सुरुवाती पतनबाट जोगिँदै दक्षिण अफ्रिकाद्वारा नेदरल्यान्ड्स पराजित

न्युयोर्क । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८.५ ओभरमा पछ्याएको हो ।
प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित हो । नेदरल्यान्ड्स भने दोस्रो खेलमा पहिलो हार बेहोर्न बाध्य बन्यो ।
टोलीका लागि डेभिड मिलर नायक बने । उनले ५१ बलमा नटआउट रहँदै ५९ रन बनाएर टोलीलाई जित दिलाए । उनले यस क्रममा ३ चौका र ४ छक्का प्रहार गरे ।
ट्रिस्टन स्टब्सले ३७ बलमा ३३ रन जोड्दै मिलरलाई राम्रो साथ दिए । उनीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाले खेलमा खराब सुरुवात गरेको थियो । ३ रनमा ३ विकेट गुमाएको टोलीले १२ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि मिलर र स्टब्स मिलेर टोलीको इनिङ्स सम्हाले ।
नेदरल्यान्ड्सका लागि भिभियन किंग्मा र लोगन भान विकले २–२ विकेट लिए । बास डे लिडेले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जरबर्चटले सर्वाधिक ४० रन बनाए । उनले ४५ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
उनलाई लोगन भान विकले २३ रन बनाउँदै साथ दिए । विक्रमजित सिंहले १७ बलमा १२ रन तथा कप्तान स्कट एडवार्डले ९ बलमा १० रन जोडे ।
दक्षिण अफ्रिकाका लागि ओटनियर बार्टम्यानले ४ विकेट लिए भने मार्को यानसेन र एनरिच नोर्टजेले २–२ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’