आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
बजेटमा राजनीति

किन बजेटप्रति कांग्रेस नरम, एमाले गरम ?

एमाले भन्छ– हामीसँग छलफल नै गरिएन
आइतबार, २७ जेठ २०८१, १९ : १६
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि सत्ता घटक दल एमालेले असन्तुष्टि जनाइरहेको छ । गठबन्धन दलको सरकार भए पनि आफूसँग सल्लाह नगरी बजेट आएको र आफूले सम्हालेका मन्त्रालयले पठाएको बजेट कार्यक्रम कटौती भएको एमालेको गुनासो छ ।

सरकारले बजेट प्रस्तुत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा आफ्ना सांसदलाई बजेटमा भएका कमजोरीको खुलेर टिप्पणी गर्न निर्देशनसमेत दिएका थिए । शनिबार काठमाडौँमा पार्टीले गरेको एक कार्यक्रममा ओलीले बजेटमा एमालेका केही सरोकारका विषय सम्बोधन गर्न सरकारलाई बताएको उल्लेख गरेका थिए ।

संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका सांसदहरूले आफ्नो क्षेत्रमा बजेट नपरेको देखि बजेटका शीर्षक र रकममाथि पनि टिप्पणी गरेका छन् ।

बजेटको पूर्वतयारीका बेला हामीसँग छलफल नै गरिएन : प्रमुख सचेतक बर्तौला

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बजेट निर्माणको समयमा एमालेसँग छलफल नभएपछि गुनासो रहनु स्वाभाविक नै भएको बताए ।

उनले भने, ‘हामी सरकारमा भएपछि राजनीतिक रूपमा यसको अपनत्व लिनुपर्ने हाम्रो दायित्व छ । यसका कमजोरी र यसमाथि उठेका प्रश्नहरूको हामीले जिम्मेवारी लिनुपर्छ तर यही बजेटको पूर्वतयारीका विषयमा हामीसँग किन छलफल गरिएन भन्ने गुनासो हामीलाई रहनु स्वाभाविक नै हो ।’

उनले गठबन्धन दलको सरकारले ल्याउने बजेट गठबन्धन दलको जस्तो देखिनपर्ने बताउँदै चुनावका बेला आ–आफ्नै घोषणापत्रमा चुनाव लडे पनि अहिले भने सबैको साझा कार्यक्रम यो बजेटमा देखिनुपर्नेमा त्यस्तो नदेखिएको बताए ।

बर्तौलाले भने, ‘प्रतिपक्षबाट यो बजेटप्रति जुन किसिमको धारणा रहन्छ, त्यसको साझा प्रतिवाद गर्ने, यो बजेट ठिक छ, यो बजेट ठिक ढङ्गले ल्याएको छ, आजका चुनौतीहरूलाई सामाना गर्ने रणनीतिका साथ आएको छ भनेर प्रतिरक्षा गर्नुपर्ने शक्तिहरूले जानकारी नपाउने कुरा राम्रो होइन नि ! मुख्य चासो हाम्रो यसमै हो ।’

बजेटमाथि असन्तुष्टि भए पनि व्यवहारिक रूपमा संसदबाट बजेट पारित गर्ने तर सैद्धान्तिक रुपमा यसमा केही सुझावहरू, केही प्रश्न भने रहेको उनले बताए ।

सत्तापक्षमै रहेकाले बजेटमाथि हामी संशोधन हाल्ने पक्षमा नरहेको र त्यो व्यावहारिक पनि नहुने बर्तौलाको भनाइ छ । सार्वभौम संसदमा आफ्ना कुरा राख्न एमाले सांसदहरूलाई बन्देज नलगाएको र बजेटमाथि स्वतन्त्र रुपमा  टिप्पणी गर्न, सुझावहरू दिन सांसदहरूलाई खुला गरेको उनले बताए ।

बर्तौलाले भने, ‘सांसदहरूलाई तपाईंको अन्तर्दृष्टिले जे कुरा बताउँछ, त्यही अनुसार तपाईंहरूले सुझाव दिनुस् भनेका थियौँ । हामीले दिएका सुझावलाई कसरी समेटिन्छ भन्ने कुरा हो । यो–यो कुरा समावेश गर्नुपर्छ भनेर बुँदागत रुपमा हामीले सार्वजनिक पनि गरेका छैनौँ । सत्ता गठबन्धन दलको साझा बजेट भएन । बजेटको प्राथमिकता के मा हुनुपर्थ्यो भन्ने कुरा बजेटमा देखिएन भन्ने हाम्रो कुरा हो ।’

बजेट निर्माणका क्रममा मन्त्रालयहरूले दिएको सिलिङ अनुसार पनि बजेट कार्यक्रम नआएको भनेर मन्त्रीहरूले गुनासो गरेको बर्तौलाले बताए ।

उनले भने, ‘मन्त्रालयहरूले सिलिङ अनुसार पठाएका कार्यक्रमहरू नै तोडमोड गरेर भित्रभित्रै अर्को विषय समावेश भयो । हामीले पठाएकै आएन भनेर मन्त्रीबाट कुरा आउनु त राम्रो सन्देश होइन ।’

बजेट बनाउने क्रममा मन्त्रालयहरूसँग पनि पर्याप्त समन्वय नभएको उनले बताए । एकल सरकार हुँदाजस्तो बजेट आएको बताउँदै बर्तौलाले सत्तारुढ दलबिच बजेट बनाउनुपूर्व हुनुपर्ने छलफल नभएकोमा एमालेको गुनासो रहेको उल्लेख गरे । गठबन्धन भएपछि एमालेको सरोकार पनि बजेटमा सम्बोधन हुनुपर्नेमा जोड दिए ।

बजेटको विषयले गठबन्धन टुट्दैन

बजेट निर्माणका क्रममा जे जस्तो असमझदारी उत्पन्न भए पनि सत्ता गठबन्धनमा भने त्यसको असर नपर्ने प्रमुख सचेतक बर्तौलाले बताए । एमालेले राखेको सरोकार सरकारले कुनै तरिकाबाट सम्बोधन गरोस् भन्ने चाहनामात्र रहेको उनले बताए ।

उनले भने, ‘सत्ता गठबन्धनमा कुनै समस्या आएको छ कि, कुनै दरार उत्पन्न भएको छ कि ? हुन सक्छ कि भन्ने कोणबाट बुझ्न हुँदैन । संसद सार्वभौम हो, सरकारले बजेट ल्याएको विषयमा संसदमा छलफल हुन सक्छ तर एमाले सरकारमा भएका कारणले गर्दा हामी मतदान गरेर पारित गर्छौं । नैतिक हिसाबले समर्थन गर्छौँ, राजनीतिक हिसाबले सुझावहरू राख्छौँ । यो बजेटप्रति हाम्रो आक्रोश छैन सुझावमात्रै छ ।’

कांग्रेस चिन्ता : भोलि यही बजेटलाई काँध हाल्नुपर्ने हो कि ?

सत्तापक्ष नै बजेटमाथि सन्तुष्ट नभएको बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले बजेटमाथि केही गुनासो गरे पनि खरो रूपमा सरकारको आलोचनामा उत्रिएको छैन । अस्थिर सरकार र बेलाबेला राजनीतिक उथलपुथल भइरहने सत्ता राजनीतिका कारण भोलि यो बजेटलाई आफैँले बोक्नुपर्ने त हैन भन्ने सोचाइमा कांग्रेस देखिएको छ ।

गत जेठ २३ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए, ‘यो बजेटमाथि बोल्ने कसरी भनेर अलमलिएको छु, यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो, त्यसरी बोलौँ यस्तो उथलपुथल भइरहने देशमा छ–आठ महिनापछि आफैँले काँध हाल्नुपर्ने हो कि यो बजेट ।’ उनले अस्तिन ‘यो बजेट मिल्दैन’ भनेको साथीले तीनचार महिना जिम्मा लिनुपर्ने भएको पनि प्रस्ट पारे ।

उनले अर्थमन्त्रीले ६ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण कुन आधारमा गरेको भन्दै प्रश्न सोधेका थिए । आइतबारदेखि बजेटमाथि मन्त्रालयगत रुपमा छलफल गर्ने भनिए पनि तयारी नपुगेको भन्दै जेठ २९ गतेका लागि प्रतिनिधि सभाको बैठक सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप