बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बाघलाई शत्रुजीवको रूपमा व्यवहार नगर्न आग्रह

शनिबार, २६ जेठ २०८१, २० : ४६
शनिबार, २६ जेठ २०८१

बारा । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघलाई शत्रुजीवको रूपमा व्यवहार नगर्न अनुरोध गरेका छन् । 

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जनहित उपभोक्ता समितिको १७ औ वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत खतिवडाले ४/५ महिनाको अवधिमा बारा र पर्सा जिल्लामा मात्रै आधा दर्जन बाघको ज्यान मानिसको कारणले गएको बताएका हुन् ।

‘बाघ भनेको शत्रुजीव हो भनेर पछिल्लो समय मानिसले पशुचौपायको मासुमा विषादी राखेर प्रतिशोधले बाघ मारेको देखियो,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘बाघले आक्रमण गरेर मानिसलाई घाइते बनाएको घटनामा गाउँलेहरू उल्टिएर भाला हानेर बाघ मार्ने अनि वन कार्यालयमा बुझाएर खुसी हुने गरेको घटना हामीकहाँ डरलाग्दो रूपमा देखिएको छ ।’

खतिवडाले सबै बाघ समस्याग्रस्त नभएको भन्दै वन्यजन्तु चोरी तस्करी नियन्त्रण समूह र वन समूहहरूले बाघ बस्तीमा निस्किएको सूचना समयमै दिएर त्यसलाई नियन्त्रण लिन सहयोग गर्न आग्रह गरेका छन् । 

पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रको जग्गाहरू विभिन्न व्यक्ती र उद्योगहरूले अतिक्रमण गरेको विषयमा प्रमुख संरक्षण अधिकृत खतिवडाले वनको जग्गा अतिक्रमण गरेको र किनबेच गरेको सूचना पाए कारबाही गर्ने चेतावनी दिएका छन् । उनले सामुदायिक वन समूहका पदाधिकारीको मिलेमतो देखिए वन मुद्दा लगाएर कारबाही गर्ने बताए । 

‘वन समूहका पदाधिकारीहरूले वन मात्रै होइन वनको खाली जमिनको पनि रक्षा गर्ने भनेर जिम्मेवारी लिनुभएको छ, त्यसलाई संरक्षण गर्न सक्नुभएन भने तपाईँहरूको पनि संलग्नता छ भन्ने बुझिन्छ,’ खतिवडाले भने, ‘जंगलको ऐलानी जग्गा खरिदबिक्री कसैले स्वीकार गरेको छैन, यदि कसैले खरिद गरेको छ भने ठगी मुद्दामा कारबाही हुन्छ,वनको जग्गा बिक्री गर्न कसैलाई पनि कानुनले दिएको छैन ।’

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको जनहित उपभोक्ता समिति अन्तर्गत ४ वटा वन समूहहरू रहेका छन्  । ती वन समूहहरूलाई  इकाईको निर्देशन विपरीत आफूखुसी काम नगर्न निकुञ्जले निर्देशन दिएको छ । 

खतिवडाले निकुञ्जले वन समूहहरूलाई काठ दाउरा वितरणको अनुमति दिए पनि सामुदायिक वनबाट राज्यले एक रुपैयाँ राजस्व नलिएको कार्ययोजना र सिलिङ बमोजिम खर्च गर्न निर्देशन दिएका छन् ।

‘हामीले शतप्रतिशत बजेट खर्च गर्न दिएका छौँ, एक रुपैयाँ पनि कर लिएका छैनौँ,’ उनले भने, ‘वन समूहहरू इकाई अन्तर्गत रहने कानुनमा व्यवस्था छ, तर समूहहरूले समितिका निर्देशनहरू पालना नगरेको देखिएकोले निर्देशन पालना गरेर अगाडी जानुहोला ।’

devnarayan..

सो कार्यक्रममा बारा ४ (क) प्रदेशसभा सदस्य देवनारायण चौधरीले  अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत वन, वन्यजन्तुको संरक्षण सम्बन्धी कार्यक्रमहरू समावेश गर्ने बताएका छन् । प्रदेश सभा सदस्य चौधरीले वनभित्र विभिन्न बहानामा जथाभाबी बाटाहरू निर्माण गर्दा वन मासिने  र वन्यजन्तुहरू पनि असुरक्षित रहने बताएका छन् । 

बारा, पर्सा, मकवानपुर गरी ३ जिल्लालाई ओगटेको पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत १३ वटा इकाई र ४६ वटा वन समूहहरू रहेका छन् । 

जसमध्ये बारा तर्फ २ वटा इकाई ५ वटा वन समूहहरू छ ।  जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले इकाईहरूमा बजेट अभावका कारण संरक्षणको पाटोमा सोचे जति काम गर्न नसकिएको बताएका छन् । उनले लामो समयदेखि व्यक्तिको कब्जामा रहेका  जनजागरण मध्यवर्ती सामुदायिक वन समूहको करिब ४ बिगाहा जग्गा संरक्षण, विद्यालय स्तरको संरक्षण कार्यक्रम र मध्यवर्ती क्षेत्रका ६० वटा टोल समूहका अध्यक्ष र सचिवलाई लेखा र नेतृत्व विकास सम्बन्धी तालिम दिएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप