आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

फर्केर हेर्दा : परिवर्तनको पक्षमा रातोपाटी

आइतबार, २७ जेठ २०८१, ०० : ०१
आइतबार, २७ जेठ २०८१

अनलाईन पत्रिकाको लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । ईन्टरनेटमा सहज पहुँच भएका र खासगरि शहरका पाठकहरुमाझ यसको प्रभाव बढेको छ । साथै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालले ईन्टरनेट खबर पत्रिका र ब्लगको पहुँच विस्तार गर्न सघाउ पुर्‍याएका छन् ।

मुलधारका भनिने नेपाली पत्रिकाहरु पनि आफ्ना वेबसाईटमार्फत विश्वभरि छरिएर रहेका नेपालीहरुमाझ सहजै पुगेका छन् । सजिलो प्रविधिको प्रयोगले पत्रिकाहरुले धेरै भन्दा धेरै पाठकहरुमा आफ्नो पहुँच पुर्‍याउनु सुखद कुरा हो । तर यस्तो ह्वात्तै बढेको लोकप्रियता र पहुँचले सुखद परिणाम मात्र ल्याएको छैन । बरु ठूला विभ्रमहरु पनि खडा गरेको छ । परिवर्तनको दिशा पक्रिन खोजिरहेको नेपाली समाजलाई उल्टो दिशा हिँडाउने कुटिल प्रयत्नहरु पनि बढ्दै गएका छन् । त्यसैले हस्तक्षेप जरुरी ठानिएको हो ।

दश वर्षको जनयुद्ध र जनआन्दोलन हुँदै गणतन्त्र सम्म आइपुगेको मुलुकमा निमुखाले हक मागिरहेछन्, उपेक्षितहरु अधिकारको कुरा गरिरहेका छन्, सीमान्तकृतहरु सबल बन्दै गएका छन् । समाज परिवर्तनको प्रक्रियालाई यीनैले बलियो बनाउँदै लगेका छन् । यसबेला परिवर्तन विरोधी र यथास्थितिवादीहरु तिल्मिलाउनु स्वभाविक हो । कुलीनहरुले आफू उभिएको जमिन भासिँदै गएको महसुस गर्नु पनि अवश्यम्भावी नै हो ।

मूलधारका भनिने केही सञ्चारमाध्यम र अनलाइन पोर्टलहरु उनीहरुका छटपटी र कुण्ठा व्यक्त गर्ने फोरम बनेका छन् । आफू अनुकूल समाचार कथ्नु, कल्पनाको बाक्लो लेप लागेका विश्लेषण र अन्तरवार्ताहरु छापेर अहिले उठेका सङ्घीयता र पहिचान जस्ता मुद्दाप्रति तीक्तता पोख्नु उनीहरुको दिनचर्या बनेको छ । हो, विद्वान नोम चोम्सकीले भने जस्तै उनीहरु ‘कन्सेन्ट म्यानुफ्याक्चर’ गर्न खोजिरहेछन् । यी दुष्प्रयत्नका विरुद्धमा कसैले खबरदारी गर्नु नै पर्थ्यो । पछिल्लो समय खुलेका बग्रेल्ती अनलाइन पत्रिका र ब्लग शैलीका वेबसाईटहरुले समाजलाई यसरी दिग्भ्रमित बनाइरहेकोले त्यसलाई चीर्न रातोपाटीको आवश्यकता बोध गरिएको हो ।

सोझै भनौँ, परिवर्तनको पक्षमा पत्रकारिता गर्न रातोपाटीको जन्म भएको हो । जस्तो मूल्य चुकाएर पनि यसले तथ्यपरका सूचना प्रवाह गर्नेछ । अरुले फैल्याएका विभ्रमहरु चिर्नेछ र सत्यको उजागर गर्नेछ । परिवर्तन विरोधी, यथास्थितिवादी र कुलिनहरुका विरुद्धमा डटेर खबरदारी पनि गर्नेछ । निमुखा र उपेक्षितहरुको आवाज बोल्नेछ । परिवर्तनको पक्षधरहरु र असली लोकतन्त्रवादीहरुसँग सहकार्य गर्नेछ ।

रातोपाटीमा तपाइँलाई स्वागत छ ।
(११ वर्षअघि रातोपाटी शुभारम्भ हुँदा प्रकाशित पहिलो सम्पादकीय आज १२ वर्ष प्रवेशको अवसरमा पाठकको स्मरणका लागि पुन: प्रकाशित गरिएको छ-सम्पादक)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप