बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरा-१३ मा सार्वजनिक सुनुवाइ

शनिबार, २६ जेठ २०८१, १९ : ३१
शनिबार, २६ जेठ २०८१

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । 

अधिकांश सहभागीहरूले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् । विशेष गरी ग्रामीण क्षेत्रहरूमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिँचाइ कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुर्व्यसनी बढी भएको लगायत गुनासो गरेका छन् ।

वडा र टोलहरूमा सामुदायिक कुकुरहरूको बिगबिगी बढेको, छाडा चौपायाका कारण खेतीमा असर पुगेको, ग्रामीण क्षेत्रमा फोहोर लिन गाडी नगएको जस्ता गुनासा पनि सहभागीहरूले गरेका छन् । जवाफमा वडाध्यक्ष किरण बरालले सुरुमा राजमार्गको स्तरोन्नतिमा ध्यान दिइएको र बिस्तारै ग्रामीण क्षेत्रसम्म काम हुने बताए । उनले १३ नम्बर वडाबाट पोखराका विभिन्न ठाउँहरूमा सीधै यातायात सेवा लिने गरी यातायात व्यवसायीसँग संवाद गरिरहेको जनाएका छन् ।

यस्तै, सिँचाइ कुलोको मर्मतका लागि पनि सिँचाइ कार्यालयसँग छलफल भएको तर कुनै सम्बोधन नगरिएको गुनासो उनको छ । ‘सिँचाइ कार्यालय हाम्रै वडामा छ । तर कुलोको यो हालत छ । हामीले ध्यानाकर्षण पटक पटक गरायौँ,’ उनी भन्छन्, ‘फेरि डेलिगेसन जान्छौँ । मन्त्रालयसम्म पुग्छौँ ।’ १३ नम्बर वडामा धेरै सिँचाइ कुलोहरू छन् । धेरै कुलोमा गेग्रानका कारण थुनिएर खेतसम्म पानी जान समस्या परेको किसानहरूको गुनासो छ ।

लागू पदार्थ दुर्व्यसनी पहिले भन्दा कम भए पनि नियन्त्रणमा आई नसकेको बरालको भनाई छ । ‘पोखराका धेरै ठाउँमा लागू औषध दुर्व्यसनी र कारोबार समेत भइरहेका छन् । हाम्रोमा पनि त्यो अवस्था छ,’ उनले भने, ‘प्रहरीसँग मिलेर सचेतनाका कार्यक्रम चलाउँछौँ । ठाउँ ठाउँमा सिसी क्यामेरा राखेर नियन्त्रण गर्छौँ ।’ उनले कुकुर र छाडा चौपाया नियन्त्रणका लागि टोल विकास संस्थासँग मिलेर विशेष अभियान चलाइने बताए । ग्रामीण ठाउँहरूमा महिनाको कम्तीमा १ पटक गाडी पठाएर फोहोर सङ्कलन गरिने बरालको प्रतिबद्धता छ ।

पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा वडा सदस्य सरिफ अलि मियाँले स्वागत गरेका थिए भने वडा सचिव अन्जु गुरुङले सेवा प्रवाह र विकास निर्माणका विषयमा प्रस्तुतीकरण राखेकी थिइन् । वडाले हालसम्म ८८ प्रतिशत पुँजीगत बजेट खर्च गरिसकेको तर सम्पन्न भएका योजनाको बजेट नै रोकिएको उनले बताइन् । ‘काम लगभग सबै सकिएको छ । तर बजेट नआउँदा भुक्तानी दिन सकिएको छैन,’ उनले भनिन् । पोखरा १३ नम्बर वडाले पुँजीगत तर्फ ४ करोड १७ लाखको काम गरिसकेको र चालू तर्फ ६६ लाख ९६ हजार मध्ये ४३ लाख ९० हजार खर्च गरेको छ ।

वडाले यो वर्षको हालसम्म २ करोड २४ लाख ४५ हजार राजश्व आम्दानी गरिसकेको छ । गत वर्ष १ करोड ८१ लाख ३८ हजार आम्दानी गरेकोमा यो वर्ष बढेको हो । चालू वर्षमा ८ सय ३२ जनाको जन्मदर्ता, ५८ मृत्युदर्ता, ७७ विवाह दर्ता र ३१ जोडीको सम्बन्ध विच्छेद दर्ता गरिएको छ । बसाइसराइ आउने ५१ परिवार छन् भने जाने १० परिवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप