शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
लोकदोहोरी विवाद

छाडा लोकदोहोरी गाउनेमाथि प्रतिष्ठानको एक्सन, बखेडा झिकेर उल्टै चुनौती

राज्यबाट कारबाही गराउँछौँ : अध्यक्ष थापा
शुक्रबार, २५ जेठ २०८१, १६ : ३४
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । छाडा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले एक दर्जन सदस्यलाई स्पष्टीकरण सोधेपछि विवाद सतहमा आएको छ ।  अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्‍याउने गायन प्रस्तुति दिएको भन्दै प्रतिष्ठानले बिहीबार शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुइली’, रिया खड्का, शङ्कर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ‘जीएम’ लाई स्पष्टीकरण सोधेको थियो । 

‘कथित लोकदोहोरी गीतको नाममा प्रकाशित श्रव्य दृश्यले समाज, संस्कृति र समग्र लोक सङ्गीत क्षेत्रलाई पारेको नकारात्मक प्रभावप्रति सचेत गराउँदै उक्त श्रव्य दृश्य युट्युब लगायत सामाजिक सञ्जालबाट हटाई आगामी दिनमा त्यस प्रकारका गतिविधि नगर्न नगराउन सचेत गराउँछौँ’, अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । 

 पत्रमा नेपाली मौलिक लोक तथा दोहोरी गीतको सम्मान गर्दै आगामी दिनमा त्यस प्रकारका कार्य नगर्ने नगराउने लिखित प्रतिबद्धता ७ दिन भित्र प्रतिष्ठानको केन्द्रीय कार्यालयमा दाखिला गर्न पनि अनुरोध गरिएको छ । पत्रको बेवास्ता गरिएमा थप कारबाही प्रक्रियाका लागि प्रतिष्ठान बाध्य हुने चेतावनी समेत दिइएको छ । 

प्रतिष्ठानको एकै ब्यहोराको स्पष्टीकरण पत्र पाएकामध्ये केही कलाकारले प्रतिष्ठानलाई कार्यसमितिकै सदस्यले विकृति भित्र्याउन सिकाएको आरोप लगाएका छन् । उनीहरूले पहिले संस्थाका कार्यसमितिका व्यक्तिलाई कारबाही गरेर देखाउन चुनौती समेत दिएका छन् ।

स्पष्टीकरण परेकी कलाकार रिया खड्काले संस्थाकै पदाधिकारीले छाडा गीत गाएको भन्दै कारबाही गरेर देखाउन चुनौती दिइन् । ‘यो स्वागतयोग्य काम गर्नु भन्दा पहिला अध्यक्ष रिता थापाज्यूलाई ध्यानाकर्षण गराउन र कारबाही गर्न माग गर्न चाहान्छौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन् ‘पहिला तपाईँको संस्थाकै उपाध्यक्ष खुमन अधिकारलाई कारबाही गर्नुस् । किनकि हानहान दोहोरीमा ¥याप भनेर गीत गाएर हामीलाई सिकाएको तपाईँ कै संस्थाका कलाकारले हो ।’

 उनले संस्थाका महासचिव शिव हमाल, पूर्णकला बिसी, बद्री पङ्गेनी लगायतलाई समेत कारबाही गरेर देखाउन उनले चुनौती दिएकी छन् । ‘यति धेरै गनाउँदा पनि नजिकैको गन्ध थाहा नपाउने तपाईँको कार्यसमितिले झन् टाढाको गन्ध नसुँघेकै राम्रो । पहिला आफ्नै घरको कसिङ्गर बढार्नुस्’, उनको आक्रोश छ, ‘अनि हामी आफ्नो घरको कसिङ्गर आफै बढार्छौँ ।’

प्रतिष्ठानका १२ जनामध्ये केहीलाई प्रत्यक्ष दोहोरी र केहीलाई अफिसियल गीतमा विकृति भित्र्याएको भन्दै स्पष्टीकरण सोधिएको हो । शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुइली’, रिया खड्का, तारा थापालाई दोहोरी र्‍यापको कारणले स्पष्टीकरण सोधेको हो ।

त्यस्तै शङ्कर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ‘जीएम’लाई विकृत दोहोरीका कारणले स्पष्टीकरण सोधेको प्रतिष्ठानको भनाइ छ । 

प्रतिष्ठानकी अध्यक्ष थापाले छाडा गीत गाउनेहरूलाई कारबाही गराइछाड्ने बताइन् । ‘कसैले गतिछाडा भएर हिँड्छौँ के गर्छन् भनेर भन्छ भने हामी त्यतिकै बस्नेवाला छैनौँ । त्यसका लागि कारबाही गराउन हामी लाग्छौँ’, उनले रातोपाटीसँग भनिन् ।

उनले स्पष्टीकरणमा परेका केही व्यक्तिले अग्रजलाई देखाउँदै ईश्यु निकाले पनि त्यो जायज नभएको प्रस्ट पारिन् । ‘प्रतिष्ठाले स्पष्टीकरण सोधेका व्यक्तिहरूले हिजोको दिनमा यो अग्रजले यस्ता गीत गाएका थिए सोही कारणले हामीले सिक्यौँ भनेर समेत इस्यु निकालेका छन्’, उनले भनिन्, ‘यो गीत जतिबेला निस्किएको थियो त्यो बेला नै प्रतिष्ठानले कारबाही अगाडि बढाएर सल्टाएको विषय हो । उहाँले आउने दिनमा यस्तो नदोहोर्‍याउने भनेर माफी समेत मागेको विषय हो । अहिले दोहोर्‍याएर नगरेको अवस्था हो ।’

उनकाअनुसार स्पष्टीकरण सोधिएपछि शुक्रबार बिहानैदेखि कार्यालयमा केही सदस्यको स्पष्टीकरण सहित प्रतिबद्धता पत्र आएको छ । ‘कतिले कार्यालयमै आएर सरी भन्नु भएको छ । कतिले प्रतिष्ठानको कदममा हातमा हात मिलाउँछौँ भन्नु भएको छ’, उनले भनिन्, केहीले बखेडा झिकेका हुन् । हामी उच्छृङ्खलता अङ्गालेर हिँड्छौ भन्दै कसैले चुनौती दिन्छ भने हामीले राज्यस्तरबाट आवश्यक पहल गर्छौँ ।’

छाडापन नियन्त्रण गर्नु राज्यको पनि दायित्व भएको थापाको भनाइ छ ।  सोहीअनुसार आफूहरूले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र पनि बुझाइसकेको जानकारी दिँदै थापाले यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पनि पत्र पठाएको बताइन् । ‘गतिछाडा भएर हिँड्छौ के गर्छस् भनेर कसैले भन्छ भने हामी पनि त्यतिकै बस्नेवाला छैनौँ । कारबाही गराउन हामी लाग्छौँ ।’

यस्तो छ स्पष्टीकरणको बेहोरा:

447771618_7595208560526705_6847424630532761032_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप