जोखिममा रहेका ३७ जना बालबालिकाको उद्धार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले ३७ जना बालबालिकाको उद्धार गरेको छ । सो टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरी ६ वटा संरक्षण गृहहरूमा पठाएको छ ।
शुक्रवार बसेको ‘महानगर बाल अधिकार समिति’ को बैठकमा बाल उद्धार टोलीले यससम्बन्धी जानकारी गराएको छ । उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटेल, होस्टल र यातायात क्षेत्रमा आबद्ध रहेको बताइएको छ ।
जोखिममा रहेका बालबालिकाहरूलाई रातो, पहेँलो र हरियो वर्गमा राखिने गरिएको छ । १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिंसा तथा दुर्व्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ ।
दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौच गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो वर्गमा राखिन्छ ।
मायालु व्यवहार र बोली बचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो वर्गमा राखिएको छ । यीमध्ये अहिले रातो वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको उद्धार टोलीले जनाएको छ ।
बालबालिकाहरूको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटेल रेस्टुरेन्ट तथा होस्टलमा रहेका बाल श्रमिक र आफ्ना नातागोता बाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिकासम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्था पत्ता लगाएका हुन् । यस कार्यका लागि ३१ जना इन्टर्नहरु खटिएका छन् ।
यसरी प्राप्त विवरण र बालबालिकाबाट प्राप्त जोखिममा परेको सूचनाका आधारमा खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरीसहित सरोकारवालासहितको बाल उद्धार कार्यदलमार्फत शोषण, दुर्व्यवहार र जोखिममा परेका बालबालिकाको उद्धार गरिने गरिएको छ । उद्धार गरेर ल्याइएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षण दिइन्छ । संरक्षण गृहमा बालबालिकाले भोग्नुपरेका समस्याहरू सुन्ने, मन परामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता प्रदान गरिन्छ ।
यसपछि बालबालिकाका अभिभावकको खोजी गरिन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनर्स्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिने, परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउँदा बालबालिकाको सर्वोत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ ।
हिंसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हकहित र अधिकारको सम्मान, संरक्षण, प्रवर्धन, बालशोषण जस्ता आपराधिक कार्य गर्ने अपराधीलाई न्यायिक प्रक्रियाबाट उचित दण्ड जरिवाना, शोषणमा परेका बालबालिकालाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्ने कार्यहरू बाल संरक्षणका दायित्व हुन् ।
नीतिमा बालबालिकाको आवाज
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं महानगर बालअधिकार समितिकी संयोजक सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि तर्जुमा गर्ने नीतिमा बालबालिकाको आवाज सुनिश्चित गर्ने बताएकी छन् । बैठकमा उनले बालबालिकाका लागि बनाइने नीतिमा बालबालिकालाई नै सहभागी गराउनुपर्ने बताइन् ।
‘बालबालिका वचावट, बाल संरक्षण र बाल अधिकारका लागि कुनै पनि सम्झौता, ढिलाइ वा प्रतिक्षा हुँदैन । तत्काल गर्नुपर्छ’ उनले भनिन्, ‘वडा बाल समिति तत्काल गठन गरौँ । बाल कोष स्थापना, सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाऔँ । आचारसंहिता जारी गरौँ ।’
बैठकले महानगरपालिकाभित्र रहेका बाल संरक्षण, बाल अधिकारको प्रचलन, प्रवर्धन र विकासका क्षेत्रमा क्रियाशील निकायलाई तथा सङ्घसंस्थालाई सूचीकरण गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘बालबालिकाको संरक्षणात्मक कार्य हाम्रो दायित्व हो । यसका लागि सरोकारवाला निकाय र सङ्घसंस्थाहरू सँगै हिँड्नुपर्छ ।’ छलफलमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले, बालबालिकाका लागि छुट्टै हटलाइन टेलिफोन व्यवस्था गर्नु पर्ने सुझाव दिए ।
महानगर बाल अधिकार समिति
कार्यविधिको व्यवस्थाअनुसार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘महानगर बाल अधिकार समिति’ गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरूबाट उपप्रमुखले तोकेका २ जना सदस्य, राष्ट्रिय बाल अधिकार परिषद्को प्रतिनिधि सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्