राहुल गान्धीको वैचारिक जित
विश्वले निकै चासोका साथ हेरेको भारतको लोकसभा निर्वाचनको परिणामले विभिन्न कोणबाट बहस सिर्जना गरेको छ । ‘अब की बार ४०० पार’को नारा दिएको भारतीय जनता पार्टी (बीजेपी) २४० सिटमा खुम्चिनुपरेको छ । बीजेपीले नेतृत्व गरेको एनडीए गठबन्धनले नै ३०० सिट पार गर्न सकेन ।
भारतीय राष्ट्रिय कंग्रेसले पनि प्रचार गरेजस्तो बहुमत पुग्ने सिट ल्याउन सकेन । कंग्रेस नेतृत्वको ‘इन्डिया’ गठबन्धनले बीजेपीको बहुमत रोक्न सके पनि ‘एनडीए’को बहुमत रोक्न सकेन । इन्डिया गठबन्धन २३४ सिटमा सीमित रह्यो । यसपटकको निर्वाचनमा भारतीय मतदाताले कसैलाई बहुमत दिएनन् ।
योपटक जनताले प्रधानमन्त्री मोदीको विपक्षमा जनमत प्रकट गरेको देखिन्छ । सन् २०१९ भारी एकल बहुमत लिएर शक्तिशाली प्रधानमन्त्री बनेका मोदी यसपालि अल्पमतका प्रधानमन्त्री बन्नुपरेको छ । बीजेपीले निकै प्रचार गरेको ‘मोदी का ग्यारेन्टी’लाई जनताले पत्याएनन् । अथवा, मोदीको नीति असफल भएको देखिन्छ ।
बीजेपीले आफ्नो पार्टी, विचार सिद्धान्त र कार्यक्रमभन्दा पनि प्रधानमन्त्री मोदीका नाममा चुनाव लडेको थियो । बीजेपीको सङ्कल्प पत्रमा समेत मोदीको तस्बिर राखेर ‘मोदी का ग्यारेन्टी’ नाममा प्रचार गरिएको थियो ।
एनडीएसँग रहेका १४ दल निर्वाचनका लागि बीजेपीसँग भए पनि राजनीतिक वैचारिक रूपमा फरक मत राख्छन् । खासगरी सत्ता समीकरणका लागि निर्णायक बनेका ‘तेलुगु देशम पार्टी’ (टीडीपी) तथा जनता दल (युनाइटेड) पनि गएका १० वर्षमा बीजेपी र मोदी सरकारको कट्टर आलोचक थिए । अहिले वैचारिक रूपमा यी दुवैले बीजेपीको धर्म राजनीतिसँग असहमत राख्छन् । यसरी हेर्ने हो भने मोदीको विपक्षमा लगभग ६५ प्रतिशत जनमत देखिएको छ र मोदी धर्म सिद्धान्त अल्पमत परेको छ ।
राजनीतिक वैचारिक रूपमा प्रधानमन्त्री मोदीभन्दा राहलु गान्धी वा प्रतिपक्ष सफल देखिएका छन् । विगत १० वर्षदेखि राहुल गान्धीले हिन्दु–मुस्लिम धार्मिक राजनीति, भारत–पाकिस्तान राजनीति र सरकारले लिएका नीतिका विरुद्धमा आफ्नो सङ्घर्ष गरिरहे । ‘भारत जोडो न्याय यात्रा’सम्म आइपुग्दा राहुल गान्धी वैचारिक रूपमा अब्बल देखिन पुगे । उनले मोदी सरकारले लिएका नोट बन्दीदेखि जम्मु–कास्मिरमा संविधानको धारा ३७० हटाउने कार्यको विपक्षमा बोलिरहे । मणिपुर दंगादेखि सरकारले ल्याएको अग्निवीर योजनासम्मको खुलेर विरोधमा उत्रिए ।
युवा रोजगारी, सामाजिक न्याय तथा धार्मिक भेदभावलाई लिएर राहुलले संसद्देखि सडकसम्म आवाज उठाए । कमजोर प्रतिपक्षका रूपमा रहेको कंग्रेसको आवाजलाई सत्ता पक्षले रोके पनि राहुलले सडकबाट अनवरत उठाइरहे । र, भारतीय जनतालाई सुसूचित गराइरहे । उनले गएका १० वर्षमा १० हजार किलोमिटरभन्दा बढी भारतको यात्रा गरे । फरक–फरक समुदाय, पेसा व्यवसाय तथा भूगोलमा गएर आफ्नो विचार प्रवाह गर्न सफल भए ।
मोदी लगातार भारतको तेस्रोपटक प्रधानमन्त्री बने पनि पहिलेजस्तो एकल शक्तिशाली प्रधानमन्त्री बन्नेछैनन् । उनले सत्ता र सदनमा आफूसँग रहेका दलहरूलाई पनि भागबन्डा दिनुपर्नेछ । सधैँ गठबन्धनका दलहरूको डर र मोलमोलाइको सामना गर्नुपर्ने देखिन्छ ।
आफू सांसद्बाट निलम्बन हुँदा होस् या निर्वाचनको समयमा आफ्नो पार्टीको खाता बन्द हुँदा होस्, उनी कहिल्यै पनि निरास भएनन्; जनताको पक्षमा आवाज उठाउन छाडेनन्, आफ्नो विचार वा मत राख्न छाडेनन् । एकै दिन लोकसभा र राज्यसभाबाट प्रतिपक्षका ७८ सांसद निलम्बन भएपछि राहुल गान्धीले सडक चुने र उनले सबै प्रतिपक्षसँग सहकार्य अघि बढाए ।
राहुल गान्धीले भारत जोडो यात्रा र न्याय यात्रापछि चुनाव लक्षित सङ्कल्प पत्र जारी गरे । वर्तमान भारतलाई अझ विकसित र उन्नत बनाउन सशक्त प्रतिबद्धतासहित गठबन्धनको साझा कार्यक्रम ल्याए । युवालाई सरकारी नोकरी, अग्निवीर खारेजी, महिलाका लागि महालक्ष्मी आयोजना तथा किसानलाई राहत लगायत कार्यक्रम लागु गर्ने प्रतिबद्धता जनता सामु गरिरहे । अनि जनताले २०२४ मा राहुल नेतृत्वको गठबन्धनलाई विश्वास गरे ।
बीजेपीको हिन्दु कार्ड
प्रधानमन्त्री मोदी असफल हुुनुका पछाडि धेरै कारण तथा कार्य छन् । बीजेपी किन सन् २०१९ को निर्वाचनमा दाँजोमा २०२४ मा कमजोर साबित हुनुको पछाडि मुख्यतः प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको नीति तथा विचार नै प्रमुख कारण बनेको छ । हिन्दु धर्मको जगमा टिकेको बीजेपीले गएका १० वर्षमा भारत वा भारतीयले सम्झन लायक कुनै पनि काम गर्न सकेन । सत्तामा आउनुअघि र सत्तामा आएपछि राम मन्दिरको विषय मूल बनाएर राजनीति गरेको बीजेपी राम मन्दिर बनेपछि एजेन्डाहीन बन्यो ।
राम मन्दिरको निर्माणपछि सन् २०२४ को लोकसभाको निर्वाचनलाई लक्षित गरी शंकराचार्य र धार्मिक गुरुको सल्लाहविपरीत मोदीले प्राण प्रतिष्ठा गरे । मोदी नियन्त्रणमा रहेका भारतीय सञ्चार–माध्यमले निकै प्राथमिकता दिए पनि जनताले उक्त कार्यलाई मन पराएनन् । परिणामस्वरूप राम मन्दिर रहेको फैजाबाद (अयोध्या) बाट बीजेपी उम्मेदवार लल्लु सिंहले पराजय बेहोर्नुप¥यो, जहाँ समाजवादी पार्टीका अवधेश प्रसादले जितेका छन्, अवधेश दलित समुदायका हुन् । यसबाट पुष्टि हुन्छ कि बीजेपीको धर्म कार्डलाई जनताले अस्वीकार गरेको पाइन्छ ।
भारतमा धर्म राजनीति बढी हुने ठुलो प्रदेश उत्तर प्रदेशमा यसपालिको लोकसभा निर्वाचनमा बीजेपीले नमिठो हार भोग्नुपरेको छ । यहाँ बीजेपीले सन् २०१९ को निर्वाचनमा ६२ सिट जितेको थियो, यसपालि केवल ३३ सिटमा खुम्चिनुपरेको छ २०१९ मा पाँच सिटमा सीमित समाजवादी पार्टी २०२४ सम्म आईपुग्दा ३७ सिट जितेको छ । यसले प्रस्ट हुन्छ कि राम मन्दिर रहेको उत्तर प्रदेशमा बीजेपीको धार्मिक राजनीति सकिएको छ ।
यूपीमा गलत सरकारी नीति
उत्तर प्रदेश (यूपी) मा बीजेपीको भारी बहुमतका साथ प्रदेश सरकार रहेको छ । मोदीपछि निकै महत्त्व पाएका योगी आदित्यनाथ यसै प्रदेशका मुख्यमन्त्री हुन् । काशी, वाराणसी, बनारस, अयोध्याजस्ता ऐतिहासिक स्थानमा विकास गर्ने नाममा सयौँका घर भत्काइयो । कैयौँ बासिन्दा घरविहीन भए । नौ सय करोडभन्दा बढी खर्च गरेर निर्माण गरिएको काशी विश्वनाथ करिडोर निर्माण गर्दा वर्षौं पुराना पुरातात्त्विक तथा धार्मिक मठ–मन्दिर भत्काइए । जस कारण सनातनी धर्म समुदाय रिसाए । र, बीजेपी जनमत रहेको हिन्दु धार्मिक समुदायले आफ्नो विपक्षमा जाहेर गर्न पुगे ।
व्यक्तिवादी चिन्तन
प्रधानमन्त्री मोदी सत्तामा आएपछि पार्टीलाई भन्दा पनि व्यक्तिलाई बढी महत्त्व दिन थालियो । मोदी नै पार्टी र सरकार भन्ने मान्यता स्थापित गरियो । मोदीकेन्द्रित भएपछि बीजेपीभित्रको संरचना निष्क्रिय बन्यो । पार्टी पनि मोदीको व्यक्तिगत विचारमा चल्न थाल्यो ।
मोदी सरकारमा रहेका मन्त्री छायामा परे । अथवा, पार्टी र सरकार एक व्यक्तिको छायामा रहन पुग्यो । यही समयमा पार्टीका पुराना नेताले पार्टी परित्याग गरे । र, मोदीले निर्वाचन लक्षित गरी अरु पार्टीका नेतालाई पार्टीमा ल्याएर टिकट दिने कार्य बढी गरे । जसले बीजेपीका कार्यकर्तामाथि उत्साह थपिएन ।
हुँदाहुँदा मोदीलाई भगवान्को अवतार भन्न थालियो । अझ राम मन्दिरको प्राण–प्रतिष्ठा गर्दा मोदीले भगवान् रामलाई डो¥याउँदै गरेको तस्बिर अयोध्याका भित्ताभित्तामा टाँसियो । गरिबलाई दिने राहतमा, कोरोना कार्ड लगायतमा मोदीको फोटो राखियो ।
विवादास्पद अभिव्यक्ति
प्रधानमन्त्री तथा बीजेपी नेताहरूले प्रतिपक्ष तथा मुस्लिम समुदाय लक्षित झुटा र स्तरहीन अभिव्यक्ति बारम्बार प्रचार गर्दै आए । आईटी सेललाई प्रयोग गरेर जनतामा भ्रम छर्न भिडियो तथा प्रचार सामग्री उत्पादन गरी प्रचार गरियो । प्रधानमन्त्री मोदी आफैँले मुस्लिम समुदायलाई घुसपैठिया, बढी सन्तान जन्माउने, कोरोना फैलाउने लगायत आरोप लगाए ।
प्रतिपक्षी नेता राहुल गान्धीलाई पप्पु, शाहज्यादा, राजकुमार तथा सुनको चम्चाले खाना खानेजस्ता शब्द प्रयोग गरिरहे । त्यति मात्र होइन, नेहरु–गान्धीका विरुद्ध पनि विवादास्पद अभिव्यक्ति दिए । त्यसविरुद्ध पार्टी नै परिचालन गरियो । चुनावताका त कांग्रेस सरकार बनेमा महिलाको मंगलसूत्र छिन्ने, दुई भैँसी भए एक सरकारले लिने, सबैका घरमा एक्स–रे गर्ने जस्ता सस्ता र झुटा अभिव्यक्ति दिन पुगे ।
आफूलाई चार सय सिट दिए संविधान परिवर्तन गर्ने कुरालाई बढी प्रचार गरियो । यसलाई भारतीय जनताले संविधान तथा लोकतन्त्रमाथिको षड्यन्त्रका रूपमा बुझे । प्रधानमन्त्रीले अयोध्या पुगेर राम भगवान्लाई आफूले ल्याएको भन्ने दाबी समेत गरे । यसरी स्तरहीन अभिव्यक्तिले प्रधानमन्त्री छवि धमिलो बन्न पुग्यो र बीजेपीमाथिको विश्वास पनि घट्यो ।
सत्ताको दुरुपयोग
प्रधानमन्त्री मोदीले सन् २०१४ आफूलाई शक्तिशाली देखाउन राज्य शक्तिको प्रयोग बढी गरे । सरकारी संयन्त्र प्रयोग गरी विपक्षीलाई विभिन्न बहानामा जेल हाल्ने, घरमा छापा मार्ने र मानसिक दबाब दिने कार्य लगातार गरिरहे । निर्वाचन आयोग, नीति आयोगलगायत स्वतन्त्र संरचनालाई पनि प्रभावित बनाए ।
विपक्षी पार्टीहरूलाई फुटाउने, प्रदेश सरकार ढाल्ने र विपक्षी सांसद किनेर आफ्नो पार्टीमा सामेल गराउने जस्ता राजनीतिक वितृष्णा जन्माउने कार्य गरियो । सबैतिर सत्ताको दुरुपयोग भएपछि सरकारी कर्मचारी, व्यापारी, सञ्चार–माध्यम, राजनीतिक कार्यकर्ता तथा नागरिक समाज बोल्न डराउने अवस्था बन्यो ।
२०२४ सम्म आइपुग्दा बीजेपीमा सामेल भएपछि मात्र सुरक्षित भइन्छ, नत्र जुनसुकै बेला जे पनि हुन्छ भन्ने जनधारणा बनेको देखियो । जसले बीजेपीलाई भोट हाल्दा सोच्न बाध्य बनायो ।
बीजेपीले बहुमत ल्याउन नसक्नुमा अरु कैयौँ कारण छन् । ती कारणलाई भारतीय जनताले नजिकबाट नियालिरहेका थिए र आफ्नो अभिमत २०२४ निर्वाचनमा प्रकट गरे ।
मोदी लगातार भारतको तेस्रोपटक प्रधानमन्त्री बने पनि पहिलेजस्तो एकल शक्तिशाली प्रधानमन्त्री बन्ने छैनन् । उनले सत्ता र सदनमा आफूसँग रहेका दलहरूलाई पनि भागबन्डा दिनुपर्नेछ । त्यति मात्रै होइन, उनले सधैँ गठबन्धनका दलहरूको डर र मोलमोलाइको सामना गर्नुपर्ने देखिन्छ । सरकार चलाउँदा अरु दलहरूको सल्लाहमा चलाउनुपर्नेछ । गठबन्धनका दलहरूले मोदी सरकारबाट विश्वासको मत झिकेमा जुनसुकै बेला सरकार ढल्ने अवस्था पाँच वर्षसम्म रहनेछ ।
अर्को कुरा, संसद्भित्र पहिलेको जस्तो कमजोर होइन कि मजबुत प्रतिपक्ष हुनेछ । संसद्मा हिजोको जस्तो बोल्नेबित्तिकै निलम्बन गर्ने र एक्लै पेलेर जाने अवस्था छैन । संसद्मा प्रतिपक्षको जबर्जस्त र प्रभावकारी भूमिका रहनेछ । र, प्रतिपक्षी आवाज सधैँ बलियो रूपमा रहिरहनेछ । फेरि विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा लोकतान्त्रिक संस्कृतिको विकास हुनेछ ।
सन् २०२४ को निर्वाचन परिणामलाई राजनीतिक वैचारिक आधारलाई मात्र हेर्ने हो भने जनताले राहुल गान्धी विचारलाई समर्थन गरेका छन् । अङ्क गणितीय हिसाबमा मोदीले जितेको देखिए पनि वैचारिक रूपमा राहुल गान्धीले जितेका छन् । ‘मोदी का ग्यारेन्टी’भन्दा राहुलको ग्यारेन्टीप्रति भारतीय जनताले आफ्नो जनमत प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली र प्रचण्ड महाराजजस्ता भए : हरि रोका
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी