बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

पिचको विवादबिच चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानको महाभिडन्त

टी–२० विश्वकपमा आठौँ पटक भिड्दै
आइतबार, २७ जेठ २०८१, ११ : २२
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार अन्तर्राष्ट्रिय क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा राति २०ः१५ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । जारी विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ भने पाकिस्तानले हार बेहोरेको छ ।

समूह ‘ए’ मा यसअघि चार खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा आयोजक अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो ।

381474

यसै गरी समूहको तेस्रो खेलमा पहिलो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको आयोजक अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएको थियो । चौथो खेलमा भने क्यानडाले आयरल्यान्डलाई १२ रनले पराजित गरेको थियो ।

समूह ‘ए’ तालिकामा दुई खेल खेलेको अमेरिका चार अङ्कसहित पहिलो स्थानमा आसीन छ । एक खेल खेलेको भारत दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको क्यानडा दुई अङ्कसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा आसीन पाकिस्तान र पाँचौँ स्थानमा आसीन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् ।

  • भारत र पाकिस्तानको नाममा एक–एक उपाधि

भारत र पाकिस्तान दुवै टी–२० विश्वकपको पूर्वविजेता राष्ट्र पनि हुन् । यी दुवै राष्ट्रले हालसम्म एक–एक पटक टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको थियो ।

85PYGR7Ymi

त्यति बेला भारतले फाइनलमा पाकिस्तानलाई नै पाँच रनले हराएको थियो । त्यति बेला भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनी थिए । यसदेखि बाहेक भारत सन् २०१४ को टी–२० विश्वकपमा पनि फाइनलसम्म पुगेको थियो । त्यति बेला फाइनलमा भारतलाई श्रीलङ्काले ६ विकेटले हराएको थियो ।

पाकिस्तानले भने सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि चुमेको थियो । त्यति बेला पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई आठ विकेटले पराजित गरेको थियो । त्यति बेला पाकिस्तानी टोलीका कप्तान थिए, युनिस खान ।

news-1687318874837

यसदेखि बाहेक पनि दुईपटक पाकिस्तान टी–२० विश्वकपको फाइनलमा पुगेको छ । पहिलो संस्करणको फाइनलमा पाकिस्तानी टोली भारतसँग पराजित भएको थियो । त्यसपछि सन् २०२२ को टी–२० विश्वकपमा पनि पाकिस्तान फाइनलसम्म पुगेको थियो । फाइनलमा इङ्ल्यान्डसँग पाँच विकेटले पराजित भएपछि पाकिस्तान साबिक उप–विजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

  • दुवै राष्ट्रको नवौँ सहभागिता

पाकिस्तान र भारत दुवै राष्ट्रले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । त्यसयता यी दुवै राष्ट्र हरेक संस्करणमा सहभागी भएका छन् । त्यसैले यी दुवै राष्ट्रको टी–२० विश्वकपमा यो नवौँ सहभागिता हो ।

382201

पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४८ खेल खेलिसकेको छ । त्यसमध्ये पाकिस्तान २८ खेलमा विजयी भएको छ भने १८ खेलमा पराजित । पाकिस्तानी टोलीको दुई खेल भने बराबरीमा सकिएको छ ।

टी–२० विश्वकपमा हालसम्म सर्वाधिक खेल खेल्ने राष्ट्रको सूचिमा पाकिस्तान दोस्रो स्थानमा छ । टी–२० विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने राष्ट्र भने श्रीलंका हो । श्रीलङ्काले हालसम्म टी–२० विश्वकपमा कुल ५२ खेल खेलिसकेको छ ।

382337

यसै गरी भारतले हालसम्म टी–२० विश्वकपमा कुल ४५ खेल खेलेको छ । त्यसमध्ये भारत २८ खेलमा विजयी भएको छ भने १५ खेलमा पराजित । यसका अतिरिक्त भारतको एक खेल बराबरीमा र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

  • वरीयतामा भारतको अग्रता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तानभन्दा भारत अगाडि रहेको छ । पछिल्लो आईसीसी वरीयतामा भारत पहिलो स्थानमा आसीन छ । उक्त वरीयतामा पाकिस्तान भने छैटौँ स्थानमा छ । वरीयतामा अस्ट्रेलिया दोस्रो, इङ्ल्यान्ड तेस्रो, वेस्ट इन्डिज चौथो र न्युजिल्यान्ड पाँचौँ स्थानमा छन् ।

  • तथ्याङ्कमा पनि भारत अगाडि

यी दुई चिर प्रतिद्वन्द्वी राष्ट्रबिच हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ खेल खेलिएको छ । त्यसमा भारत बलियो देखिएको छ । कुल १२ मध्ये भारतले पाकिस्तानलाई नौ खेलमा हराएको छ । पाकिस्तानले भने भारतलाई तीन खेलमा मात्र हराउन सकेको छ ।

382129

पाकिस्तानी भूमिमा भारतले हालसम्म एक खेल पनि जित्न सकेको छैन भने पाकिस्तानले भारतीय भूमिमा एक खेल जितेको छ । भारतले सात खेल ‘न्यूट्रल भेन्यू’ मा र दुई खेल घरेलु मैदानमा जितेको हो । पाकिस्तानले भने ‘न्यूट्रल भेन्यू’ मा दुई खेल जितेको छ ।

यसै गरी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिच आठौँ पटक भिडन्त हुन लागेको हो । टी–२० विश्वकपमा यसअघि खेलिएको सातमध्ये पाँच खेलमा भारत र एक खेलमा पाकिस्तान विजयी भएका छन् । यी दुई टोलीबिचको एक खेल भने बराबरीमा सकिएको छ ।

सन् २००७ को टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको एक खेल बराबरीमा सकिएको थियो भने एक खेलमा भारतले पाकिस्तानलाई पाँच रनले हराएको थियो । सन् २०१२ को विश्वकपमा भारतले पाकिस्तानलाई आठ विकेटले हराएको थियो ।

यसै गरी सन् २०१४ को विश्वकपमा भारतले पाकिस्तानलाई सात विकेटले हराएको थियो । सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । सन् २०२१ को विश्वकपमा भने पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । सन् २०२२ को टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई चार विकेटले हराएको थियो ।

  • विवादमा नासाउ काउन्टी स्टेडियमको पिच

भारत र पाकिस्तानबिचको खेल हुने न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पिचको विषयलाई लिएर भने निकै विवाद हुँदै आएको छ । यो स्टेडियममा हालसम्म खेलिएको खेलमा निकै कम रन बनेको छ भने खेलाडी पनि घाइते हुँदै आएका छन् ।

382141

आयरल्यान्ड र भारतबिचको खेल पनि यही स्टेडियममा खेलिएको थियो । त्यो खेलपछि भने यो रंगशालाको पिचको विषयलाई लिएर झनै बढी आलोचनात्मक टिप्पणी सुरु भएको थियो । यो स्टेडियमको पिचको विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल पनि चिन्तित देखिएको छ ।

यो स्टेडियमका ‘ड्रप ईन’ पिच प्रयोग गरिएको छ । यसको अर्थ हुन्छ, अस्थायी रूपमा प्रयोग गरिएको पिच । केही स्टेडियममा अन्य खेलका गतिविधि पनि हुन्छन् । यस्तो अवस्थामा त्यो स्टेडियममा क्रिकेटको कुनै प्रतियोगिता आयोजना गर्नु पर्‍यो भने बाहिरबाट ल्याइएको पिच प्रयोग गरिन्छ । खेल सकिएपछि त्यो पिच स्टेडियमबाट हटाइन्छ ।

नासाउ स्टेडियममा पनि यस्तै ‘ड्रप ईन’ पिच प्रयोग गरिएको छ । तर, नासाउ स्टेडियमका पिचमा भने बल आवश्यकताभन्दा बढी बाउन्स हुने गरेको छ । सोही कारणले आयरल्यान्डविरुद्धको खेलमा भारतीय टोलीका केही खेलाडी घाइते पनि भएका थिए । खेलका क्रममा भारतीय टोलीका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई चोट लागेको थियो । रोहित त ‘रिटायर्ड हर्ट’ हुँदै मैदानबाट बाहिरिएका पनि थिए ।

यो स्टेडियममा हालसम्म चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् । यो स्टेडियममा बनेको सबैभन्दा ठुलो स्कोर भनेको एक सय ३७ रनमात्र हो । दुई खेलमा त पहिलो पाली ब्याटिङ गर्ने टोलीले एक सयभन्दा कम रन बनाएका थिए ।

यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीलाई फाइदा पुग्ने गरेको देखिन्छ । भारत र पाकिस्तानबिचको खेलमा पनि टसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसैले यो स्टेडियममा टस जित्ने टोलीले पहिले फिल्डिङ गर्ने सम्भावना बढी देखिन्छ ।

  • भारत–पाकिस्तान खेलमा टसको इतिहास

भारत र पाकिस्तानबिच हालसम्म टी–२० विश्वकपमा कुल सात खेल खेलिएको छ । त्यसमध्ये जवाफी ब्याटिङ गर्ने टोलीले बढी खेल जितेका छन् । समग्रमा दोस्रो ब्याटिङ गर्ने टोलीले ७१ प्रतिशत खेल जितेको पाइन्छ ।

381689

सातमध्ये पाँच खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले खेल जितेका छन् । हालसम्म टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई एकपटक मात्र हराउन सकेको छ । सन् २०२१ मा खेलिएको त्यो खेलमा पनि पाकिस्तानले जवाफी ब्याटिङ गर्दै खेल जितेको हो ।

यसका अतिरिक्त टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म यी दुई टोलीबिच कुल १२ खेल खेलिएको छ । त्यसमा पनि नौ खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले नै सफलता हात पारेको देखिन्छ । पहिलो ब्याटिङ गर्ने टोलीले तीन खेलमात्र जित्न सकेको छ ।

  • एकअर्काविरुद्ध दुवै टोलीका खेलाडीको प्रदर्शन

टी–२० विश्वकपको आइतबार हुने खेलमा एकातिर भारतका विराट कोहली, रोहित शर्मा, ऋषभ पन्त, जसप्रित बुमराहजस्ता अनुभवी खेलाडी छन् । अर्कोतिर, पाकिस्तानी टोलीमा पनि बाबर आजम, मोहम्मद रिजवान, साहिन शाह अफ्रिदीजस्ता प्रभावशाली खेलाडी छन् ।

यद्यपि, पछिल्लो समय भारतीय टोलीको तुलनामा पाकिस्तानको लय केही खस्किएको देखिएको छ । सन् २०२१ को टी–२० विश्वकपमा बाबर आजमकै कप्तानीमा पाकिस्तानले भारतलाई हराएको थियो ।

382145

आइतबार हुने पाकिस्तानविरुद्धको खेलमा विराट कोहलीको भूमिकालाई लिएर पनि चर्चा भइरहेको छ । यसअघि खेलिएको आयरल्यान्डविरुद्धको खेलमा विराटलाई ओपनर ब्याट्सम्यानको भूमिकामा ल्याइएको थियो । तर, त्यो खेलमा उनी केवल एक रन बनाउँदै आउट भएका थिए ।

तर, पाकिस्तानविरुद्धको खेलमा पनि विराटलाई ओपनरकै भूमिकामा देख्न सकिने सम्भावना रहेको भारतीय अधिकारीहरूले जनाएका छन् । पाकिस्तानविरुद्धको खेलमा पनि कोहलीको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । टी–२० विश्वकपमा उनले पाकिस्तानविरुद्ध पाँच खेल खेलेका छन् ।

त्यसमध्ये एक खेलमा मात्र उनी आउट भएका छन् । त्यो खेलमा पनि आउट हुनुअघि उनले अर्धशतक बनाएका थिए । टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध खेलिएको पाँचमध्ये तीन खेलमा विराट प्लेयर अफ दी म्याच पनि घोषित भएका छन् ।

rohit sharma

पाकिस्तानविरुद्ध रोहित शर्माको प्रदर्शन भने खासै गतिलो देखिँदैन । पाकिस्तानविरुद्ध टी–२० विश्वकपमा रोहितले कुल ६ खेल खेलेका छन् । त्यसमध्ये उनले पाँच खेलमा ब्याटिङ गरेका छन् । ती पाँच खेलमा उनले क्रमशः चार, १०, २४ र ३० रन बनाएका छन् । सन् २०२१ को टी–२० विश्वकपमा त उनले खातासम्म खोल्न सकेका थिएनन् ।

bumrah

यसैगरी भारतीय बलर जसप्रित बुमराहले पाकिस्तानविरुद्ध टी–२० विश्वकपमा हालसम्म केवल दुई खेल खेलेका छन् । त्यसमा उनले एक विकेट लिएका छन् । तर, जारी विश्वकपको आयरल्यान्डविरुद्धको खेलमा भने यही स्टेडियममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले तीन ओभरमा केवल ६ रन खर्चिएर दुई विकेट लिएका थिए ।

saheen

यसैगरी टी–२० विश्वकपमा पाकिस्तानका लागि सबैभन्दा बढी विकेट लिने बलर शाहिद अफ्रिदी हुन् । टी–२० विश्वकपमा उनले भारतविरुद्ध ३९ विकेट लिएका छन् । वर्तमान टोलीमा रहेका खेलाडीमध्ये शादाब खानले भारतविरुद्ध सबैभन्दा बढी विकेट लिएका छन् । उनले चार विकेट हात पारेका छन् ।

यसैगरी पछिल्लो समय पाकिस्तानी टोलीमा साहिन शाह अफ्रिदी मोहम्मद आमिर, ह्यारिस रउफ, नसिम शाहजस्ता प्रभावशाली तीव्र गतिका बलर छन् । भारतीय ब्याट्सम्यानका लागि यी बलर जुनसुकै बेला पनि घातक बन्न सक्छन् ।

सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र पाकिस्तानबिच भिडन्त भएको थियो । लन्डनमा खेलिएको एकदिवसीय ढाँचाको त्यो खेलमा भारतले केवल ३३ रनको कुल स्कोरमा रोहित शर्मा, शिखर धवन र विराट कोहलीलाई गुमाएको थियो ।

 

तीनवटै विकेट बायाँहाते तीव्रगतिका पाकिस्तानी बलर मोहम्मद आमिरले लिएका थिए । त्यो खेलमा पाकिस्तान एक सय ८० रनले पराजित भएको थियो । त्यसैले पनि पाकिस्तानका तीव्र गतिका बलरहरू भारतका लागि घातक बन्न सक्छन् ।

सन् २०२१ को टी–२० विश्वकपमा पनि भारत र पाकिस्तानबिच खेल भएको थियो । त्यो खेलमा पाकिस्तानका बायाँहाते तीव्र गतिका बलर भारतीय ब्याट्सम्यानका लागि घातक बनेका थिए । साहिन शाह अफ्रिदीले रोहित शर्मालाई शून्य रनमा, केएल राहुललाई तीन रनमा र विराट कोहलीलाई ५७ रनमा पेभेलियन फर्काएका थिए । त्यो खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो ।

  • सम्भावित टोली

सम्भावित भारतीय टोली : रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज र कुलदीप यादव ।

सम्भावित पाकिस्तानी टोली : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फाखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, नसिम शाह, मोहम्मद आमिर र ह्यारिस रउफ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप