोर रहेको पुलमा एकै पटक धेरै खच्चड आई लोड पर्दा लट्ठा चुँडिएका हुन् । दैलेखतर्फका तीन वटा लट्ठा चुँडिदा पुल पल्टियो र खच्चडका खुट्टा पुलको जालीमा अड्किएका थिए ।

पुलमा फसेका खच्चडमध्ये १० वटालाई नदीमा खसालिएको थियो भने बाँकी तीन वटालाई बगरमा । एउटा खच्चडको पुलमै तड्पिएर मृत्यु भएको थियो भने एउटाको खसालेपछि मृत्यु भएको प्रहरी सहायक हवलदार कठायतले रातोपाटीलाई जानकारी दिए । 

नदीमा खसालिएका खच्चडलाई डुङ्गाको सहायताले नदी किनारामा ल्याएर राखिएको छ । स्थानीयकाअनुसार खच्चड पञ्चदेवल नगरपालिका–९, घाटगाउँका तीन जना व्यापारीका हुन् । उनीहरू पसलमा सामाग्री सकिएपछि खच्चड लिएर खिड्की जीउला बजारमा सामान लिन आएका थिए । खिड्की जीउला बजार उक्त क्षेत्रको हाट बजारका रूपमा स्थापित छ । अछाम क्षेत्रका अधिकांश नागरिकहरूको मुख्य व्यापारिक केन्द्र पनि यही हो । 

खिड्की जीउला बजारका व्यापारी दीपबहादुर शाहीका अनुसार वारीका विद्यार्थीहरू पढ्न पारी कालेकाँडा (अछाम) जान्छन् भने पारीका नागरिकहरू दैनिक उपभोग्य सामाग्री लिन वारी (दैलेख) आउँछन् ।

पुलका लट्ठा चुँडिदा विद्यार्थीदेखि सर्वसाधारणलाई आवत–जावतमा कठिनाइ भएको उनले बताए । 

कर्णाली राजमार्गको विकाससँगै बनेको थियो झोलुङ्गे पुल

व्यापारी शाहीका अनुसार उक्त झोलुङ्गे पुल ६० को दशकको सुरुवातसँगै बनेको हो, जतिबेला कर्णाली राजमार्गको विकास हुँदै थियो ।  कर्णाली राजमार्ग बनेसँगै राजमार्ग क्षेत्रमा स–साना हाटबजारहरूको विकास भयो । अछामको पूर्वी भेगका नागरिकहरू वारी (दैलेख) कर्णाली राजमार्ग आसपासका बजारहरूमा निर्भर भए । त्यही बेला (०६२ सालतिर) उक्त पुल बनेको शाही बताउँछन् ।

पुल बन्नुभन्दा पहिला त्यहाँ डुङ्गा (नाउ) को प्रयोग हुन्थ्यो । पुल बनेसँगै नागरिकहरूलाई सजिलो भएको थियो । पुल अछामतर्फबाट बनेको हो ।  उनका अनुसार यहाँ झोलुङ्गे पुल बन्दै गर्दा पक्की पुलको योजना बनेको थियो । तर अहिलेसम्म पक्की पुल बन्न सकेन । झोलुङ्गे पुल पुरानो र जीर्ण हुँदा संरचना कमजोर बनिरहेको थियो ।

उनका अनुसार पुलका एउटा लट्ठा एक महिना अघि देखिकै चुँडिएको देखिएको थियो । ‘बच्चाहरू वारी–पारी गर्दा पुल हल्लाउने गर्थे, हामीले सम्झाउँथ्यौँ,’उनले भने, ‘धन्न मान्छे भएका बेला केही भएन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप