बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकपमा आज

अस्तित्व रक्षाका लागि स्कटल्यान्डविरुद्ध ओर्लंदै एसियाली राष्ट्र ओमान

आइतबार, २७ जेठ २०८१, १४ : ३०
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा आइतबार दुई फरक भूगोलका टोलीबिच भिडन्त हुँदैछ । आइतबार रातिको उक्त खेलमा एसियाली राष्ट्र ओमानले युरोपेली प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ ।

खेल क्यारेबियन राष्ट्र एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा राति २२ः४५ बजे सुरु हुनेछ । ओमान र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । त्यो समूहमा अस्ट्रेलिया, इङ्ल्यान्ड र नामिबिया पनि रहेका छन् ।

समूह ‘बी’ मा हालसम्म पाँचवटा खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो । इङ्ल्यान्ड र स्कटल्यान्डबिचको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

तेस्रो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको थियो । समूहको चौथो खेलमा स्कटल्यान्डले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो । पाँचौँ खेलमा भने अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको थियो ।

यो समूहमा रहेका पाँचवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । अस्ट्रेलिया चार अंकसहित पहिलो र स्कटल्यान्ड तीन अंकसहित दोस्रो स्थानमा आसिन छन् । दुई अंकसहित नामिबिया तेस्रो र एक अंकसहित इङ्ल्यान्ड चौथो स्थानमा छन् । ओमानले भने खाता खोल्न सकेको छैन ।

एसियाली राष्ट्र ओमानसँग साविक विजेता इङ्ल्यान्ड पनि समूहगत चरणबाटै बाहिरिने जोखिममा छन् । आइतबारको खेलमा स्कटल्यान्डसँग पराजित भए ओमान उपाधि यात्राबाट बाहिरिने निश्चित हुनेछ । इङ्ल्यान्डको भने झिनौ आशा अझै बाँकी छ ।

टी–२० विश्वकपमा स्कटल्यान्डको यो छैटौँ सहभागिता हो । स्कटल्यान्डले सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै सहभागिता जनाएको थियो । टी–२० विश्वकपमा स्कटल्यान्डको उत्कृष्ट प्रदर्शन सुपर–१२ चरण हो । स्कटल्यान्ड सन् २०२१ को टी–२० विश्वकपमा सुपर–१२ चरणमा पुगेको थियो ।

ओमानको भने टी–२० विश्वकपमा यो तेस्रो सहभागिता हो । ओमानले सन् २०१६ को टी–२० विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो । तर, ओमान टी–२० विश्वकपमा पहिलो चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

टी–२० विश्वकपमा स्कटल्यान्डले हालसम्म कुल २० खेल खेलेको छ । त्यसमध्ये स्कटल्यान्ड ६ खेलमा विजयी र १२ खेलमा पराजित भएको छ । स्कटल्यान्डको दुई खेल भने अनिर्णित रुपमा सकिएको छ । अर्कोतिर, ओमानले टी–२० विश्वकपमा हालसम्म कुल सात खेल खेलेको छ ।

त्यसमध्ये ओमान दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । ओमानको एक खेल बराबरीमा र एक खेल अनिर्णित रुपमा सकिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा स्कटल्यान्ड १४ औँ र ओमान १९ औँ स्थानमा छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म स्कटल्यान्ड र ओमानबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये चारवटै खेलमा स्कटल्यान्डले ओमानलाई हराएको छ । यी दुबै टोलीबिच पछिल्लो खेल सन् २०२१ मा खेलिएको थियो । त्यो खेलमा स्कटल्यान्ड आठ विकेटले विजयी भएको थियो ।

जारी टी–२० विश्वकपमा दुबै खेल हारे पनि ओमानका ब्याट्सम्यान आयान खान लयमा छन् । उनले दुई खेलमा ५१ रन बनाएका छन् । यो विश्वकपमा ओमानका मेहरान खानले दुई खेल खेल्दै पाँच विकेट लिइसकेका छन् ।

यसैगरी यो विश्वकपमा स्कटल्यान्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान माइकल जोन्स हुन् । उनले हालसम्म दुई खेल खेल्दै कुल ७१ रन बनाएका छन् । स्कटल्यान्डका कप्तान रिची बेरिङ्टन पनि लयमा छन् ।

नामिबियाविरुद्धको खेलमा उनले नै टोलीलाई जित दिलाएका थिए । त्यो खेलमा उनले ४७ रन बनाएका थिए । यो विश्वकपमा स्कटल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर भने बेन ह्विल हुन् । उनले तीन विकेट लिएका छन् ।

स्कटल्यान्ड र ओमानबिच खेल हुने सर भिभियन रिचर्डस स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । खेल अगाडि बढ्दै जाँदा यो पिचमा स्पिन बलरको प्रदर्शन पनि प्रभावकारी देखिन्छ । पहिले ब्याटिङ गर्ने टोलीले यो पिचमा एक सय ४५ देखि एक सय ५० रनसम्म बनाउने गरेको देखिन्छ ।

ओमान र स्कटल्यान्डबिच खेल हुने दिन आइतबार एन्टिगुआमा वर्षाको सम्भावना रहेको छ । आइतबार एन्टिगुआमा २५ प्रतिशत वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले वर्षाका कारण खेल बिथोलिने सम्भावना देखिन्छ ।

ओमानको सम्भावित टोलीमा अकिब इलियास (कप्तान), कश्यप प्रजापती, प्रतिक अठावले (विकेटकिपर), जिशन मकसुद, खालिद कैल, आयान खान, सोएब खान, मेहरान खान, शकिल अहमद, कलिमुल्लाह र बिलाल खान रहेका छन् ।

स्कटल्यान्डको सम्भाविता टोलीमा रिची बेरिङ्टन (कप्तान), जर्ज मुन्से, माइकल जोन्स, ब्रेन्डन म्याकमुलन, म्याथ्यू क्रस (विकेटकिपर), माइकल लिस्क, मार्क वाट, क्रिस ग्रिब्स, क्रिस्टोफर सोल, ब्रेड विल र ब्राडली करी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप