बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कालीगण्डकी करिडोर : फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

आइतबार, २७ जेठ २०८१, १० : ३५
आइतबार, २७ जेठ २०८१

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।  करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । 

पटक–पटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो ।

सुरुआतमा ठेकेदारले विभिन्न कारण देखाएर काममा ढिलाइ गरेको र अहिले भिरमा बम विस्फोट गरेर चट्टान फुटाउनुपर्ने भएका कारण कामले गति लिन नसकेको हो । नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक खुलिसकेको छ ।

मोदीखोलामा मोटरेबल पुल दुई निर्माण भइसकेको छ । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष खुलेको भए पनि सवारीसाधन सहज रूपमा चल्नसक्ने अवस्था छैन ।  पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमका अनुसार मोदीवेणीबाट अर्मादीसम्मको खण्डमा ठूलो भिर रहेको र कडा चट्टान विष्फोटक पदार्थ प्रयोग गरेर फुटाउनुपर्ने भएकाले ढिलाइ भएको हो । 

विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने ठाउँको माथिपट्टि कुश्मा–कैया झोलुङ्गे पुल छ । विष्फोटक पदार्थ प्रयोग गर्दा पुललाई असर गर्ने भन्दै जिल्ला समन्वय समितिले वैकल्पिक उपाय अपनाउन पत्राचार गरेपछि  काम रोकिएको छ ।  उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले चट्टान फुटाउन वैकिल्पक उपायको खोजी भइरहेको जनाएको छ । उक्त खण्ड १४ किलोमिटर लामो छ । 

कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीसँग चौथोपटक थप गरिएको म्याद आगामी असोज ३० मा पूरा हुँदैछ । 

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । पर्वत खण्डअन्तर्गत  सेतीवेणीबाट फलेवाससम्म कालोपत्र भइसके पनि बाँकी १४ किलोमिटरको स्तरोन्नतिका लागि बजेट विनियोजन नभएको आयोजना कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप