मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
राष्ट्रिय महाधिवेशन

माधवलाई टक्कर दिने झलनाथको तयारी, अध्यक्षमा दाबेदारी

शुक्रबार, २५ जेठ २०८१, १९ : ५९
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को असार (१६–२०) सम्म काठमाडौँमा हुने १० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वमा दोहोरिने योजना बनाइरहेको समयमा खनालले उनलाई टक्कर दिने भएका हुन् ।

दक्षिणपन्थी अवसरवाद अन्त्य गरी क्रान्तिकारी समाजवादी कार्यक्रमलाई लागु गर्न उम्मेदवारी दिन लागेको खनालले बताएका छन् । एमालेबाट विद्रोह गरेको फगत पद नमिलेर वा संविधानमाथि हमला भएरमात्र नभइ तत्कालीन नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादविरूद्ध विद्रोह गरिएको उनको दाबी छ । तर विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको खनालको भनाइ छ ।  

बिहीबार रातोपाटीसँग खनालले अगाडि भने, ‘यसमा राजनीतिक, सैद्धान्तिक, वैचारिक, संगठनात्मक, कार्यशैली र नीतिगत पक्ष छ । यी कुरामा मतभिन्नता भएका कारणले विद्रोह भएको हो । यो विद्रोहलाई त्यो धरातल र उचाइबाट अझै पुष्टि गर्ने काम हुन सकेको छैन । महाधिवेशनमा यो कुरालाई पुष्टि गर्नुपर्ने आवश्यकता छ ।’

महाधिवेशनबाट फेरि अध्यक्षमा दोहोरिन माधव नेपालले भित्रभित्रै तयारी तीव्र पारिरहेका छन् । मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद(जबज) अहिले पनि उत्तिकै सान्दर्भिक भएको नेपालले बताउँदै आएका थिए । तर जेठ २० गते महाधिवेशन तयारी सम्बन्धमा राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले महाधिवेशनको दस्तावेज सर्वसम्मतिबाट अगाडि सारिएको स्पष्टीकरण दिए ।

‘हामीले राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादी कार्यक्रम, सङ्गठनात्मक प्रस्ताव र विधान सर्वसम्मतिबाट अगाडि सारिएको हो । पार्टीको केन्द्रीय समितिबाट आएको सुझावलाई समेटेर मस्यौदा समितिले यी दस्तावेज बनाएका थियौँ । सर्वसम्मतिबाट दस्तावेज अगाडि सारिरहेका छौँ’, पत्रकार सम्मेलनमा उनको स्पष्टिकरण थियो । नेतृत्व चयनमा उनले सर्वसम्मत हुनुपर्नेमा जोड दिएका थिए ।

पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठले नेतृत्व चयनको विषयमा नीति र नेतृत्वको बहस महाधिवेशनमै हुने बताए । समाजवादी कार्यक्रम लागु गर्ने सम्बन्धमा कसैको दुई मत नभएको भन्दै उनले मार्गदर्शक सिद्धान्तमा मदनले प्रतिवादन गरेको जबजको सान्दर्भिकता अन्त्य नभएको जिकिर गरे । तथापि नीति र नेतृत्वको विषयमा नेपाल र खनालबिच टकराव देखिएको उनले स्वीकार गरे ।

‘नीति र नेतृत्वको बहस गर्ने थलो महाधिवेशन हो । पार्टीले अहिले सर्वसम्मत रूपमा एउटै दस्तावेज अगाडि सारेको छ । यो महाधिवेशनले पहिलो कुरा नीति, विचार र कार्यक्रमको टुङ्गो लगाउँछ । अर्को, नेतृत्वको विषयमा सकेसम्म सर्वसम्मत हुन्छ, नभए प्रतिस्पर्धाबाट टुङ्गो लाग्छ । नेतृत्वको विषयमा म अहिले नै टकराव भयो भन्ने पक्षमा छैन । तर केही मतभेद छन्’, श्रेष्ठले भने ।

नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच खुला रूपमै तयारी चलिरहेको छ । खनाल र नेपालबिच पार्टी नेतृत्वको विषयमा मात्रै नभइ सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा पनि उत्तिकै विवाद देखिएको छ ।

यसो त आम कार्यकर्तामाथि अत्यन्त गहिरो विश्वास रहेकाले महाधिवेशनमा जित्ने खनालको दाबी छ । मधेस प्रदेशबाहेक सबै प्रदेशमा आफ्नो पक्षमा बहुमत रहेको उनले दाबी गरे ।  

‘नेता तथा कार्यकर्ताहरू समाजवादी कार्यदिशामा समर्पित भएर लागेका छन् । नीति र नेतृत्वको बिचमा समन्वय गर्दै एउटा क्रान्तिकारी नेतृत्व निर्माण गर्ने कुरालाई कुनै कुराले पनि रोक्छ भन्ने लाग्दैन’, उनले भने ।  

खनालले नीति र नेतृत्वबिच तालमेल नभए कम्युनिस्ट आन्दोलनमा ठुल्ठुला विग्रह भएको उदाहरण प्रस्तुत गरे । यो महाधिवेशनमा आफूले प्रस्ताव गरेको नीति र नेतृत्वबिच तालमेल भएर अनुमोदन हुनेमा उनको विश्वास छ ।

‘नीति र नेतृत्वबिच तालमेल नमिल्दा नेपालको कम्युनिस्ट आन्दोलनमा ठुल्ठुला विग्रह भएको छ । ०१४ सालको दोस्रो महाधिवेशन र नवौँ महाधिवेशन यसको साक्षी हो । हामीले यी दुई घटनाबाट शिक्षा लिएर १० औँ महाधिवेशनमा जाँदैछौँ । जसमा नीति र नेतृत्वबिच तालमेल भएर अगाडि बढ्ने मलाई विश्वास छ’, खनालले भने ।  

विद्रोहपछि क्रान्तिकारी पार्टी निर्माणमा नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो नभएको खनालको बुझाइ छ । सैद्धान्तिक, वैचारिक र नीतिगत रुपमा असान्दर्भिक भइसकेको जबजले समाजवादी कार्यक्रम लागु गर्न नसक्ने उनको तर्क ।

नेतृत्वको कमजोरीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई ठुलो धक्का लागेको पनि खनालले बताए । दक्षिणपन्थी गठबन्धन बनाएर जानुको सट्टा आवश्यकता अनुसार विचार मिल्नेसँग तालमेल गरी एकल प्रतिस्पर्धा गरेको भए प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले राष्ट्रिय मान्यता पाउने उनको दाबी छ । एमसीसी अनुमोदनमा नेतृत्वले खेलेको भूमिका निकै कमजोर भएको उनको विश्लेषण छ ।

‘नीति, सिद्धान्त, कार्यक्रम, निर्वाचन, एमसीसी लगायत राष्ट्रिय अजेण्डामा नेतृत्वले जुन पहलकदमी गर्नुपर्थ्यो, त्यसो भएन । यी सबै कमीकजोरीका विषयमा महाधिवेशनमा गम्भीर बहस गर्छौं’, खनालले भने, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने, नभए निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धा गर्नेछौँ । पदाधिकारीसहित प्यानल बनाउने कि नबनाउने विषयमा महाधिवेशनको बेलामा नै तय गरिने छ ।’

महाधिवेशनमा करिब १४ सयदेखि १५ सयको हाराहारीमा प्रतिनिधि छानिएर आउने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतिनिधिको विषयमा अन्तिम टुङ्गो केही दिनमा लाग्ने उनले बताए । एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनमा एमालेका वर्तमान अध्यक्ष केपी ओलीलाई पराजित गरी खनाल पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष भएका थिए । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि महासचिव भएका नेपाल २०६४ सालसम्म नेतृत्वमा थिए । संविधानसभा निर्वाचनमा काठमाडौँ र रौतहट दुवै क्षेत्रमा पराजित भएपछि उनले राजीनामा दिएका थिए ।

काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशनमा नेपाल ओलीसँग झिनो मतले पराजित भएका थिए । २०७७ साल पुस ५ मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि पार्टीभित्रको विवाद झाङ्गिदै जाँदा नेपाल र खनाल २०७८ भदौ २ गते एमालेबाट अलग भएका थिए । अर्को वैकल्पिक पात्र खडा नभए वा सर्वसम्मत नेतृत्व चयनमा सहमति नभए नेपाल र खनालबिच पहिलो पटक महाधिवेशनमा प्रतिस्पर्धा हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप