बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
उत्पादन

यो वर्ष धान बाली सप्रिने विज्ञको तर्क

डुबान सहन सक्ने प्रविधिबाट कसरी गर्ने खेती ?
शुक्रबार, २५ जेठ २०८१, १२ : ०३
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । मनसुन अर्थात् बर्खामा नेपालको प्रमुख खाद्यान्न बाली धान खेती हुन्छ । मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले धान बाली सप्रिने विज्ञको तर्क छ ।

धान वैज्ञानिक डा. रामवरण यादवले औसतभन्दा बढी पानी पर्दा धान खेतीमा सहयोग पुग्ने बताए । ‘धानखेती गर्न २५ सय मिलिलिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘कतिपय क्षेत्रमा औसतमा करिब ९ सय मिलिलिटर पानी पर्छ, औसतभन्दा बढी १५ सय मिलिलिटर पानी पर्यो भने पनि धान बाली राम्रो हुन्छ ।’

एकै पटक धेरै पानी पर्ने या खडेरी पर्ने भएमा धानबालीमा असर गर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले बताए । ‘सरदरभन्दा बढी पानी पर्ने भनिएको छ, तर क्षेत्र अनुसार पानी पर्ने हुन्छ,’ उनले भने, ‘योसँगै पानी कसरी पर्छ भन्ने हुन्छ । पहिला तीन दिनमा झरी परेर पानी पर्थ्यो, तर अहिले एकै पटक पानी पर्छ ।’

पछिल्लो समय सुक्खा खडेरी पर्ने कि त एकै पटक भारी वर्षा हुने समस्या देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । ‘राष्ट्रिय मनसुन फोरम, २०८१’ का अनुसार आउँदो बर्खामा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने ३५.४ प्रतिशतदेखि ५५.४ प्रतिशत सम्भावना रहेको प्रक्षेपण छ ।

सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने ३५.४ देखि ६५.५ प्रतिशत सम्भावना भएको उल्लेख छ ।

यस्तै, विभागका अनुसार कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

मौसमी जानकारी राख्न किसानलाई विज्ञको सुझाव

नेपालमा मौसमी अनुमानलाई किसानले वास्ता नगर्दा बालीमा क्षति भएको पाइएको छ । २०७८ सालमा बेमौसमी वर्षाका कारण तयार भएको भारी मात्रामा धानबाली क्षति भएको थियो । सो समयमा मौसम सम्बन्धी जानकारी, किसानलाई सचेत गराइए पनि किसानले वास्ता नगर्दा धान बाली नष्ट भएको रिमालको भनाइ छ ।

यो वर्ष पनि किसानले मौसम सम्बन्धी जानकारी नियमित रुपमा राख्नुपर्ने उनको सुझाव छ । ‘किसानले मौसमबारे जानकारी राख्नु पर्यो, ध्यान दिनु पर्यो,’ उनले भने ।

गत वर्षको तुलनामा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

नार्कले हरेक शुक्रबार ‘कृषि–मौसम सल्लाह बुलेटिन’ सार्वजनिक गर्ने गरेको छ । सो बुलेटिनलाई आधार मानेर स्थानीय पालिकाले आफ्नो क्षेत्रका किसानलाई मौसमबारे सचेत गराउनुपर्ने रिमालको सुझाव छ ।

‘हामीले कृषि–मौसम सल्लाह बुलेटिन राष्ट्रियस्तरमै निकाल्छौँ,’ उनले भने, ‘२०–२२ पेजको बुलेटिन किसानलाई हेर्न समस्या हुन्छ, त्यसलाई आधार मानेर स्थानीय पालिकाले किसानलाई सचेत गराइ मौसमी क्षति हुनबाट जोगाउन सकिन्छ ।’

बढी वर्षा हुँदा बाढी, पहिरोबाट जोगिनु पर्ने धान वैज्ञानिक यादवले सुझाए । ‘बाढी पहिरोबाट जोगिनु पर्छ, नभए धानका लागि पानी पर्नु राम्रो हो,’ उनले भने, ‘पश्चिमी क्षेत्रमा जहाँजहाँ डुबान पर्छ, त्यहाँ कान्य सागर १, २, स्वर्ण सव–१, सावाँ मंसुली सव–१ जस्ता धानको डुबान सहन सक्ने प्रविधिबाट धान खेती गर्नु पर्छ ।’

मलको उपलब्धता भए धानको उब्जाउ राम्रो हुने

पानीसँगै मलको उपलब्धता भएमा धान उब्जाउ हुने विज्ञहरूले बताएका छन् । मन्त्रालयले भने धान रोपाइँका लागि रासायनिक मलको अभाव नहुने दाबी गर्दै आएको छ ।

मन्त्रालयले ९८ हजार ६२९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ६६ हजार ५६९ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग ३२ हजार ६० मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यूरिया ७१ हजार १३७ मेट्रिक टन, डीएपी १६ हजार २१५ र पोटास ११ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।

नेपालमा धान खेती कति हुन्छ ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ । देशभरभर चालु आर्थिक वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयले उल्लेख गरेको छ ।

गत वर्षको तुलनामा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्ष धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।

यस्तै, गत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशतले धान बालीको क्षेत्रफल घटेको हो । गत वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने चालु आर्थिक वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप