सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

जलवायु परिवर्तनले कृषिमा परेको प्रभाव र यसबाट बच्ने उपाय

शनिबार, २६ जेठ २०८१, १४ : २७
शनिबार, २६ जेठ २०८१

जलवायु परिवर्तन गम्भीर वैश्विक पर्यावरणीय समस्या हो । यसको अध्ययन र अनुसन्धान गर्ने काम व्यापक रूपमा भइराखेको छ । 

सूर्यको किरणहरू जुन पृथ्वीमा पुग्दछन्, यसका केही अंश वायुमण्डल तथा पृथ्वीद्वारा अवशोषित हुन्छन् भने बाँकी पृथ्वीबाट परिवर्तित भएर फिर्ता जान्छन् । वायुमण्डलमा उपस्थित ग्याँसहरू कार्वनडाइअक्साइड, मिथेन, नायट्रसअक्साइड आदिले यिनै परावर्तित विकिरणलाई अवशोषित गर्दछन् । यसबाट ‘ग्रिन हाउस’ जस्तै वायुमण्डल तातो हुन्छ । 

अहिले विभिन्न ग्याँसहरूको लगातार बढिरहेको कन्सन्ट्रेसनको कारण वायुमण्डलको तापक्रम पनि बढिरहेको छ । जसको कारण सम्पूर्ण विश्वमा जुन वातावरणीय परिवर्तन भइरहेका छन् । यसलाई नै ग्लोबल वार्मिङ वा जलवायु परिवर्तन भनिन्छ ।

जलवायु परिवर्तनले सबैभन्दा बढी प्रभाव कृषि क्षेत्रलाई पारेको छ । यसबाट नेपाल अछुतो छैन । नेपालको जैविक विविधता र भूगोल को अवस्था हेर्दा जलवायु परिवर्तनले ठुलो प्रभाव पारिरहेको देखिन्छ । जलवायु परिवर्तनका कारण वर्षाको प्याटर्न देखि तापमानमा फरक परिरहेको छ । 

जलवायु परिवर्तनको दृष्टिले नेपाल विश्वमै अति संवेदनशील देशका रूपमा चिनिन्छ । देशको भौगोलिक बनोट, पूर्वाधारहरूको विकासमा कमी, कृषिनिर्भर अर्थव्यवस्था जस्ता कारणले गर्दा नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित हुने देश हो । हरित गृह ग्यास उत्सर्जनमा नेपालको न्यून हिस्सा भए पनि हामीले यसबाट धेरै नकारात्मक असरहरू खेप्नु परिरहेको छ । 

dhruba-bhattara-2i

  • जलवायु परिवर्तनका कारणहरू

दिनदिनै परिवर्तन भइरहनेलाई मौसम भनिन्छ । जसमा आज एक खालको मौसम हुन्छ भने भोलि नै अर्को खालको मौसम हुनसक्छ । महिना–महिनामा परिवर्तन भइरहनेलाई सिजन भनिन्छ । त्यस्तै वर्ष वर्षमा परिवर्तन भइरहेकालाई क्लाइमेट भेरियावलिटी भनिन्छ । दसौँ वर्षमा, सयौँ वर्षमा जब मौसम परिवर्तन हुन्छ भने त्यसलाई जलवायु परिवर्तन भन्छौँ । जलवायु परिवर्तन विभिन्न तरिकाले भइरहेका हुन्छन् । एउटा हो, प्राकृतिक तरिका । यसमा प्राकृतिक रूपले मौसम परिवर्तनलाई प्रभाव पारिरहेको हुन्छ । जस्तो – वनमा डढेलो लाग्नु, वन विनाश हुनु, भूक्षय हुनु, सोलार साइकलमा परिवर्तन हुनु । 

यस्तै, मानवीय व्यवहार । यसमा मानवले गर्ने विभिन्न क्रियाकलापका कारण असर गरिरहेको हुन्छ । मानवले गर्ने खेती प्रणाली, उसले प्रयोग गर्ने वस्तु, फोहर, ग्याँस, मल खाद्य तथा विषादीको प्रयोगले गर्दा पनि मौसममा परिवर्तन आएको हो । 

७५ प्रतिशत ग्लोबल वार्मिङ कार्बनडाइक्साइडका कारणले भइरहेका हुन्छन् । १७ प्रतिशत मिथेनका कारणले हुन्छ भने बाँकी अन्य ग्यास तथा अन्य कारणले ग्लोबल वार्मिङ हुने गरेको छ । यसले अत्यधिक तापक्रम बढाई दिने, मौसम सुख्खा बनाई दिने, अत्यधिक वर्षा गराई दिने, अत्यधिक चिसो बढाई दिने, असिना पार्ने लगायत असरहरू देखिन्छन् । 

  • कृषिमा प्रभाव

नेपाल २६.२ देखि ३०.१ डिग्री उत्तरी अक्षांश तथा ८०.१५ देखि ८८.२ डिग्री पूर्वी देशान्तरभित्र अवस्थित छ । नेपालको जलवायुलाई मुख्यतया तीन सिजनमा बाँडिएको छ । न्यानो तथा सुख्खा (मध्य फागुनदेखि जेठ), गर्मी तथा आद्र (आषाढदेखि मध्य असोज), चिसो तथा सुख्खा (मध्य असोजदेखि मध्य फागुन) । 

कृषि जन्य उत्पादनका हिसाबले नेपाललाई चार प्रदेश: उष्ण, उपोष्ण, सम–शीतोष्ण र शीतोष्णमा विभाजन गरिएको छ । जलवायु परिवर्तनबाट हाम्रा सिजन, ऋतु र मौसम अनुसार बनाइएका प्रदेशहरू सबै प्रभावित भइरहेका छन् ।

जलवायु परिवर्तनले हाम्रो ऋतु चक्रमा पनि परिवर्तन आइरहेकोले केही बालीहरूमा समय अगावै फूल फुल्ने, फल लाग्ने, रोग तथा किराको प्रकोप बढ्ने जस्ता समस्याहरू देखिएका छन् । अमला, टिमुर, बेल बढी उचाइतिर सर्दै गएका छन् । केही फलफूल र तरकारीहरू पनि उचाइतिर सर्दै गएको पाइन्छ । पहाडतिर कागती, सुन्ताला पहिलेभन्दा अलि छिट्टो फुल्न थालेको भनिएको छ । 

यसले कतिपय अवस्था गुणस्तरमा पनि प्रभाव पारेको छ । जलवायु परिवर्तनका कारण फूल नलाग्ने, फले पनि परिपक्व नहुने, बाँगोटिङ्गो हुने, धान, गहुँ समयमा नपाक्ने, नफल्ने, बोट बिरुवाको वृद्धि नहुने, जस्ता समस्या देखिन्छ । 

कुनै कुनै काँक्रो बाङ्गोटिङ्गो देखिन्छ, यो उच्च तापक्रमले गर्दा हुन्छ । आँप उच्च तापक्रममा त्यति फल्दैन, त्यसका लागि ठिक तापक्रम चाहिन्छ । त्यही भएर पछिल्लो समय पहाडमा पनि आँप फलेको देख्न पाइन्छ । 

रैथाने जात र रैथाने बालीहरूमा खतरा बढेको छ । समग्रमा निर्वाहमुखी  खेती प्रणालीमा निर्भर किसानहरू ठुलो मारमा पर्ने देखिन्छ ।  

यसको सबैभन्दा बढी असर तराईमा देखिएको छ । त्यहाँ तरकारी तथा फलफूललगायत अन्य बालीमा धेरै असर पुर्‍याएको छ । यसले गर्दा कतिपय तरकारी, फलफूल तथा बाली लोप नै भइसकेका छन् । 

जलवायु परिवर्तनले हुने बेमौसमी वर्षाले पनि बालीनालीमा ठुलो असर गरेको देखिन्छ । बेमौसम वर्षाले सबभन्दा बढी क्षति धानमा गरेको छ । 

कृषि बालीका लागि तापक्रम एकदमै संवेदनशील हुन्छ । तापक्रम र अत्यधिक वर्षाका कारण कृषिमा प्रभाव पारेको हुन्छ । उच्च तापक्रम भयो भने कुनै बालीमा चाँडै फूल लाग्छ भने कुनैमा ढिलो लाग्छ । फूलको प्रजनन प्रक्रिया ढिलो हुन्छ । त्यस्तै धेरै चिसो भयो भने पनि बालीको फलमा असर पुग्छ । यसले गर्दा उत्पादनमा ह्रास आउने गरेको छ । 

जलवायु परिवर्तनका कारण रैथाने बालीहरू लोप भइरहेका छन् । रैथाने बालीको ठाउँ अन्य बालीले लिइरहेका छन् । 

जलवायु परिवर्तनका कारण कतिपय अवस्थामा फाइदा पनि भइरहेको हुन्छ । जस्तै, हिमाल, पहाडतिर नयाँ–नयाँ बाली उत्पादन भइरहेका छन् । हिमालतिर धान, गहुँ, मकै कमै उत्पादन हुन्थ्यो । अहिले त्यता पनि उत्पादन हुन थालेका छन् । 

  • जलवायु परिवर्तनबाट बच्ने उपाय 

जलवायु परिवर्तनका कारण कृषिमा देखिएको असरको बारेमा सबैभन्दा पहिले अध्ययन अनुसन्धान गर्न जरुरी देखिएको छ । समग्र कृषिलाई यसको प्रभावबाट कसरी जोगाउने बारे पर्याप्त अध्ययनहरू भएका छैनन् । 

कृषिलाई वातावरणीय प्रभावबाट बचाउनका लागि केही प्रविधिहरूको पनि विकास भएका छन् । जसलाई क्लाइमेटस् स्मार्ट एग्रीकल्चर भनिन्छ । परम्परागत रूपमा भइरहेको खेती प्रणालीमा परिवर्तन हुँदै आइरहेको छ । 

पहिला–पहिला कुन महिनामा के रोप्ने, कस्तो मौसममा के लगाउने कुराको कार्यतालिका नै हुन्थ्यो । सरकारी बुलेटिनमा पनि त्यो आउँथ्यो । तर मौसम परिवर्तनका कारण यसमा पनि परिवर्तन आएको हो । यद्यपि यी कार्यतालिकालाई यथावत् राख्ने हो भने केही प्रविधिहरू किसानले प्रयोगमा ल्याउन सकिन्छ । जसलाई हामीले क्लाइमेटस् स्मार्ट टेक्नोलोजी भन्छौँ । 

कलाइमेट स्मार्ट एग्रिकल्चरको प्रयोगबाट जलवायु परिवर्तन जोखिम न्यूनीकरण गर्न सकिन्छ । कलाइमेट स्मार्ट एग्रिकल्चर शब्दको प्रयोग सन् २०१० मा एफएओको खाद्य सुरक्षा, कृषि र जलवायु परिवर्तनका लागि आयोजित हेग सम्मेलनमा गरिएको थियो । यो जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूलाई समाधान गर्न एउटा सरल दृष्टिकोण हो ।

जलवायु परिवर्तनका कारण कृषिमा देखिएको असरको बारेमा अध्ययन अनुसन्धान गर्न जरुरी देखिएको छ । समग्र कृषिलाई यसको प्रभावबाट कसरी जोगाउनेबारे अध्ययन नेपालमा खासै भएका छैनन् । केही सानातिना अनुसन्धानहरू भए पनि यो क्षेत्रमा ठुलो लगानीको आवश्यकता छ । 

पहिला बनाइएको कृषि कार्यतालिकामा फरक पर्न थालेको छ । यही पुरानो कार्यतालिकालाई यथावत् राख्ने हो भने हाम्रो कृषिमा ठुलो समस्या आउन सक्छ । त्यसैले  कलाइमेट स्मार्ट प्रविधिहरूको विकास र प्रयोग आजको आवश्यकता हो ।  हाल नेपालमा मौसम पूर्वानुमान, सिँचाइ, खाद्य तत्त्व, ऊर्जा आदिलाई ‘स्मार्ट’ बनाउने तथा एकीकृत शत्रुजीव व्यवस्थापन लगायतका रहेका छन् । 

मौसम सल्लाह बुलेटिन अन्तर्गत किसानलाई मौसम पूर्वानुमान र त्यसअनुसार कृषि/बागवानी  कार्य गर्न बल दिइन्छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारले यो सेवा दिइरहेको छ । यो जानकारी प्रत्येक हप्ता इमेल, फेसबुक र नेपाल टेलिभिजनबाट दिइन्छ । 

थोपा सिँचाइबाट कम पानीले थोरै समयमा धेरै क्षेत्रमा सिँचाइ गरी तरकारी– काँक्रो, गोलभेँडा, भेडे खुर्सानी आदिको खेती गर्न सकिन्छ । त्यस्तै, प्लास्टिक पोखरी बनाएर आकाशको पानी सङ्कलन गरेर तरकारी खेती र फलफूल बगैँचामा सिँचाइ गर्न सकिन्छ । 

बहुउद्देश्यीय पानी प्रणाली अन्तर्गत बढी भएको पिउने पानी सदुपयोग गरि घरेलु बगैँचामा सिजन अनुसारको तरकारी खेती गर्न सकिन्छ । 

भकारो सुधार कार्यक्रम अन्तर्गत गोठ सुधार गरी उचित तरिकाले पशुको मलमूत्र सङ्कलन गरि तरकारी र फलफूल खेतीमा प्रयोग गर्न सकिन्छ । पशु मूत्रमा चार भाग पानी मिसाएर तरकारी खेतीमा प्रयोग गर्नु राम्रो मानिन्छ । त्यसैगरि, प्लास्टिक घरले ठुलो पानी र साना असिनाबाट तरकारी खेतीलाई बचाई उत्पादन लिन सकिन्छ । प्लास्टिक घरमा काँक्रा, गोलभेँडा, भेडे खुर्सानी खेती गरि राम्रो आम्दानी लिन सकिन्छ ।

जिरो टिलेज प्रविधिबाट लसुन खेती गर्न सकिन्छ । धान काटी सकेपछि धानको गाँजमा सिसा कलमको साइजको किल्लाले प्वाल बनाई सो प्वालमा लसुनको केस्रा रोपिन्छ । र त्यसमाथि खर वा परालको छोपिदिनुपर्छ । 

समय समयमा माटोको चिस्यान हेरी सिँचाइ दिनु पर्दछ । झारपात हातले गोडी फाल्नु पर्छ । माटो पल्टाउने र चलाउने कम हुँदा कार्बन उत्सर्जन कम हुन्छ । 

पर्यावरणीय सन्तुलनलाई ध्यानमा राख्दै शत्रुजीवहरुको उचित रूपमा व्यवस्थापन गरि स्वास्थ्य बाली उत्पादन लिन अपनाइने प्रविधिलाई एकीकृत शत्रुजीव व्यवस्थापन भनिन्छ । जस्तै–बत्तीको पासो, जालीले पक्रने, टाँसिने पासो, फेरोमिन पासो, घरेलु विषादी आदी । 

मिथेन ग्यास कम उत्पन्न हुने प्रविधिहरू पनि आएका छन् । खाद्य तत्त्व व्यवस्थापन गरेर ग्यास उत्पादन कम गर्न सकिन्छ । कम्पोस्ट मलहरू प्रयोग गर्‍यो भने मिथेन ग्यासहरू कम उत्पादन हुन्छन् । 

अहिले सुख्खा सहने, चिसो सहने र पानी सहने जातका विभिन्न बालीहरू विकास भएका छन् । खेतमा पालै–पालो पानी लगाउने र सुकाउने प्रविधि, बढी ताप सहन सक्ने वर्णशंकर मकैका जातहरु– रामपुर हाइब्रिड ८ र रामपुर हाइब्रिड १० साथै धानका खडेरी सहन सक्ने  सुख्खा धान १ देखि ६ र लेकाली धान १ त्यसैगरि  डुबान सहन सक्ने स्वर्ण सव १, साँवा मसुली सब १,  सेहरांग सब १, गङ्गा सागर १ र २, डुबान र खडेरी दुवै सहन सक्ने बहुगुणी धान १,  बहुगुणी धान २ विकास भएका छन् ।  

आवश्यकता अनुसार त्यस्ता बाली प्रयोग गर्न सकियो भने वातावरणीय प्रभावबाट बच्न सकिन्छ । नार्कले पनि यस्ता थुप्रै अध्ययनहरू गरेका छन् । बाहिरबाट पनि सिफारिस भइरहेका छन् । यता किसानले पनि विकास भएका नयाँ नयाँ जातका भेराइटीहरु प्रयोग गरिरहेका छन् । तर किसानसमक्ष जति पुग्नुपर्ने त्यति पुगिरहेको छैन । यसमा राज्यको ठुलो लगानी आवश्यक देखिन्छ ।  

नार्कले किसानका लागि प्रत्येक हप्ता प्रकाशन गर्ने मौसम बुलेटिनले पनि धेरै सहयोग पुर्‍याइरहेको छ । त्यसमा जलवायु परिवर्तनका कारण कुन बेला कुन बाली लगाउने, कस्तो समय पानी पर्दा वा सुख्खा हुँदा के बाली लगाउने, कहिले कहाँ सुख्खा हुन्छ, कहिले कहाँ पानी पर्छ लगायतका कुराहरू त्यसमा उल्लेख हुन्छ । सावधानीका कुराहरू पनि त्यही बुलेटिनमा हुन्छ । किसानले त्यसलाई प्रयोगमा ल्यायो भने जलवायु परिवर्तनको प्रभावबाट धेरै हदसम्म बच्न सकिन्छ । 

यी माथि भनिएका सबै कुरालाई एकीकृत गरि एउटा ठोस रणनीति बनाउनुपर्छ । यस क्षेत्रमा वृहत् अध्ययनको पनि आवश्यकता छ । देशभरि रहेका क्लाइमेट्स स्मार्ट टेक्नोलोजीहरूलाई एक ठाउँमा कम्पाइल गर्न आवश्यक छ । 

यसको बारेमा चेतना दिनु पनि आवश्यक छ । मौसम परिवर्तन किन हुन्छ, यसले के के कुरामा प्रभाव पारेको हुन्छ,  यसबाट जोगिनका लागि के के गर्न सकिन्छ भन्ने कुराको जानकारी किसानलाई दिनु आवश्यक छ ।

(नार्कका वरिष्ठ वैज्ञानिक एवं राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा.ध्रुवराज भट्टराईसँग गरिएको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. ध्रुवराज भट्टराई
डा. ध्रुवराज भट्टराई
लेखकबाट थप