गण्डकीका मुख्यमन्त्री पाण्डेलाई बहुमत जुटाउन कति सहज ?
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनको पत्रका आधारमा सभामुखले सोमबार ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिसकेका छन् ।
मुख्यमन्त्री पाण्डेले दलहरूसँग समन्वय गरेरै बजेटअघि संसद् ‘फेस’ गर्न लागेका हुन् । तर संसद् बैठक डाकिएपछि राजनीति केही फरक भएको छ ।
सङ्घमा बनेको अहिलेको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको राप्रपाले अहिलेका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिने टुङ्गो लागेको छैन । ‘म काठमाडौँमै छु । सोमबारको बैठकमा के गर्ने भन्ने निर्णय भइसकेको छैन,’ राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले भने, ‘मत दिने वा नदिने निर्णय गर्ने सर्वाधिकार अध्यक्षज्यूलाई छ । उहाँले कुनै सङ्केत गर्नुभएको छैन ।’
यसअघि राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन सकिने बताएका थिए । गण्डकी प्रदेश सभामा राप्रपाका २ सांसद छन् । राप्रपाले समर्थन नगरे विश्वासको मतको ‘च्याप्टर क्लोज’ हुन्छ ।
२७ सिटसहित पहिलो पार्टी नेपाली कांग्रेसका दलका नेता पाण्डेलाई सर्वोच्च अदालतको परमादेश अनुसार धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो ।
राप्रपाले समर्थन गरे पनि उनीसँग २९ सांसदको समर्थनमात्रै हुन्छ । त्यसो त स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटालाई पनि फकाउने काम भइरहेको छ । उनीहरूले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिने टुङ्गो छैन ।
मनाङे यतिबेला काठमाडौँमै छन् । ‘अवस्था हेरेर निर्णय गर्छु,’ मनाङेले भने । सबैभन्दा बढी फ्लोर क्रसको शङ्का गरिएका देवकोटा यतिबेला एमाले–माओवादी गठबन्धनसँग संवाद बढाइरहेका छन् । उपधारा (३) मा माओवादी दलको ह्वीप उनलाई लाग्छ । त्यसैले फ्लोर क्रस गर्ने सम्भावना भए पनि सजिलो भने छैन ।
माओवादी प्रमुख सचेतक कुसुम बुढा भने प्रदेश सभा सदस्य देवकोटाले फ्लोर क्रस गर्ने सम्भावना नै नरहेको बताउँछिन् । ‘उहाँ माओवादीको सांसद हो । पार्टीको ह्वीप उहाँले मान्नुहुन्छ,’ उनले भनिन्, ‘फ्लोर क्रस गर्ने सम्भावना छैन ।’
ह्वीप उल्लङ्घन गरे पार्टीले कारबाही गर्ने माओवादीको चेतावनी छ । यद्यपि देवकोटालाई माओवादीले मात्रै कारबाही गरेर कारबाही हुने वा नहुने ब्याख्या सर्वोच्चले गर्नुपर्छ । देवकोटाचाहिँ अहिले आफ्नो कुनै प्रतिक्रिया नरहेको बताउँछन् । उनले पार्टीको केन्द्रीय निर्देशन अनुसार अघि बढ्ने र हालसम्म कुनै निर्णय नआएको बताए ।
सभामुखले राजीनामा दिँदैछन् ?
मुख्यमन्त्रीले विश्वासको मतको लागि बैठक डाक्न पत्र पठाएपछि यतिबेला विपक्षी दलहरूमा संशय छ । २७ सिटमात्रै साथमा रहेका पाण्डेले खास के देखेर संसदमा विश्वासको मतको प्रस्ताव टेबल गर्दैछन् भन्नेबारे केन्द्रको सत्ता गठबन्धनले विश्लेषण गरिरहेको छ ।
देवकोटाले फ्लोर क्रस गर्न सक्ने सङ्केत उनीहरूले पनि देखेका छन् । यद्यपि उपधारा (३) मा फ्लोर क्रस गर्न नमिल्ने एमाले–माओवादीको दाबी छ । एमाले सचेतक देवका पहारी पाण्डेले मुख्यमन्त्रीलाई बहुमत पुग्ने आधार नभएको बताइन् ।
‘सूचना पाएका छौँ । उपस्थित हुन्छौँ । विश्वासको मत पाउने सम्भावना छैन,’ उनले भनिन्, ‘त्यसपछि फेरि संवैधानिक प्रक्रिया अनुसार सरकार बन्छ । हामी त्यसको तयारीमा छौँ ।’
यदि पाण्डेले विश्वासको मत पाउने पक्का भए विपक्षी गठबन्धनले संसद् बहिष्कार गर्नेसम्मको आन्तरिक तयारी भइरहेको छ । सभामुख र उपसभामुखले राजीनामा दिएर एमाले र माओवादी दुवै पार्टी संसदमा उपस्थित नहुने अन्तिम विकल्पका रूपमा छलफल चलिरहेको स्रोत बताउँछ । यसका लागि विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रीय नेताहरूको ध्यानाकर्षण गराइरहेका छन् ।
उनले सभामुखको राजीनामाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि आग्रह गरेको बुझिएको छ । यद्यपि सभामुख राजीनामा दिने निष्कर्षमा पुगेका छैनन् । सभामुख कृष्ण धितालले राजीनामाको कुरा नचलेको दाबी गरे ।
‘दबाब ठुलो छ तर राजीनामा दिने कुरामा कन्भिन्स हुनुभएको छैन,’ उनी निकट स्रोतले भन्यो ।
माओवादीकी प्रमुख सचेतक बुढा पनि राजीनामाबारे दलमा छलफल नभएको बताउँछिन् । ‘हामी उपस्थित नहुने कुरा छैन । सभामुखको राजीनामा दिने कुरा भएको छैन । दलमा छलफल भएको छैन,’ उनले भनिन्, ‘राजीनामाले मात्रै निकास निस्किँदा पनि निस्किँदैन । यो सही प्रक्रिया पनि होइन ।’
जारी राजनीतिक घटनाक्रम र सोमबार मुख्यमन्त्रीले लिने विश्वासको मतबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक केहीबेरमा बस्दैछ । एमालेले पनि सोमबार बिहान बैठक राख्ने तयारी गरेको छ ।
पाण्डेले विश्वासको मत नपाए गण्डकीमा उपधारा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बन्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने दाउमा छन् । पाण्डेले उपधारा (३) को सरकार ढले पनि (५) मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना बनाएका छन् ।
दलका सांसदहरूलाई यो उपधारा अनुसार दलको ह्वीप लाग्दैन । त्यसैले आफ्नो पक्षमा बहुमत पुग्ने सत्तापक्षको दाबी छ । विपक्षीहरू पनि उपधारा (५) मै आफूले मुख्यमन्त्री दाबी गर्ने र प्रदेश प्रमुख अनुकूल भएका कारण मुख्यमन्त्री नियुक्त हुने योजनामा छन् । दुवै पक्ष उपधारा (५) अनुसार विश्वासको मत नपाए पनि कम्तीमा चुनावी सरकारको नेतृत्व गर्ने दाउमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन