गण्डकी प्रदेशस्तरीय फुटबल : सेमिफाइनल समीकरण पूरा
कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद् र गण्डकी प्रदेश फुटबल सङ्घको आयोजनमा भइरहेको प्रतियोगिताको आज दोस्रो दिनका खेलपछि सेमिफाइनल खेल्ने टोलीको समीकरण निश्चित भएको हो ।
सेमिफाइनलको पहिलो खेलमा म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । आज सम्पन्न भएका क्वाटरफाइनल खेलमा म्याग्दीले स्याङ्जामाथि टाइब्रेकरमा ४–३ को जित निकाल्न सफल भयो । निर्धारित समयमा दुवै टिमको २(२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
स्याङ्जाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।निर्धारित समयमा बलियो मानिएको स्याङ्जालाई म्याग्दीले आक्रामक खेल खेल्दै ३२ मिनेटमा उक्त टोलीका सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेटपछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे ।
खेलको मध्यान्तरपछि स्याङ्जा खेलमा फर्कियो । स्याङ्जाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । कास्कीले आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै नवलपुरविरुद्धको खेल ४(० गोलले जितेको छ ।
खेलको ३३औँ मिनेटमा विक्रम गौतमले नवलपुरविरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिएका थिए । अभिषेक थापाले खेलको दोस्रो हाफमा दुई गोल गरे । उनले ४५ औँ र ४८ औँ मिनेटमा गोल गरे भने ५४औँ मिनेटमा किशन गुरुङले कास्कीका लागि चौथो गोल गरे ।
आयुष खड्काको ह्याट्रिकमा पर्वतविरुद्ध बागलुङले ४–० को सहज जित निकालेको छ । आयुषले खेलको ४२, ४९ र ७८औँ मिनेटमा गोल गरे । यस्तै निश्चल महतले ७१ औँ मिनेटमा चौथो गोल थपेपछि बागलुङले सहज निकालेको हो ।
यसैगरी अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङविरुद्धको खेल ५–० ले जितेको छ । गोरखाविरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्तबहादुर गुरुङले ह्याट्रिक पूरामात्रै गरेनन् उनले चार गोल गरे । सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औँ मिनेटमा एक गोल थपे ।
सङ्घका महासचिव विनोद गुरुङले आइतबार सेमिफाइनलका खेलहरू सञ्चालन हुने जानकारी दिए । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु दुई लाख र उपविजेताले नगद रु एक लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिताबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुने आयोजकले जनाएको छ । प्रतियोगिता यही जेठ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक १० जिल्लाको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का