बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्वकपमा पाकिस्तानविरुद्ध अमेरिकाको ऐतिहासिक जितका सारथि सौरभ नेत्रवाल्कर को हुन् ?

१४ वर्षअघि भारतीय टोलीबाट पनि पाकिस्तानविरुद्ध खेलेका थिए
शुक्रबार, २५ जेठ २०८१, १२ : ४०
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणअन्तर्गत बिहीबार राति खेलिएको खेलमा अप्रत्याशित नतिजा आयो । उक्त खेलमा आयोजक राष्ट्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई ‘सुपर ओभर’ मा हरायो ।  टी–२० विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।  जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले पनि निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ५९ रन नै बनायो । त्यसपछि खेल ‘सुपर ओभर’ मा गयो । ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको अमेरिकाले एक विकेट गुमाएर १८ रन बनायो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ‘सुपर ओभर’ मा एक ओभर गुमाएर १३ रनमात्र बनाउन सक्यो । ‘सुपर ओभर’ मा अमेरिकाको जितमा नायक बने, सौरभ नेत्रवाल्कर । उनकै कसिलो बलिङका कारण अमेरिकाको जित सम्भव भएको थियो ।

त्यसअघि निर्धारित ओभरको खेलमा पनि उनले पाकिस्तानको तीन विकेट लिएका थिए । आखिर को हुन् त सौरभ नेत्रवाल्कर ? खासमा बायाँ हाते मध्यम तेज गतिका बलर नेत्रवाल्कर भारतीय मूलका खेलाडी हुन् । ३२ वर्षीय नेत्रवाल्कर पछि अमेरिकामा बसाई सरेका हुन् ।

नेत्रवाल्करले आजभन्दा १४ वर्षअघि पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१० को आईसीसी यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । त्यतिबेला नेत्रवाल्कर भारतीय टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

त्यो विश्वकपमा भारत र पाकिस्तानबिच क्वार्टरफाइनलमा भेट भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले नौ विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानविरुद्ध भारतीय खेलाडी नेत्रवाल्करले उत्कृष्ट बलिङ गरेका थिए ।

उनले पाँच ओभरमा एक मेडन राख्दै केवल १६ रन खर्चिएर एक विकेट लिएका थिए । यद्यपि, उक्त खेलमा पाकिस्तानले भारतलाई दुई विकेटले हराएको थियो । पाकिस्तानका वर्तमान कप्तान बाबर आजम त्यतिबेला पनि पाकिस्तानी टोलीका महत्त्वपूर्ण सदस्य थिए । त्यतिबेला भारतीय टोलीमा भने केएल राहुल, मयाङ्क अग्रवाललगायतका खेलाडी सहभागी थिए ।

नेत्रवाल्करको जन्म भारतको मुम्बईमा भएको हो । उनले मुम्बईकै टोलीबाट सन् २०१३/१४ सिजनको रणजी ट्रफी खेल्दै प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । यसका अतिरिक्त उनले सन् २०१३/१३ सिजनमै मुम्बईको तर्फबाट विजय हजारे ट्रफी खेल्दै ‘लिस्ट ए’ क्रिकेटमा पनि ‘डेब्यू’ गरेका थिए ।

नेत्रवाल्कर सफ्टवेयर इन्जिनियर पनि हुन् । उनले सरदार पटेल इन्स्टिच्यूट अफ टेक्नोलोजीमा अध्ययन गरेका थिए । उच्च शिक्षा पुरा गरेपछि उनी अवसरको खोजीमा अमेरिका पुगेका थिए । सन् २०१८ मा उनी पहिलो पटक अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका थिए ।

त्यसपछि उनी अमेरिकी टोलीको प्रतिनिधित्व गर्दै वेस्ट इन्डिज पुगेका थिए । सन् २०१८/१९ मा उनी आईसीसी आईसीसी टी–२० विश्वकपको अमेरिकी क्षेत्रको छनोट प्रतियोगिता खेल्न पनि राष्ट्रिय टोलीमा परेका थिए ।

यसैगरी सन् २०१८ को अक्टोबरमा उनी अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले कप्तानको भूमिकामा वेस्ट इन्डिजमा रिजनल सुपर–५० प्रतियोगिता र सन् २०१८ को आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ प्रतियोगिता पनि खेलेका थिए ।

सन् २०१९ को फेब्रुअरीमा उनले अमेरिकाको टी–२० राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका थिए । कप्तानको भूमिकामा उनले युएईविरुद्धको टी–२० शृंखला खेलेका थिए । अमेरिकी टोलीले खेलेको त्यो नै पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

यसदेखि बाहेक पनि उनले कप्तानको भूमिकामा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । अमेरिकाले आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता पाउँदा पनि उनी टोलीको कप्तान थिए । उनले सन् २०१९ को अप्रिल २७ मा पपुवा न्यु गिनीविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

उनको क्षमता पहिचान गर्न र अगाडि बढाउन प्रशिक्षक पुबुदु दासानायकेको पनि निकै ठुलो योगदान रहेको छ । दासानायके सन् २०१६ देखि सन् २०१९ सम्म अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक थिए ।

दासानायके सन् २०११ देखि सन् २०१५ सम्म नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेपछि अमेरिका पुगेका थिए ।  टी–२० विश्वकपको पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई विजयी बनाएपछि एकाएक उनको चर्चा चुलिएको छ ।

अमेरिकाले टी–२० विश्वकपको आफ्नो पहिलो सहभागितामै ‘सुपर–८’ चरणको सम्भावना पनि बलियो बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप