जुनसुकै विषय पढेकालाई शिक्षकको लाइसेन्स दिने तयारी
काठमाडौँ । सरकारले जुनसुकै विषय पढेकालाई अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षामा सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने तयारी थालेको छ । यसका लागि शिक्षा नियमावली २०५९ संशोधनको तयारी भइरहेको हो ।
त्रिभुवन विश्वविद्यालयका प्राडा पेशल खनालले एजुकेशनको डिग्री नभइ शिक्षक नहुने विश्वव्यापी मान्यता रहेको बताए । जोकोहीलाई शिक्षणको लाइसेन्स दिन नहुने उनको तर्क छ । ‘डाक्टर बन्नका लागि मेडिकल पढ्नुपर्छ, लयर बन्नका लागि कानुन पढ्नपर्छ । शिक्षक बन्न जेसुकै भए पनि हुँदैन, यसका लागि शिक्षा विषय पढेकै हुनुपर्छ,’ उनले भने ।
शिक्षक अभाव भयो भन्दैमा जोकोहीलाई शिक्षक बनाउन नमिल्ने उनको भनाइ छ । ‘कमर्स पढेको, आर्ट्स पढेको, साइन्स पढेको तर, एजुकेशन डिग्री नपढिकन लाइसेन्स परीक्षा दिन पाउनु भनेको संसारभरिको शिक्षाको मर्ममाथि प्रहार हो,’ उनले भने ।
प्राडा खनालले जोकोहीलाई शिक्षक बनाउँदा शिक्षण क्षमता नभएका व्यक्ति शिक्षा क्षेत्रमा प्रवेश गर्ने र यसले शिक्षा क्षेत्र थप धराशायी बन्ने प्रस्ट पारे । ‘जोकोहीलाई शिक्षक बन्ने बाटो खुला गर्दा शिक्षणको स्किल नै नभएको व्यक्ति त्यो पेसामा पुग्ने भए । जसले गर्दा बालमनोविज्ञान नबुझ्ने भए । शिक्षणमा प्रयोग गर्ने विभिन्न पद्धति उनीहरूले जान्दैनन्,’ उनले भने, ‘सोझै घोकाउने, कण्ठ गराउने हुन्छन् । आफूले जसरी पढेर आएको हो, त्यसरी नै पढाउने हुन्छन् ।’
त्रिभुवन विश्वविद्यालयमा २०१३ सालमा कलेज अफ एजुकेशन खुलेको थियो, जहाँ शिक्षाशास्त्र सङ्काय पढ्ने विद्यार्थीका लागि शिक्षण अभ्यास गर्न मिल्थ्यो । तर, अहिले त्यहाँ बोर्डिङ स्कूल सञ्चालनमा छ भने त्रिविमा पढेका विद्यार्थीहरू शिक्षण अभ्यास गर्न अन्यत्र जानुपर्ने बाध्यता छ ।
अहिले शिक्षा विषय नपढेकाले पनि लाइसेन्स लिइरहेका छन् । तर, उनीहरूले निश्चित समयभित्रमा एजुकेशनको डिग्री लिने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा २०१३ सालमा कलेज अफ एजुकेशन खुलेको थियो, जहाँ शिक्षाशास्त्र सङ्काय पढ्ने विद्यार्थीका लागि शिक्षण अभ्यास गर्न मिल्थ्यो । तर, अहिले त्यहाँ बोर्डिङ स्कूल सञ्चालनमा छ भने त्रिविमा पढेका विद्यार्थीहरू शिक्षण अभ्यास गर्न अन्यत्र जानुपर्ने बाध्यता छ ।
एजुकेशन बाहेकको क्षेत्रबाट शिक्षण पेसामा आउनेहरूलाई निश्चित समयको कोर्ष दिएर त्यसको विधि पूरा गर्नुपर्ने खनालको तर्क छ ।
‘हामीले भनेको के हो भने लाइसेन्स जथाभावी योग्यता नभएकोलाई दिनु भएन । अभाव भयो भन्दैमा जथाभावी बाँड्ने होइन । उनीहरूलाई कसरी सक्षम बनाउने भन्नेतिर लाग्ने हो,’ खनालले भने, ‘अनिमात्रै अभाव कम गर्न सकिन्छ । अभाव भयो भन्दैमा जथाभावी शिक्षकको लाइसेन्स बाँड्न थाल्यो भने शिक्षा क्षेत्र थप धराशायी बन्छ ।’
नेपाल शिक्षाशास्त्री समाजका अध्यक्ष प्राडा तिर्थराज पराजुलीले टिचिङ भनेको प्रोफेसन भएकाले यसमा जोकोही आउन नहुने बताए । सरकारले गर्न खोजिरहेको व्यवस्था गरियो भने विश्वमै नभएको कुरा हामीले गर्यौँ भन्ने हुने तर, त्यसले मान्यता नपाउने उनको भनाइ छ ।
नेपाल सरकारले जारी गरेको शिक्षा नीति २०७६ मासमेत जो कोहीले शिक्षक पाउने व्यवस्था छैन । त्यहाँ पनि आवश्यक तालिम तथा शिक्षा विषय पढेको चाहिने भनिएको छ । सरकारले आफूले जारी गरेको नीतिविरुद्ध नै गएर व्यवस्था गर्न लागेको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय सेवा निवृत्त प्राध्यापक डाक्टर गंगाराम गौतमले संसारमा सबै कुराको आ–आफ्नै विधि र पद्धति हुने बताए ।
‘अप्रेसन जो कोहीले गर्न सक्दैन । हरेक चिजको पद्धति हुन्छ । त्यो पद्धतिमा राम्रोसँग काम सम्पन्न गर्नलाई त्यो सबै पद्धति बुझेको मान्छे हुनुपर्छ । त्यसैले सिकाउने भनेको कुरा पद्धतिसँग गाँसिएको ठुलो कुरा हो,’ उनले भने, ‘संसारको अनुभवले के बताउँछ भने त्यो पद्धतिसँग फेमिलियर भएको व्यक्तिले मात्रै विद्यार्थीलाई राम्रोसँग सिकाउँछ भन्ने हो ।’
शिक्षक उत्पादन गर्ने ठाउँमा सिकाउने तरिका नै गल्ती भएको उनको बुझाइ छ । शिक्षकहरूलाई राम्रोसँग पठनपाठन गराउनलाई तयार नै नगरिएको उनले बताए । उनीहरूलाई पढाउनका लागि तयार गराउन जोड हुनुपर्नेमा त्यो पनि नभइ अन्यत्र क्षेत्रबाट शिक्षक ल्याउने विषयमा बहस चलेको गौतमले बताए ।
‘शिक्षाभन्दा बाहिरकाले शिक्षकले राम्रो गर्न सकेन, त्यसैले जो कोही पनि शिक्षक बन्न पाउने व्यवस्था गर्नुपर्यो भन्छन् । शिक्षा क्षेत्रकाहरूले ठिक होइन भन्छन् । शिक्षक उत्पादन गर्ने ठाउँमा गल्ती भयो भने त्यसलाई सुधार गरेर जाने हो,’ उनले भने ।
यसका लागि जति जनशक्ति आवश्यक पर्ने हो, त्यही आधारमा मात्रै पढाउनुपर्ने र त्यही आधारमा शिक्षक उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।
‘बीएड पढ्नेले कहिल्यै क्लासमा नआइकन गाइड पढेको भरमा पास हुन्छन् । अनि त्यस्तो मान्छे पास भएर शिक्षक बन्यो भने के हुन्छ ?’ उनले प्रश्न गरे ।
यूकेको एङ्लिय रुस्किन युनिभर्सिटीका प्राध्यापक डाक्टर फिल क्रिकम्यानले गरेको अनुसन्धानले तीन वर्षे बीएड पढ्दा विद्यार्थीले कम्तीमा १२१ दिन विद्यालयमा जानुपर्ने देखाएको छ । विद्यालयमा गएर पठन अभ्यास गर्नुपर्ने उनको अध्ययनको निष्कर्ष थियो । त्यतिले मात्र नपुगेर विश्वविद्यालयको तर्फबाट समेत थप दुई वर्ष बेलाबेला विद्यालयमा जाने, पढाइ हेर्ने गर्नुपर्ने उनको निष्कर्ष थियो ।
तर, नेपालमा भने गेसपेपर किनेको आधारमा बीएड, एमएडको डिग्री लिने र त्यस्ता विद्यार्थीका कारण समस्या हुने गौतमको तर्क छ । ‘हामीकहाँ सिस्टम कहाँनेर गल्ती भयो ? अब त्यो सिस्टम नै फालिदिने कि त्यसलाई सच्याउने भन्नेमात्रै हो । कति शिक्षक चाहिने हो ? त्यो विषयमा बहस हुनुपर्यो । हामीलाई चाहिने शिक्षककै आधारमा हामीले जनशक्ति उत्पादन गर्नुपर्छ,’ उनले भने ।
जुनसुकै ग्रेड ल्याएको विद्यार्थीले शिक्षा विषय पढ्ने अनि गुणस्तर चाहिँ राम्रो खोजेर नहुने उनको भनाइ छ ।
डाक्टर हुन ‘ए’ ल्याउनुपर्ने तर, शिक्षक हुन ‘सी’ भए पुग्ने गरेको बताए । शिक्षा विषयमा विद्यार्थीको आकर्षण घटेको तर्क गर्दै उनले भने, ‘विद्यार्थीले आउन चाहेन भने राम्रो इन्सेन्टिभ दिनुपर्छ । उनीहरूलाई विभिन्न खालका सेवा सुविधा दिनुपर्छ । त्यस्तो गरियो भने मात्रै शिक्षामा सुधार हुन्छ ।’
संसारभर शिक्षक हुनको लागि पेडागोजिकल डिग्री चाहिने तर, नेपालमा नचाहिने तर्क गर्न नहुने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका डीन प्राडा चित्रबहादुर बुढाथोकीले विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिमा समेत कमजोरी रहेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।
फेकल्टी अफ एजुकेशनले नेपालको शिक्षा क्षेत्र धान्न नसकेर जोसुकैलाई शिक्षक बन्न लगाउन लागेको तर्क सरकारको छ । तर, विद्यार्थी पर्याप्त रहेको बुढाथोकी बताउँछन् । अहिले ब्याचलर लेभलमा करिब १ लाख विद्यार्थी छन् । पास हुने दर भने २५ देखि ३० प्रतिशत मात्रै छ ।
‘यही तरिकाले चलायौँ भने सरकारले तपाईंहरूको डिग्री कार्यक्रम काम लाग्दैन भन्छ । त्यसमा हाम्रो कमजोरी नै हो । हामी नै रूपान्तरका लागि राम्रो बनाउनतिर लाग्नुपर्छ । पढ्ने र पढाउने तरिकालाई परिवर्तन गर्नुपर्छ । त्यो गर्न सकिएन भने हाम्रोबाट पूरा हुँदैन,’ उनले भने ।
अब बीएड र एमएडको पाठ्यक्रम परिमार्जन गर्न लागिएको भन्दै उनले त्यसका लागि शिक्षक सेवा आयोगसँग समेत छलफल गरिने बताए ।
शिक्षक पेसामा कमजोर धरातलका आउने गरेको भन्दै उनले यसका लागि गुणस्तरमा सुधार गर्नुपर्ने बताए । क्वालिटी कन्ट्रोलका लागि सरकारको मेकानिज्म हुनुपर्ने तर, नेपालमा त्यो हुन नसकेको उनको भनाइ छ ।
‘जसरी मेडिकल शिक्षाको क्वालिटीका लागि काम गरिरहेको छ । त्यसरी नै एजुकेशनको पनि क्वालिटीका लागि मेकानिज्म बनाउनुपर्छ,’ बुढाथोकीले भने ।
फेकल्टी अफ एजुकेशनले नेपालको शिक्षा क्षेत्र धान्न नसकेर जोसुकैलाई शिक्षक बन्न लगाउन लागेको तर्क सरकारको छ । तर, विद्यार्थी पर्याप्त रहेको बुढाथोकी बताउँछन् । अहिले ब्याचलर लेभलमा करिब १ लाख विद्यार्थी छन् । पास हुने दर भने २५ देखि ३० प्रतिशत मात्रै छ ।
त्यही २५ देखि ३० प्रतिशत पास भएका विद्यार्थीहरूले शिक्षक सेवा आयोगको परीक्षा दिने हुन् । त्यसरी शिक्षक सेवा आयोगको परीक्षा पास गर्नेमा अधिकांश शिक्षाशास्त्र सङ्काय पढेका विद्यार्थीहरू मात्रै हुने गरको उनको भनाइ छ ।
नेपालमा विकास नहुनुको प्रमुख कारण शिक्षा क्षेत्रको सुधार नहुनु रहेको उनको भनाइ छ । ‘नेपालमा विकास भएन भन्ने छ । त्यसको एउटा कारण हो शिक्षा । शिक्षा किन राम्रो भएनभन्दा शिक्षक राम्रो भएन । शिक्षक किन राम्रो भएन भन्दा सरकारको शिक्षाको नीति राम्रो भएन । स्पष्ट नीति भएन,’ उनले भने, ‘त्यसैले सरकारले भनिरहेको छ सबै मान्छे शिक्षक बनाउँछु । त्यस्तो हुँदैन ।’
नेपालको राजनीति राम्रो नभएकाले शिक्षा समेत राम्रो हुन नसकेको उनको भनाइ छ । शिक्षकलाई राम्रो बनाउने होइन भने नेपालको शिक्षा सयौँ वर्ष पछिपर्ने उनको उनको भनाइ छ । शिक्षकलाई राम्रो बनाउन सकियो भनेमात्रै शिक्षा क्षेत्र सुध्रिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत