बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्वकप विशेष

टी–२० विश्वकप : बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई लयमा देखिएको अफगानिस्तानको चुनौती

शुक्रबार, २५ जेठ २०८१, १६ : ४०
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा शनिबार न्युजिल्यान्डले अफगानिस्तानको सामना गर्दैछ । उक्त खेल गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा नेपाली समयअनुसार, बिहान ०५ः१५ बजे सुरु हुनेछ ।

अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘सी’ मा छन् । उक्त समूहमा वेस्ट इन्डिज, युगान्डा र पपुवा न्यु गिनी पनि रहेका छन् । समूह ‘सी’ मा खेल्न लागिएको यो चौथो खेल हो । उक्त समूहको यसअघि खेलिएको पहिलो खेलमा आयोजक वेस्ट इन्डिजले पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो ।  

उक्त समूहको दोस्रो खेलमा अफगानिस्तानले युगान्डामाथि एक सय २५ रनको सजिलो जित हासिल गरेको थियो । तेस्रो खेलमा युगान्डाले पपुवा न्यु गिनीलाई तीन विकेटले हराएको थियो । युगान्डा र पपुवा न्यु गिनीले दुई–दुई तथा अफगानिस्तान र वेस्ट इन्डिजले एक–एक खेल खेलेका छन् ।

न्युजिल्यान्डले भने हालसम्म एक खेल पनि खेलेको छैन । अफगानिस्तान, वेस्ट इन्डिज र युगान्डा दुई–दुई अंकसहित क्रमशः पहिलोदेखि तेस्रो स्थानमा छन् । पपुवा न्यु गिनी भने आफ्नो दुवै खेलमा पराजित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा न्युजिल्यान्ड पाँचौँ र अफगानिस्तान १०औँ स्थानमा आसिन छन् । यी दुवै टोली अघिल्लो टी–२० विश्वकपमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ संस्करणमा छनोट भएका हुन् ।

टी–२० विश्वकपमा न्युजिल्यान्डको यो नवौँ सहभागिता हो । न्युजिल्यान्डले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । अफगानिस्तानको भने टी–२० विश्वकपमा यो सातौँ सहभागिता हो ।

अफगानिस्तानले सन् २०१० को टी–२० विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो । टी–२० विश्वकपमा न्युजिल्यान्डको उत्कृष्ट प्रदर्शन भनेको फाइनलसम्मको यात्रा हो । न्युजिल्यान्ड सन् २०२१ को विश्वकपको फाइनलमा छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो ।

टी–२० विश्वकपमा अफगानिस्ताको उत्कृष्ट प्रदर्शन भने ‘सुपर–१०’ चरणको यात्रा हो । अफगानिस्तान सन् २०१६ को टी–२० विश्वकपमा ‘सुपर–१०’ चरणमा पुगेको थियो । किविज टोलीले टी–२० विश्वकपमा हालसम्म कुल ४२ खेल खेलिसकेको छ ।

न्युजिल्यान्ड त्यसमध्ये २३ खेलमा विजयी भएको छ भने १७ खेलमा पराजित । न्युजिल्यान्डको दुई खेल भने बराबरीमा सकिएको छ । अर्कोतिर, अफगानिस्तानले टी–२० विश्वकपमा हालसम्म २३ खेल खेलेको छ । अफगानिस्तान त्यसमध्ये आठ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ ।

न्युजिल्यान्ड र अफगानिस्तानबिच हालसम्म एउटा टी–२० अन्तर्राष्ट्रिय खेलमात्र खेलिएको छ । त्यो खेलमा न्युजिल्यान्ड विजयी भएको थियो । सन् २०२१ को नोभेम्बर ७ तारिखमा खेलिएको उक्त खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई आठ विकेटले हराएको थियो ।

सन् २०२२ को अक्टोबर २६ तारिखमा पनि यी दुई टोलीबिच टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिने कार्यक्रम थियो । तर, वर्षाका कारण त्यो खेल रद्द भएको थियो । अफगानिस्तानले आफूले खेलका पछिल्ला पाँचमध्ये चार खेलमा जित हात पारेको छ ।

अफगानिस्तानले सन् २०२४ को फेब्रुअरी २१ तारिखमा खेलिएको खेलमा श्रीलंकालाई तीन रनले हराएको थियो । मार्च १५ तारिखमा खेलिएको खेलमा भने आयरल्यान्डले अफगानिस्तानलाई ३८ रनले पराजित गरेको थियो ।

मार्च १७ तारिखमा खेलिएको खेलमा अफगानिस्तानले आयरल्यान्डलाई १० रनले हराएको थियो । मार्च १८ मा खेलिएको खेलमा पनि अफगानिस्तानले आयरल्यान्डलाई ५७ रनले पराजित गरेको थियो । जुन ३ तारिखमा खेलिएको खेलमा अफगानिस्तानले युगान्डालाई एक सय २५ रनले हराएको थियो ।

यसैगरी न्युजिल्यान्डले खेलेको पछिल्ला पाँचमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । न्युजिल्यान्डको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । सन् २०२४ को अप्रिल १८ तारिखमा खेलिएको न्युजिल्यान्ड र पाकिस्तानबिचको खेल अनिर्णित रुपमा सकिएको थियो ।

यसैगरी अप्रिल २० मा खेलिएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो । अप्रिल २१ मा खेलिएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

अप्रिल २५ मा खेलिएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई चार रनले हराएको थियो भने अप्रिल २७ मा खेलिएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई नौ रनले पराजित गरेको थियो ।

अफगानिस्तान र न्युजिल्यान्डबिचको खेल वर्षाले बिथोल्न सक्ने सम्भावना रहेको छ । शनिबार गुयनामा ७९ प्रतिशत वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार गुयनाको तापक्रम २४ देखि ३१ डिग्री सेल्सियसको बिचमा रहने छ ।

न्युजिल्यान्डको सम्भावित टोलीमा केन विलियम्सन (कप्तान), रचिन रविन्द्र, डेभोन कनवे (विकेटकिपर), जिम्मी निसाम, ड्यारल मिचेल, मार्क चापम्यान, ट्रेन्ट बोल्ट, लोकी फर्गुसन, मिचेल सान्टनर, ईश सोढी र ग्लेन फिलिप्स रहेका छन् ।

यसैगरी अफगानिस्तानको सम्भावित टोलीमा रासिद खान (कप्तान), रहमानुल्लाह गुरबाज, ईब्राहिम जदरान, गलबदिन नाइब, अजमतुल्लाह ओमरजाई, नजिबुल्लाह जदरान, मोहम्मद नाबी, करिब जनत, नविन उल हक, नुर अहमद र फजालहक फारुकी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप