मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन संसदीय छानबिन विशेष समितिको आग्रह

शुक्रबार, २५ जेठ २०८१, १८ : ०९
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवेदनहरु उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो । 

सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन उपलब्ध गराउनका लागि सम्बद्ध सबै पक्षलाई असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । 

बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल सुरु गरिएको छ । त्यसलाई अन्तिम रूप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरूसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताए । 

बैठकमा सचिवालयले तयार पारेको प्रस्तावमा पनि सदस्यहरूले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रूपमा सुझाव दिने सहमति भएको छ । कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमति पनि बैठकले गरेको विशेष समितिले जनाएको छ ।

समितिको यसअघि बसेको बैठकले सचिवालयलाई कार्यविधिका लागि मस्यौदा पेस गर्न निर्देशन दिएको थियो । सोही अनुसार शुक्रबारको बैठकमा कार्यविधि पेस भएको र त्यसमा छलफल पनि सुरु गरिएको छ । सभापति थापाले प्रस्तावित कार्यविधिमा कार्यतालिका पनि समावेश गरिएको र तोकिएकै समितिमा आफ्नो काम सम्पन्न गर्ने गरी समितिले कामलाई अघि बढाउने पनि बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप