बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
छिमेक राजनीति

भारतमा कहिले कहिले बनेको थियो गठबन्धन सरकार ?

आइतबार, २७ जेठ २०८१, १५ : ३२
आइतबार, २७ जेठ २०८१

नयाँ दिल्ली । आइतबार भारतमा नयाँ सरकार गठन हुँदै छ । वारणासीबाट निर्वाचित भारतीय जनता पार्टी (भाजपा) का सांसद नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएसँगै उनले मन्त्रीपरिषद् पनि गठन गर्न लागेका हुन् । नरेन्द्र मोदीको पहिलो दुई कार्यकालमा भाजपाले स्पष्ट बहुमत पाएको थियो । तर यस पटक भने उनीले गठबन्धन सरकार चलाउनुपर्ने भएको छ ।

मोदीले गठबन्धन सरकार चलाउन लागेको यो पहिलो पटक हुनेछ । यसअघि मोदी सन् २००१ देखि २०१३ सम्म गुजरातको मुख्यमन्त्री बनेका थिए । सन् २०१४ देखि २०२४ सम्म उनी प्रधानमन्त्री रहे । दुवै कार्यकालमा भाजपाको बहुमतको सरकार थियो । कुनै पनि दलसँग स्पष्ट बहुमत नभएपछि भारतको संसदीय इतिहासमा १० वर्षपछि फेरि गठबन्धन सरकारको युग फर्किएको छ । भारतमा यस अघि कहिले कहिले बनेको थियो मिलीजुली सरकार ? कति लामो समयसम्म टिकेको थियो त्यस्तो सरकार ?

सन् १९७९ मा बनेको थियो पहिलो गठबन्धन सरकार

सन् १९७७ मा कयौँ दल मिलेर एक दलको चुनाव चिन्हमा चुनाव लडेका थिए । स्पष्ट बहुमतको सरकार बन्यो । यो देशमा पहिलो गैर–कांग्रेस सरकार थियो । विजयपछि मोरारजी देसाई प्रधानमन्त्री बने । मोरारजीको नेतृत्वमा गठबन्धन दुई वर्षसम्म चल्यो । तर वैचारिक मतभेदका कारण जनता पार्टी फुट्यो । सरकारमा गृहमन्त्री रहेका चरण सिंहले पार्टीबाट अलग भएर जनता पार्टी सेक्युलर बनाए । कांग्रेस पार्टीको बाह्य समर्थनमा चरण सिंह प्रधानमन्त्री बने । यो भारतमा गठबन्धन सरकारमा भएको पहिलो प्रयोग थियो । यो प्रयोग मात्र २३ दिन चल्यो । चरण सिंह सरकारले २८ जुलाई १९७९ मा शपथ लिएको थियो । २० अगस्त १९७९ मा नयाँ सरकारका लागि बहुमत सुनिश्चित गर्न संसद् अधिवेशन आह्वान गर्दा कांग्रेसले चरण सिंह सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्याे । त्यसपछि चरण सिंहले राजीनामा दिनुपर्‍यो । नयाँ निर्वाचन नभएसम्म चरण सिंह कार्यवाहक प्रधानमन्त्रीको पदमा रहे । सन् १९८० मा भारतमा पहिलो पटक मध्यावधि चुनाव भयो जसमा इन्दिरा गान्धीको नेतृत्वमा कांग्रेस पुनः सत्तामा आयो ।

बिपी सिंहले सन् १९८९ मा बनाएका थिए गठबन्धन सरकार

सन् १९८० को लोकसभा चुनावको करिब नौ वर्षपछि भारत फेरि गठबन्धन सरकारको युगमा फर्कियो । सन् १९८९ मा लोकसभा चुनाव भयो जसमा राजीव गान्धीको नेतृत्वमा रहेको कांग्रेसले पराजयको सामना गर्नुपर्‍यो । कुनै पनि दल वा चुनावपूर्व भएका गठबन्धनले स्पष्ट बहुमत नपाएको यो पहिलो पटक थियो । चुनावका लागि कांग्रेसका पूर्व नेता विश्वनाथ प्रताप सिंहले राष्ट्रिय मोर्चा नामको नयाँ गठबन्धन बनाए । भी.पी सिंह नेतृत्वको जनता दलले १४३ सिट जित्यो । सिंहलाई भाजपा र वामपन्थीले बाहिरबाट समर्थन गरेका थिए । उही समयमा, डीएमके, एजेपी र टीडीपीजस्ता दलहरू सरकारको हिस्सा भए । यसरी कुल २८० सांसदको समर्थनमा बिपी सिंह प्रधानमन्त्री बने । योसँगै सबैभन्दा ठुलो दल कांग्रेस १९४ सिटसहित विपक्षमा बसेको छ । बिपी सिंहको यो सरकार एक वर्ष पनि टिकेन ।

सन् १९९० त्यस्तो समय थियो जतिबेला अयोध्यामा राम मन्दिरको आन्दोलन चरम सीमामा थियो । यो आन्दोलनका क्रममा बीजेपीका सबैभन्दा ठुला नेता लालकृष्ण आडवाणीले अयोध्यामा राम मन्दिर बनाउन राष्ट्रव्यापी भ्रमण गरेका थिए । यसै क्रममा उनी बिहारको समस्तीपुरबाट पक्राउ परे । यसपछि भाजपाले बिपी सिंह सरकारबाट आफ्नो समर्थन फिर्ता लियो । यो राजनीतिक घटनाक्रमपछि अर्को गठबन्धन सरकार गठनको प्रयास भयो । यही क्रममा राष्ट्रिय मोर्चाको हिस्सा रहेको जनता दल दुई गुटमा विभाजित भयो । कांग्रेस पार्टीको बाहिरी समर्थनमा नोभेम्बर १९९० मा बिपी सिंहको उत्तराधिकारी जनता दलका वरिष्ठ नेता चन्द्रशेखर प्रधानमन्त्री बने । चन्द्रशेखरको सरकार पनि केही महिनामै ढल्यो ।

सन् १९९१ मा ताजा आम चुनाव भयो जसमा कांग्रेस फेरि सबैभन्दा ठुलो दलको रूपमा देखा पर्याे। चुनावी नतिजापछि कांग्रेस नेता पीवी नरसिम्हा राव जनता दलको बाहिरी समर्थनमा प्रधानमन्त्री बने । यस चुनावमा कांग्रेसले २४४ सिट पाएर बहुमतको अङ्कबाट टाढा रह्यो । नरसिंह रावले पाँच वर्ष अल्पमतको सरकार चलाए ।

सन् १९९६ मा अटलले १३ दिन सरकार चलाएका थिए

सन् १९९६ मा लोकसभा चुनाव भएको थियो जसमा भाजपा पहिलो पटक सबैभन्दा ठुलो दल बनेको थियो । भाजपाले १६१ सिट जित्यो भने कांग्रेस १४० सिटका साथ दोस्रो र जनता दल ४६ सिटका साथ तेस्रो स्थानमा रह्यो । धेरै साना दलहरूको समर्थनमा भाजपाका वरिष्ठ नेता अटल बिहारी वाजपेयीले प्रधानमन्त्रीको रूपमा शपथ लिए । तर उनले संसदमा बहुमत हासिल गर्न सकेनन् । उनको सरकार १३ दिन मात्र टिक्यो ।

अटल बिहारी वाजपेयी सरकार ढलेपछि संयुक्त मोर्चा गठन भयो । एचडी देवेगौडाको नेतृत्वमा रहेको संयुक्त मोर्चामा जनता दल र तेलुगु देशम पार्टी (टीडीपी) साथै वामपन्थी र कम्युनिस्ट पार्टीहरू थिए । आपसी विवादका कारण यो गठबन्धन पनि लामो समय टिक्न सकेन र एक वर्षभित्रै देवेगौडाको सरकार ढल्यो । उनको ठाउँमा इन्दरकुमार गुजराल आए, तर उनको सरकार पनि एक वर्षभन्दा बढी टिक्न सकेन ।

सन् १९९८ मा अटलले चलाएका थिए १३ महिना सरकार

सन् १९९८ को लोकसभा चुनावमा भारतमा एक पटक फेरि गठबन्धन सरकार बन्यो । सन् १९९८ को चुनावमा, अटल बिहारीले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) नामको गठबन्धन बनाए जसमा शिवसेना र एआईडीएमके जस्ता दलहरू थिए । यो सरकार १३ महिना चल्यो । त्यसपछि एआईडीएमकेले समर्थन फिर्ता लियो। यसपछि नयाँ चुनाव भयो । यस चुनावमा भाजपाले १८२ सिट जितेको थियो । २९९ सदस्यहरूको समर्थनमा वाजपेयीले तेस्रो पटक प्रधानमन्त्रीको रूपमा शपथ लिए । यस पटक वाजपेयी सरकारले आफ्नो कार्यकाल पूरा गर्याे । यो देशमा आफ्नो कार्यकाल पूरा गर्ने पहिलो गठबन्धन सरकार थियो ।

२००४ देखि २०१४ सम्म युपीए दुई पटक सत्तामा

आफ्नो कार्यकाल पूरा गरेपछि एनडीएलाई सन् २००४ मा झटका लाग्यो । यी चुनावमा सोनिया गान्धीको नेतृत्वमा कांग्रेस सबैभन्दा ठुलो दल बनेको थियो । त्यसपछि मुलुकमा संयुक्त प्रगतिशील गठबन्धन (युपीए) नामको नयाँ गठबन्धन बन्यो । पहिलो यूपीए सरकारमा वित्तमन्त्री रहेका मनमोहन सिंह प्रधानमन्त्री निर्वाचित भएका थिए । मनमोहन सिंहको नेतृत्वमा रहेको यूपीए गठबन्धन २००९ को चुनावमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको थियो । फेरि कांग्रेसले २००९ देखि २०१४ सम्म गठबन्धन सरकार चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप