बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी- बाबर आजम (पाकिस्तान)

आइतबार, २७ जेठ २०८१, १४ : १५
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । बाबर आजम नवौँ विश्वकपमा सहभागी पाकिस्तानी टोलीका कप्तान हुन् । उनी टोलीका अनुभवी ब्याट्सम्यान पनि हुन् । उनको आक्रामक ब्याटिङका कारण थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानी टोलीले सफलताको स्वाद पनि चाखेको छ ।

२९ वर्षीय यी दायाँहाते ब्याट्सम्यानले पाकिस्तानका लागि १३ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् । उनले देशका लागि ५२ टेस्टको ९४ पालीमा ५४.८६ को स्ट्राइक रेटमा कुल तीन हजार आठ सय ९८ रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले नौ शतक र २६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा यी प्रभावशाली ब्याट्सम्यानको उच्च स्कोर भने एक सय ९६ रन हो । उनले टेस्ट क्रिकेटमा ४१ वटा क्याच पनि लिएका छन् ।

यसैगरी बाबर आजमले पाकिस्तानी टोलीका लागि एक सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एक सय १४ पालीमा कुल पाँच हजार सात सय २९ रन बनाएका छन् । क्रिकेटको यो ढाँचामा उनको उच्च स्कोर एक सय ५८ रन हो ।

बाबर आजमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १९ शतक र ३२ वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले ५० वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले एक सय २० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एक सय १३ पालीमा कुल चार हजार ६७ रन बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय २२ रन हो । यो ढाँचाको क्रिकेटमा उनले तीन शतक र ३६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ४९ वटा क्याच पनि लिएका छन् ।

जारी विश्वकपमा पनि यसअघि खेलिएको अमेरिकाविरुद्धको खेलमा उनले नै टोलीका लागि सर्वाधिक ४४ रन बनाएका थिए । यद्यपि, उक्त खेलमा पाकिस्तानी टोली आयोजक राष्ट्र अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो ।

बाबर आजमलाई टी–२० विश्वकप सुरु हुनुअघि फेरि पाकिस्तानी टोलीको कप्तान बनाइएको हो । पाकिस्तानले सन् २०२३ मा सम्पन्न एकदिवसीय विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि उनलाई कप्तानको जिम्मेवारीबाट हटाइएको थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने भारतविरुद्ध उनको प्रदर्शन खासै गतिलो देखिँदैन । उनले भारतविरुद्ध हालसम्म चारवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यसमा उनले ३०.६६ को औसतले कुल ९२ रनमात्र बनाउन सकेका छन् । उनको स्ट्राइकर रेट भने १२७.७७ रहेको छ ।

सन् २०२१ को अक्टोबरमा खेलिएको भारतविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा अविजित ६८ रन बनाएका थिए । त्यसपछि खेलिएको भारतविरुद्धको दुई खेलमा भने उनी क्रमशः १० र १४ रनमा आउट भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप