शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
राजनीतिमा सतिशको छलाङ

मुख्यमन्त्री सिंह : स्थानीय निर्वाचनमा पराजित, जनमत प्रवेश गरेपछि फलिफाप

लोसपा पृष्ठभूमिका सतिश किन परे सीकेको रोजाइमा ?
शुक्रबार, २५ जेठ २०८१, १४ : ०५
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । गत स्थानीय तहको निर्वाचनमा पराजित भएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका सतिशकुमार सिंह जनमत पार्टीमा प्रवेश गरेको डेढ वर्षमै मधेसको मुख्यमन्त्री बन्न सफल भएका छन् । 
२०७९ को स्थानीय तह निर्वाचनमा लोसपाबाट सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि उनी आम निर्वाचनअघि जनमत पार्टी छिरेका थिए ।

पालिका अध्यक्षमा कांग्रेसका अरुणकुमार मंडलले ५ हजार ४७४ मत ल्याउँदा सिंह ३ हजार ६४६ मत पाएर दोस्रो भएका थिए । २०७४ को स्थानीय निर्वाचनामा भने तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सिंह तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७९ भदौ ९ मा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेपछि सिंहलाई फलिफाप भएको छ । जनमतको प्रदेश सभा सदस्यसमेत रहेका सतिशका बुबा शेखर सिंह भने अहिले पनि लोसपाबाटै राष्ट्रिय सभाका सदस्य छन् । विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट २०६९ छुट्टिएर शरतसिंह भण्डारीको नेतृत्वमा बनेको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)बाट सतिशको राजनीतिक यात्रा सुरु भएको थियो ।

भण्डारी नेतृत्वको रामसपामा सतिशका बुबा शेखर उपाध्यक्ष थिए । सतिश रामसपाको सप्तरी अध्यक्ष बनेका थिए । २०७४ मा भण्डारी नेतृत्वको रामसपासहित पाँट वटा मधेसवादी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)मा पनि उनी सक्रिय रहे ।

त्यसपछि २०७७ मा राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबिच एकता भएपछि सतिशको पार्टी जसपा भयो । जसपा विभाजन भइ बनेको लोसपाबाट गाउँपालिका अध्यक्ष हारेपछि प्रदेश सभा सदस्य बन्ने सर्तमा सतिश सीके राउन नेतृत्वको नवोदित जनमत पार्टीमा पुगे । २०७९ मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा सतिश सप्तरी –२ को प्रदेश सभा–१ बाट भारी मतान्तरले विजयी पनि भए । सतिशले १६ हजार ७ सय ३४ मत ल्याएर निर्वाचित हुँदा उनका टिकतम् प्रतिद्वन्द्वी जसपा नेपालका शैलेन्द्रप्रसाद साहले ८ हजार २९२ मतमात्र पाएका थिए ।

एमाले र जसपाका साझा उम्मेदवार साहलाई दोब्बर मतान्तरले हराएर प्रदेश सभाको यात्रा तय गरेका सतिश पार्टीका भेट्रान नेताहरूलाई नै रोकेर मधेस प्रदेशको मुख्यमन्त्रीको कुर्सीमा विराजमान हुन सफल भएका छन् ।

महासचिव चन्दन सिंह र मधेस प्रदेश संसदीय दलका नेता महेश यादवलाई रोकेर पार्टी अध्यक्ष सीकेले आफ्नो निर्वाचन क्षेत्र सप्तरी २ को प्रदेश सभा १ बाटै निर्वाचित सतिशलाई मधेसको मुख्यमन्त्री बनाएका छन् । सप्तरी–२ को प्रदेशसभा– २ बाटै निर्वाचित महेशलाई संसदीय दलको नेता बनाएका राउतले मुख्यमन्त्रीमा भने प्रदेशसभा १ का सतिशलाई रोजे ।

माओवादी केन्द्र छाडेर आएका महेशभन्दा मधेसवादी दल लोसपाबाट आएका सतिश सीकेको रोजाइमा पर्नुका पछाडि केही कारण देखिन्छ । महामन्त्री चन्दन भने जनमत पार्टीको संस्थागत नेतामध्यकै एक हुन् । सीकेले महेशको विकल्प खोज्दा मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक चन्दन रोजाइमा पर्ने आकलन थियो ।

यादव समुदायबाट मुख्यमन्त्री नबनाउने नीति लिएका सीकेले आफ्नै निर्वाचन क्षेत्र रोज्दा सतिशको भाग्य खुलेको देखिन्छ । महामन्त्री चन्दनलाई मुख्यमन्त्री बनाउँदा आफू अनुकूल चलाउन नसक्ने र पार्टीमा दोस्रो धारको जन्म हुने खतरा देखेर राउतले सतिशलाई मुख्यमन्त्री बनाएको जनमतमा चर्चा छ । अध्यक्ष सीके रणनीतिक रूपमा मुभ हुँदा मधेस प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति रहेका सतिश मुख्यमन्त्री बन्न पुगेका छन् ।

आर्थिक रूपमा सम्पन्न सतिश मधेसमा जमिनदार भनेर परिचित छन् ।  प्रारम्भिक शिक्षा तिलाठी कोइलाडीकै स्थानीय विद्यालयबाट गरेका उनले राजविराजबाट क्याम्पसको पढाइ पूरा गरेका थिए ।

भारतको राँचीबाट उच्च शिक्षा हासिल गरेका सतिशले कम्प्युटर शिक्षामा स्नतानक गरेका छन् । राजनीतिमा आउनुअघि सतिशले सप्तरीमा मोटरसाइकलको शोरुम चलाउने गरेका थिए । ४२ वर्षीय सिंहको काँधमा अब मधेस प्रदेश चलाउने अभिभारा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप