मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

समाजवादको एजेन्डा विना एमाले टिक्न सक्दैन : झलनाथ खनाल

शनिबार, २६ जेठ २०८१, १४ : १८
शनिबार, २६ जेठ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले समाजवादको एजेन्डा विना एमाले टिक्न नसक्ने बताएका छन् । एमालेले जबजलाई भजाएर हिँडिरहेको बताउँदै उनले अब समाजवाद विना एमाले पनि टिक्न नसक्ने उनले टिप्पणी गरे ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिवारबाट सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले पछिल्लो समय कम्युनिस्ट पार्टीहरूमा दक्षिणपन्थी अवसरवाद हाबी भएको टिप्पणी गरे । उनले दक्षिणपन्थी अवसरवाद कै कारण दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा दुई पटक विघटन गरेको आरोप लगाए ।

‘अब सबै दलले समाजवादलाई मुख्य मुद्दा बनाउनुपर्छ । एमालेले जबज मात्र भनेर हुन्न । आजसम्म त जबज भनेर आइरहेको छ अब समाजवादलाई मुद्दा नबनाउने हो भने एमालेलाई पनि टिक्न गाह्रो छ । ढिलो चाँडो एमाले पनि समाजवादको मुद्दामा आउँछ’ उनले भने, ‘कम्युनिस्ट पार्टीहरूमा दक्षिण पन्थी अवसरवाद हाबी भएको छ । त्यसैको उपज हो दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकार ढालेर खड्गप्रसाद शर्मा ओलीले दुई पटक संसद् विघटन गरेको ।’

एमाले विभाजन र विद्रोहको औचित्य पुष्टि गर्न समेत बाँकी रहेको उनले बताए । नेता खनालका अनुसार दक्षिणपन्थी अवसरवाद र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि एमालेले विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन भएको हो । वर्तमान समयमा साम्राज्यवादी शक्तिहरू निरन्तर कमजोर भइरहेको उनले बताए । साम्राज्यवादी शक्ति कमजोर बन्दै गएको तर केही आक्रामक बन्दै गइरहेको उनको भनाई छ ।

‘साम्राज्यवादी शक्ति विषेशगरी अमेरिकी साम्राज्यवादका कारण विभिन्न देशमा युद्धहरू भइरहेको छ । युक्रेन र रुस बिचको युद्ध पनि साम्राज्यवादी शक्तिहरूको कार्य हो । सो युद्ध पूर्वीय र पश्चिमा शक्तिहरू बिच टकराब हो । इजरायल र प्यालेस्टाइन युद्ध पनि अमेरिकी साम्राज्यवादको कार्य हो’ उनले भने ।

नेता खनालका अनुसार हाल चीन समाजवादी शक्तिका रूपमा विकसित भइरहेको उनले बताए । चीन आर्थिक सामाजिक रूपमा समाजवादी शक्तिका रूपमा अघि बढिरहेको उनले बताए । चीनलाई कमजोर पार्न अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको उनले आरोप लगाए । चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमिमा सैनिक अड्डा बनाउने रणनीति बनाएको उनको भनाई छ । अमेरिकाले एमसीसी र एसपीपी परियोजना मार्फत नेपाली भूमिमा सैन्य अड्डा बनाउने काम गरिरहेको खनालको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप