सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका

शनिबार, २६ जेठ २०८१, १२ : ०६
शनिबार, २६ जेठ २०८१

काक्रेविहार । जाजरकोटको भेरी नगरपालिकाले परीक्षणकाे रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले  उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो । 

भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिए ।

उन्नत जातको बीउ उत्पादनको काम सफल भई किसानहरूले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उनले बताए । भेरी नगरपालिकाको किसानहरूलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भ्रमणमा जाने गरिएको उनले जानकारी दिए ।

भेरी नगरपालिकाबाट उन्नत जातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भई बजारीकरणको काम समेत भइरहेको उनले बताए । हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमा जस्तो सहज नभएको अधिकारीले बताए ।

भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती ,मनकामना–३ जातको– भेरी नगरपालिका ७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउँदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका ३ होलुज्यूलामा १० हेक्टरमा लगाउँदै आएको अधिकारीले बताए ।

भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ,प्याज,रायो,मुला,केराउ र सिमी लगायतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भइरहेको उनले जानकारी दिए ।

हाल रामपुर हाइब्रिड १० र १२ तथा सृजना टमाटरको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप