खच्चड फसेको घटना : कर्णाली राजमार्गको विकाससँगै बनेको थियो झोलुङ्गे पुल
सुर्खेत । आइतबार अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा पुलमा सवार खच्चडहरू अड्किएको घटनाले निकै चर्चा पायो । पुलमा तीन वटा लट्ठा चुँडिँदा दैनिक उपभोग्य सामाग्रीहरू ल्याउन दैलेख खिड्की जीउला बजार आउँदै गरेका १३ वटा खच्चड पुलमा फसेका थिए ।
घटना बिहान नौ बजेतिर नै भए पनि प्रहरीसमक्ष ११ बजेतिर मात्रै खबर पुगेको थियो । त्यसपछि दुवै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागितामा खच्चडहरूलाई करिब पाँच घण्टापछि मात्रै उद्धार गर्न सकियो ।
इलाका प्रहरी कार्यालय राकम कर्णालीबाट घटनास्थलमा खटिएका सहायक हवलदार दीपेन्द्र कठायतका अनुसार १३ मध्ये दुई वटा खच्चडको मृत्यु भयो भने बाँकीको सकुशल उद्धार गरिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडा र पश्चिम दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुलमाथि खच्चडहरू हिँडिरहेका बेला दैलेखतर्फका लट्ठा चुँडिएका थिए ।
निकै पुरानो पुल भए पनि मर्मत सम्भार हुन नसक्दा लट्ठाहरू कमजोर रहेको पुलमा एकै पटक धेरै खच्चड आई लोड पर्दा लट्ठा चुँडिएका हुन् । दैलेखतर्फका तीन वटा लट्ठा चुँडिदा पुल पल्टियो र खच्चडका खुट्टा पुलको जालीमा अड्किएका थिए ।
पुलमा फसेका खच्चडमध्ये १० वटालाई नदीमा खसालिएको थियो भने बाँकी तीन वटालाई बगरमा । एउटा खच्चडको पुलमै तड्पिएर मृत्यु भएको थियो भने एउटाको खसालेपछि मृत्यु भएको प्रहरी सहायक हवलदार कठायतले रातोपाटीलाई जानकारी दिए ।
नदीमा खसालिएका खच्चडलाई डुङ्गाको सहायताले नदी किनारामा ल्याएर राखिएको छ । स्थानीयकाअनुसार खच्चड पञ्चदेवल नगरपालिका–९, घाटगाउँका तीन जना व्यापारीका हुन् । उनीहरू पसलमा सामाग्री सकिएपछि खच्चड लिएर खिड्की जीउला बजारमा सामान लिन आएका थिए । खिड्की जीउला बजार उक्त क्षेत्रको हाट बजारका रूपमा स्थापित छ । अछाम क्षेत्रका अधिकांश नागरिकहरूको मुख्य व्यापारिक केन्द्र पनि यही हो ।
खिड्की जीउला बजारका व्यापारी दीपबहादुर शाहीका अनुसार वारीका विद्यार्थीहरू पढ्न पारी कालेकाँडा (अछाम) जान्छन् भने पारीका नागरिकहरू दैनिक उपभोग्य सामाग्री लिन वारी (दैलेख) आउँछन् ।
पुलका लट्ठा चुँडिदा विद्यार्थीदेखि सर्वसाधारणलाई आवत–जावतमा कठिनाइ भएको उनले बताए ।
कर्णाली राजमार्गको विकाससँगै बनेको थियो झोलुङ्गे पुल
व्यापारी शाहीका अनुसार उक्त झोलुङ्गे पुल ६० को दशकको सुरुवातसँगै बनेको हो, जतिबेला कर्णाली राजमार्गको विकास हुँदै थियो । कर्णाली राजमार्ग बनेसँगै राजमार्ग क्षेत्रमा स–साना हाटबजारहरूको विकास भयो । अछामको पूर्वी भेगका नागरिकहरू वारी (दैलेख) कर्णाली राजमार्ग आसपासका बजारहरूमा निर्भर भए । त्यही बेला (०६२ सालतिर) उक्त पुल बनेको शाही बताउँछन् ।
पुल बन्नुभन्दा पहिला त्यहाँ डुङ्गा (नाउ) को प्रयोग हुन्थ्यो । पुल बनेसँगै नागरिकहरूलाई सजिलो भएको थियो । पुल अछामतर्फबाट बनेको हो । उनका अनुसार यहाँ झोलुङ्गे पुल बन्दै गर्दा पक्की पुलको योजना बनेको थियो । तर अहिलेसम्म पक्की पुल बन्न सकेन । झोलुङ्गे पुल पुरानो र जीर्ण हुँदा संरचना कमजोर बनिरहेको थियो ।
उनका अनुसार पुलका एउटा लट्ठा एक महिना अघि देखिकै चुँडिएको देखिएको थियो । ‘बच्चाहरू वारी–पारी गर्दा पुल हल्लाउने गर्थे, हामीले सम्झाउँथ्यौँ,’उनले भने, ‘धन्न मान्छे भएका बेला केही भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय