आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
११ औँ वार्षिकोत्सव विशेषाङ्क : राजनीतिक स्थायित्वको तृष्णा

सत्ताको लुछाचुँडी भइरहे सिर्जना मर्छ

आइतबार, २७ जेठ २०८१

कलाकारिता र राजनीति दुई फरक विषय हुन्, तर यी दुवै एक–अर्कासँग सधैँ जोडिएका हुन्छन् । राष्ट्रभक्त र देशभक्त व्यक्ति राजनीतिज्ञ भयो भने सबै कुरा परिवर्तन गर्दै जनतालाई सुख–सुविधा दिएर देशको मुहार फेर्न लाग्छन् । सबैको हितमा काम गर्छन् ।

हामी अभिनेता–अभिनेत्री भनेका अभिनय गर्ने व्यक्ति हौँ । अभिनेता तथा अभिनेत्रीले अभिनयमार्फत देशको कुरीति र कुसंस्कार उजागर गर्दै सांस्कृतिक अभियान अगाडि बढाउँछन् । 

अभिनय गर्ने कलाकारले चलचित्र, नाटक, टेलिचलचित्रमामार्फत; पेन्टिङ गर्ने कलाकारले पेन्टिङमार्फत र गायकले गीतमार्फत समाजमा आमूल परिवर्तन ल्याउने हो । समाजलाई सही ठाउँमा ल्याउन राजनीतिज्ञलाई झकझकाउने र नियन्त्रणमा भूमिका खेल्ने काम कलाकारले गरिरहेका हुन्छन् ।

हाम्रो राजनीतिले सिर्जनशील कलाकारलाई पनि कित्ताकाट गरेर आफ्नो राजनीतिक स्वार्थ परिपूर्तिका लागि प्रयोग गरेको देखिन्छ । कलाकार पनि विभिन्न राजनीतिक दलमा विभाजन भएको देख्छौँ । मेरो विचारमा त्यो हुनु राम्रो होइन । उनीहरूलाई निष्पक्ष र स्वतन्त्र छाड्नुपर्छ ।

राजनीतिले कलाकारिता र कलाकारिताले राजनीतिमा गहिरो प्रभाव पारिरहेको हुन्छ । देशको कला, कौशल, संगीत, नाट्य, संस्कृति लगायतको पहिचानप्रति राजनीतिज्ञलाई सुसूचित कलाकारले नै गर्छन् ।

मेरो विचारमा कलाकारको संरक्षण र संवर्द्धन गर्ने अभिभारा नेतृत्वको हो ।

कलाकारितामा राजनीतिको प्रभाव भए पनि कलाकारलाई राजनीतिभन्दा बाहिर राखेर स्वतन्त्र छाड्नुपर्छ । कलाकार सीमाविहीन मानिस हुन् । कला र साहित्यमा लागेका व्यक्तिको कुनै सीमा हुँदैन । उनीहरूलाई हावामा उड्ने चराजस्तै स्वतन्त्र छाड्नुपर्छ, अनि मात्र राम्रो सिर्जना सम्भव छ ।

हाम्रो राजनीतिले सिर्जनशील कलाकारलाई पनि कित्ताकाट गरेर आफ्नो राजनीतिक स्वार्थ परिपूर्तिका लागि प्रयोग गरेको देखिन्छ । कलाकार पनि विभिन्न राजनीतिक दलमा विभाजन भएको देख्छौँ । मेरो विचारमा त्यो हुनु राम्रो होइन । उनीहरूलाई निष्पक्ष र स्वतन्त्र छाड्नुपर्छ ।

अहिले राजनीतिज्ञले राजनीतिक प्रभावको आडमा कलाकारलाई कार्यकर्ताजस्तो प्रयोग गरिरहेका छन् । कुनै राजनीतिक भेला गर्नुपर्‍यो भने कलाकार प्रयोग गर्ने गर्छन् । कलाकारको कला कौसलबाट जब मानिस भेला हुन्छन्, तब राजनीतिज्ञले कलाकारलाई हटाएर आफ्नो राजनीतिक स्वार्थपूर्तिका भाषण सुनाउने गर्छन् ।

त्यसो त कलाकारले राजनीतिलाई र राजनीतिले कलाकारलाई सहयोग नगर्ने भन्ने होइन । सहयोग गरिरहेकै छन् । हाम्रो देशमा कलाका विभिन्न विधाका लागि संगीत नाट्य प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठान छन् । 

कलाकारले कलाकारिताका माध्यमबाट समाज र देश लिड गर्न सक्छन्, तर राजनीतिक प्रभावका कारण उनीहरू पनि जता हावा बगेको छ, त्यतातिर झुक्ने प्रवृत्ति देखिएको छ । यसले गर्दा अहिले कलाकारितालाई पनि पब्लिकले त्यति विश्वासिलो नजरले हेर्दैनन् ।

आफ्नो राजनीतिक खेमामा, आफ्नो राजनीतिक प्रचार–प्रसारमा लागेका व्यक्तिलाई मात्र राज्यका विभिन्न निकायमा राखिने परम्परा र चलन छ, त्यो राम्रो होइन । यी दुइटा परिपुरक हुनुपर्छ । कतिपय राजनीतिज्ञ सही कुरामा लागेका छैनन् भने कला–साहित्यका विभिन्न सिर्जनामार्फत उनीहरूलाई कलाकारले बाटो देखाउन वा सन्देश दिन सक्छन् ।

एउटा कलाकारले राजनीतिमार्फत देशमा सुव्यवस्था, अमनचयन होस्; राम्रो नेतृत्व आइदियोस् भनेर कामना गर्ने हो । जुनसुकै दलबाट सत्तामा पुगे पनि नेतृत्वले समान रूपमा सबैको सम्मुन्त विकास गर्न सक्नुपर्छ । राजनीतिज्ञले सत्तामा पुगेपछि यो हाम्रो विरोधी हो, यो हाम्रो खेमाको होइन, यो विपक्ष दलको भनेर विभाजन गर्न हुँदैन । त्यो भयो भने सफल राजनीति भन्न सकिन्न । यस्तो अवस्था रह्यो भने कलाकारिता पनि उचित ढङ्गबाट अगाडि बढ्न सक्दैन ।

देशमा राजनीतिक अस्थिरता छ भने त्यसबाट कला क्षेत्र मात्र प्रभावविहीन कसरी रहला र ! सत्ताका लागि लुछाचुँडी गर्ने, गठबन्धन बनाउने र तोड्ने यस्तैमा देशको राजनीति यसमा रुमलियो भने सिर्जनशील मानिसले पनि नयाँ कुरो सोच्न र सिर्जना गर्न सक्दैन । 

राजनीतिक प्रभावका कारण स्वतन्त्र रूपमा रहनुपर्ने मानिस विभिन्न राजनीतिक दलको इसारामा रहन्छ । उनीहरूले फिट गरेको स्थानमा पुग्छ र सर्वोपरि हितमा भन्दा ऊ आफ्नो र राजनीतिक दलको स्वार्थ पूर्तितिर लाग्छ । 

राजनीतिक अस्थिरतालाई कलाकारिता क्षेत्रले पनि स्थिर गराउन सक्छ । त्यो क्षमता भएका कलाकार हाम्रो देशमा छन्, जसले कलाकारिताका माध्यमबाट समाज र देश लिड गर्न सक्छन्, तर राजनीतिक प्रभावका कारण उनीहरू पनि जता हावा बगेको छ, त्यतातिर झुक्ने प्रवृत्ति देखिएको छ । यसले गर्दा अहिले कलाकारितालाई पनि पब्लिकले त्यति विश्वासिलो नजरले हेर्दैनन् ।

मानिस सबै एउटै हो, सबैमा समान हुनुपर्छ तर राजनीतिक प्रभावका कारण जुनै कुरोमा पनि तल–माथि हुने गरेको छ । त्यसमा कलाकारले विभिन्न माध्यमबाट बाटो देखाउन सक्छन्, तर राजनीतिज्ञलाई कलाकारले देखाएको बाटो सही हो भन्ने कहिल्यै लाग्दैन । कलाकारले दिएको सन्देशले असर परेको जस्तो लाग्दैन । पत्रिका, टीभी, अनलाइन लगायत विभिन्न मिडियाबाट पनि नेताहरुलाई खबरदारी भइरहेको हुन्छ । 

राजनीतिले कलाकारिता र कलाकारिताले राजनीतिमा गहिरो प्रभाव पारिरहेको हुन्छ । देशको कला, कौशल, संगीत, नाट्य, संस्कृति लगायतको पहिचानप्रति राजनीतिज्ञलाई सुसूचित कलाकारले नै गर्छन् ।

अहिले भ्रष्टाचार नियन्त्रणको कुरो उठेको छ । त्यो नारा एकातिर छ, अर्काेतिर भ्रष्टाचार संस्थागत रूपमा मौलाइरहेको छ । आम जनताले दुःख भोगिरहेका छन् । जसको पहुँच पुग्छ, त्यसका लागि अहिले रामराज्य नै छ । पहुँच नपुगेकालाई विभिन्न कानुन लागिरहेको हुन्छ । यस्ता विकृतिलाई कलाकारितामार्फत हामीले उजागर गरिरहेका छौँ । त्यसलाई धारण गर्ने व्यक्तिले ए हो भनेर त्यसतर्फ पाइला सार्नुपर्‍यो नि !

हाम्रो कलाकारिताभित्र राजनीति नभएको भने होइन । यसमा पनि असाध्यै राजनीति छ । को सत्तामा छ, तिनीहरू नजिकबाटै राजनीति सुरु हुन्छ । म एउटा उदाहरण दिन चाहन्छु । जुन कुरो मलाई खड्किएको विषय पनि हो । ती व्यक्तिको नाम खुलाउँदिनँ, एक व्यक्तिलाई सरकारले एउटा समितिमा नियुक्त गरेको थियो । जसलाई सरकारले जहिले मन लाग्छ, हटाउन सक्छ तर बिचमा ती व्यक्ति हटाएर सरकारले अर्को ल्यायो भन्ने समाचार बाहिर आयो । हटाउनुको कारण केही थिएन । ठिक छ, हटाउन पायो, तर एउटालाई हटाएर अर्को ल्याइयो भन्नु गलत भयो । यो स्थानमा यो व्यक्ति ल्याइएको छ भनेको भए राम्रो सुनिन्थ्यो । यस्ता घटना राजनीतिक प्रवृत्तिका कारण नै भएका हुन् । हाम्रो कलाकारितामा पनि यस्ता राजनीति गर्ने धेरै छन् । 

अहिले कलाकारिता दिन प्रतिदिन खस्कँदो अवस्थामा छ । यो पनि राजनीतिकै असर हो । अहिले राज्यको विभिन्न सुविधाबाट उपयुक्त व्यक्ति वञ्चित भइरहेका छन् । राजनीति मौलाएका कारण सही समयमा सही व्यक्तिलाई राज्यले सदुपयोग गर्न सकिरहेको छैन । यसले सामूहिक संस्कार समेत हराउँदै गएको छ । राज्य र कलाकारितामा आफ्नो पहलबाट केही गर्ने कलाकार पनि छन् । ती व्यक्तिलाई राज्यले केही गर्नुपर्ने हो, त्यो भएको छैन ।

अहिले कलाकार बेरोजगार हुने र पलायन हुने पनि क्रम बढ्दो छ । त्यसको कारण राजनीति नै हो । अर्कोतिर राजनीतिका आडमा नेपालमै प्रशस्त पैसा कमाउने पनि छन् । कतिपय कलाकार देशको राजनीतिक अस्थिरताका कारण सुनौलो भविष्यको कल्पनामा बिदेसिन बाध्य छन् । 

(वरिष्ठ कलाकार मदनदास श्रेष्ठसँग रातोपाटीकर्मी कुवेर गिरीले गरेको संवादमा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया