बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरूकै संलग्नता छ : प्रभु साह

शनिबार, २६ जेठ २०८१, १६ : ४३
शनिबार, २६ जेठ २०८१

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारीका लागि नेपालबाट युवाहरू विभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।  आजपा निकटको आइटी आर्मीको शनिबार काठमाडौँमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् ।

साहले नेपालमा युवाहरू स्वास्थ्य परीक्षण गरी रोजगारका लागि विदेश गइरहेको तर कतिपयको हत्या हुने गरेको बताए ।  ‘हामी देखिरहेका छौँ दिनहुँ विदेशबाट युवाहरूको शव बाकसमा आइरहेको छ । नेपालबाट जानुअघि ती युवाहरूले स्वास्थ्य परीक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ । निरोगिता प्रमाणित भएपछि विदेश पुगेका युवाहरूको लास किन आइरहेको छ, त्यसको जवाफ यो सरकारले दिनुपर्छ । त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ’ साहले भने, ‘एउटा निरोगी युवाको विदेशमा मृत्यु किन भयो ? त्यसको मृत्यु होइन हत्या भएको हो ।’ 

योग्यता, क्षमता अनुसारको रोजगार र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरू रोजगारको खोजी गर्दै खाडी मुलुक पुगिरहेको साहले बताए । तर यहाँका केही  नेताहरूका कारण वैदेशिक रोजगारीमै ठगी भइरहेको  बताउँदै उनले त्यसको पर्दाफास आइटी आर्मीले गर्नुपर्ने बताए । 

‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही  नेताहरूको संलग्नता छ । देश र जनताका लागि राजनीति गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ती नेताहरू मोटाउने र सोझा साझा, निमुखा, गरिब मजदुर र युवाहरू मर्ने दिनको अन्त्य हुनुपर्छ । आइटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारबाही गर्नुपर्छ’ अध्यक्ष साहले भने । 

नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालो धनलाई रेमिटेन्ससँग साटेर विदेश लाने काम भइरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौ रकमको नोक्सानी भइरहेको  बताएका छन् । 

‘नेपालमा भ्रष्टाचार गरी, अनियमितता गरेर, लुटेर राखिएको कालोधन रेमिटेन्ससँग साटेर विदेश गइरहेको छ । हुन्डी कारोवारी मार्फत यस्तो काम भइरहेको सूचना सरकारमा बसेकाहरूसँग पनि छ । तर ती हुन्डी कारोबारीलाई किन कारबाही हुन सक्दैन, म सरकारसँग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरूले आफ्नो कालोधन साट्ने अस्त्र बनाएका छन् । त्यही भएर यहाँ हुन्डी कारोबार फटाएको छ, भ्रष्टहरू मोटाउँदै छन् । त्यस्ता देशद्रोहीलाई अब आइटी आर्मीले ठाउँका ठाउँ जनकारबाही गर्नतर्फ लाग्नुपर्छ ।’ 

आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको आइटी आर्मीकी उपाध्यक्ष सुमन यादवले जनाएकी छन् । 

आइटी आर्मीले विभिन्न माग गर्दै आउँदो २ असारदेखि काठमाडौँस्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिँदैछ । त्यसैको तयारी स्वरूपमा आइटी आर्मीको बैठक काठमाडौँमा बोलाइएको हो । 

आइटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेश÷नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री–भिसा फ्री– टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ । 

‘हामीले हाम्रो मागको बारेमा सरकारलाई ध्यानाकर्षण गराइसकेका छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागको बारेमा ध्यानाकर्षणपत्र बुझाइसकेका छौँ तर विडम्बना यस्तो विषम समस्याको ठोस एवं दीर्घकालिक समाधान गर्नुको सट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेकाले हामी बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ’ आइटी आर्मीकी उपाध्यक्ष यादवले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप