बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्वकप विशेष

टी–२० विश्वकपमा श्रीलंकालाई पहिलो पटक हराउने धुनमा बंगलादेश

शुक्रबार, २५ जेठ २०८१, १९ : ४१
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शनिबार दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेशबिच भिडन्त हुँदैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेयरी स्टेडियममा नेपाली समय अनुसार, विहान ०६ः१५ बजे सुरु हुनेछ ।

श्रीलंका र बंगलादेश प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । त्यो समूहमा नेपाल, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स पनि छन् । यसअघि समूह ‘डी’ को दुई खेल खेलिसकिएको छ । उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

अर्को खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो । समूह ‘डी’ मा बंगलादेश बाहेक सबै टोलीले एक–एक खेल खेलिसकेका छन् । बंगलादेशले भने एक खेल पनि खेलेको छैन । उक्त समूहमा दुई अंकसहित दक्षिण अफ्रिका पहिलो र समान अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छन् ।

अन्य टोलीले भने खाता खोल्न सकेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौँ र बंगलादेश नवौँ स्थानमा छन् । यी दुवै राष्ट्रको वरीयतामा भने खासै अन्तर देखिँदैन ।

श्रीलंका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपमा छनोट भएको हो । बंगलादेश भने आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा सिधै विश्वकपमा सहभागी भएको हो । श्रीलंका टी–२० विश्वकपको पूर्वविजेता पनि हो ।

श्रीलंकाले सन् २०१४ मा सम्पन्न टी–२० विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो । यसदेखि बाहेक पनि दुईपटक श्रीलंका टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।

सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा पाकिस्तानले श्रीलंकालाई आठ विकेटले हराएको थियो । त्यसपछि सन् २०१२ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो ।

बंगलादेश भने टी–२० विश्वकपको ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेको छैन । बंगलादेश सन् २००७ को टी–२० विश्वकपमा ‘सुपर–८’ चरणसम्म पुगेको थियो । श्रीलंकाले टी–२० विश्वकपमा हालसम्म ५२ खेल खेलिसकेको छ ।

त्यमध्ये श्रीलंका ३१ खेलमा विजयी र २० खेलमा पराजित भएको छ । श्रीलंकाको एक खेल बराबरीमा सकिएको छ । बंगलादेशले हालसम्म टी–२० विश्वकपमा ३८ खेल खेलेको छ । बंगलादेश त्यसमध्ये नौ खेलमा जि र २८ खेलमा पराजित भएको छ । बंगलादेशको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

श्रीलंका र बंगलादेशबिच हालसम्म १६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ११ खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको छ । बाँकी पाँच खेलमा भने बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।

टी–२० विश्वकपमा भने हालसम्म श्रीलंका र बंगलादेशबिच दुई खेल खेलिएको छ । ती दुवै खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको छ । सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणमै यी दुई टोलीबिच भिडन्त भएको थियो ।

पहिलो संस्करणमा श्रीलंकाले बंगलादेशलाई ६४ रनले पराजित गरेको थियो । त्यसपछि सन् २०२१ को टी–२० विश्वकपमा यी दुई टोलीबिच पुनः भिडन्त भएको थियो । त्यो खेलमा श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले हराएको थियो ।

पछिल्लो समय यी दुवै टोलीको प्रदर्शन उस्तै देखिन्छ । बंगलादेश आफूले खेलेका पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । श्रीलंका पनि पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ ।

टी–२० विश्वकप सुरु हुनुअघि आईसीसीले सहभागी सबै टोलीका लागि दुई–दुईवटा औपचारिक अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको थियो । आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकाली टोली नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

दोस्रो अभ्यास खेलमा भने श्रीलंकाले आयरल्यान्डलाई ४१ रनले हराएको थियो । अर्कोतिर, बंगलादेश र अमेरिकाबिच हुने भनिएको पहिलो औपचारिक अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो । दोस्रो अभ्यास खेलमा बंगलादेशी टोलीलाई भारतले ६० रनले हराएको थियो ।

श्रीलंका र बंगलादेशबिच खेल हुने डालासस्थित स्टेडियमको पिच अनौठो प्रकृतिको रहेको छ । यो पिचमा अमेरिका र क्यानडाबिचको खेल खेलिएको थियो । त्यो खेलमा दुवै टोलीले विशाल योगफल तयार पारेका थिए ।

क्यानडाले दिएको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमै केवल तीन विकेट गुमाएर पुरा गरेको थियो । जबकि सोही स्टेडियममा खेलिएको नेपाल र नेदरल्यान्ड्सबिचको खेलमा नेपाली टोली एक सय ६ रनमै अलआउट भएको थियो । नेदरल्यान्ड्सले पनि १८.४ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

बंगलादेशको सम्भावित टोलीमा नजमुल होसैन सान्तो (कप्तान), तानजिद हसन, सौम्य सरकार, तोहिद हृदोय, सकिब अल हसन, महमुदुल्लाह, जाकेर अली (विकेटकिपर), महेदी हसन, रिसाद होसैन, तानजिम हसन र मुस्तफिजुर रहमान रहेका छन् ।

यसैगरी श्रीलंकाको सम्भावित टोलीमा वानिन्दु हसरंगा (कप्तान), पाथुम निसानका, कुशल मेन्डिस (विकेटकिपर), कामिन्दु मेन्डिस, सादिरा सामराविक्रमा, चरिथ असालंका, एन्जेलो म्याथ्युज, दासुन सानका, महिस थिक्सना, मथिसा पाथिराना र नुवान थुसरा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप