बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

फारुकी र रासिदसामु निरीह बन्यो न्युजिल्याण्ड

शनिबार, २६ जेठ २०८१, ०८ : ३१
शनिबार, २६ जेठ २०८१

गुयाना । कप्तान रासिद खान र फजलहक फारुकीको घातक बलिङ र रहमानुल्लाह गुरबाजको विस्फोट ब्याटिङको मद्दतले अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रियमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलो अवसर पनि हो ।

afghanistan

१ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५.२ ओभरमा ७५ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जित हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो ।

rasid khan

न्युजिल्याण्डलाई सस्तोमा समेट्न खानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र १७ रन खर्चिए । त्यस्तै, फारुकीले ३.२ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । मोहम्मद नाबीले दुई विकेट लिए ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । गुरबाज र जादरानले १ सय ३ रन जोड्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । 

जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भएपछि उक्त साझेदारी तोडिएको थियो । उनले यसक्रममा ३ चौका र २ छक्का प्रहार गरे ।

टोलीका लागि गुरबाजले सर्वाधिक ८० रन बनाए । बोल्डको बलमा बोल्ड हुनअघि उनले मात्र ५६ बलमा ५ चौका र ५ छक्का हिर्काए । उनी जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

अज्मतुल्लाह ओमरजाईले १३ बलमा २२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का प्रहार गरे । कप्तान रासिद खान ६ रन बनाएर आउट भए । 

खेलमा न्युजिल्याण्डले विपक्षी टोलीका ब्याटरले आउट गर्ने थुप्रै अवसरहरु गुमाएको थियो । टोलीले क्याच र रनआउट गर्ने अवसरबाट चुक्यो ।

न्युजिल्याण्डका लागि ट्रेन बोल्टर म्याट हेनरीले २–२ विकेट लिए । लोकी फर्गुसनले १ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप