बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

एक अर्कालाई जिल्ल्याउँदै दोस्रो जित निकाल्ने योजनामा दक्षिण अफ्रिका र नेदरल्यान्ड्स

शनिबार, २६ जेठ २०८१, ०६ : ३१
शनिबार, २६ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शनिबार नेदरल्यान्ड्सले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दै छ । उक्त खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा छन् । नेपाल, श्रीलङ्का र बङ्गलादेश पनि त्यही समूहमा रहेका छन् । जारी विश्वकपमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । नेदरल्यान्ड्सले भने आफ्नो पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको थियो । त्यसैले शनिबार हुने खेलमा यी दुबै टोली एकअर्कालाई हराउँदै सुपर–८ चरणमा पुग्ने सम्भावना बलियो बनाउने धुनमा रहने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र नेदरल्यान्ड्स १५औँ स्थानमा छन् । दक्षिण अफ्रिका र नेदरल्यान्ड्स दुबै अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपको नवौँ संस्करणमा उपस्थित भएका हुन् ।

दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, दक्षिण अफ्रिका हालसम्म टी–२० विश्वकपको सेमिफाइनल चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

दक्षिण अफ्रिका सबैभन्दा पहिले सन् २००९ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पाकिस्तानले सात रनले हराएको थियो । त्यसपछि सन् २०१४ मा पनि दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । त्यतिबेला सेमिफाइनलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले हराएको थियो ।

त्यसयता दक्षिण अफ्रिका टी–२० विश्वकपको सेमिफाइनलसम्म पनि पुग्न सकेको छैन । अर्कोतिर, टी–२० विश्वकपमा नेदरल्यान्ड्सको यो छैटौँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो ।

तर, नेदरल्यान्ड्स टी–२० विश्वकपमा सुपर–१२ चरणभन्दा अगाडि बढ्न सकेको छैन । नेदरल्यान्ड्स सन् २०२२ मा सम्पन्न टी–२० विश्वकपमा सुपर–१२ चरणमा पुगेको थियो । त्यतिबेला डच टोली सुपर–१२ चरणमा आफूले खेलेको पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा हालसम्म ४१ खेल खेलिसकेको छ । त्यसमध्ये दक्षिण अफ्रिका २५ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यसैगरी नेदरल्यान्ड्सले हालसम्म टी–२० विश्वकपमा कुल २४ खेल खेलेको छ । नेदरल्यान्ड्स त्यसमध्ये १० खेलमा विजयी र १३ खेलमा पराजित भएको छ । नेदरल्यान्ड्सको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबिच हालसम्म दुई खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा दक्षिण अफ्रिका र एक खेलमा नेदरल्यान्ड्स विजयी भएका छन् । पछिल्लो पटक सन् २०२२ को नोभेम्बर ६ तारिखमा यी दुई टोली आपसमा भिडेका थिए ।

त्यो खेलमा नेदरल्यान्ड्स १३ रनले विजयी भएको थियो । नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय एक सय ४५ रनमात्र बनाउन सकेको थियो ।

त्यसअघि सन् २०१४ को टी–२० विश्वकपमा यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यतिबेला दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ६ रनले हराएको थियो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने १८.४ ओभरमा अलआउट हुनुअघि एक सय ३९ रनमात्र बनाउन सकेको थियो । त्यो खेल टी–२० विश्वकपको सुपर–१० चरणमा खेलिएको थियो । दक्षिण अफ्रिका त्यो विश्वकपको सेमिफाइनलमा पुगेको थियो ।

दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबिचको खेल हुने न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालाको पिचको विषयलाई लिएर भने निकै बिबाद हुँदै आएको छ । यो स्टेडियममा हालसम्म खेलिएको खेलमा निकै कम रन बनेको छ भने खेलाडी पनि घाइते हुँदै आएका छन् ।

आयरल्यान्ड र भारतबिचको खेल पनि यही स्टेडियममा खेलिएको थियो । त्यो खेलपछि भने यो रङ्गशालाको पिचको विषयलाई लिएर झनै बढी आलोचनात्मक टिप्पणी सुरु भएको थियो । यो स्टेडियमको पिचको विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल पनि चिन्तित देखिएको छ ।

यो स्टेडियमका ‘ड्रप ईन’ पिच प्रयोग गरिएको छ । यसको अर्थ हुन्छ, अस्थायी रूपमा प्रयोग गरिएको पिच । केही स्टेडियममा अन्य खेलका गतिविधि पनि हुन्छन् । यस्तो अवस्थामा त्यो स्टेडियममा क्रिकेटको कुनै प्रतियोगिता आयोजना गर्नु प¥यो भने बाहिरबाट ल्याइएको पिच प्रयोग गरिन्छ । खेल सकिएपछि त्यो पिच स्टेडियमबाट हटाइन्छ ।

हाल जारी टी–२० विश्वकपमा नासाउ काउन्टी स्टेडियममा पनि यस्तै ‘ड्रप ईन’ पिच प्रयोग गरिएको छ । तर, नासाउ काउन्टी स्टेडियमका पिचमा भने बल आवश्यक्ताभन्दा बढी बाउन्स हुने गरेको छ । सोही कारणले आयरल्यान्डविरुद्धको खेलमा भारतीय टोलीका केही खेलाडी घाइते पनि भएका थिए ।

खेलका क्रममा भारतीय टोलीका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई चोट लागेको थियो । रोहित त ‘रिटायर्ड हर्ट’ हुँदै मैदानबाट बाहिरिएका पनि थिए । यही स्टेडियममा जुन ९ तारिखमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच पनि भिडन्त हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप