बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्वकप क्रिकेट

टी–२० विश्वकपमा पहिलो पटक आपसमा भिड्दै आयरल्यान्ड र क्यानडा

शुक्रबार, २५ जेठ २०८१, ११ : १४
शुक्रबार, २५ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ ।

आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि छन् । उक्त समूहमा खेल्न लागिएको यो चौथो खेल हो । समूहको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । दुई खेल खेलेको अमेरिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

अन्य चार टोलीले भने एक–एक खेल खेलेका छन् । दुई अङ्कसहित भारत दोस्रो स्थानमा छ । अन्य तीन टोलीले भने खाता खोल्न सकेका छैनन् । टी–२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो । क्यानडाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो ।

आयरल्यान्डले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपको आयरल्यान्डको उत्कृष्ट प्रदर्शन ‘सुपर–८’ चरण हो । सन् २००९ मा आयरल्यान्ड ‘सुपर–८’ चरणसम्म पुगेको थियो ।

टी–२० विश्वकपमा आयरल्यान्डले हालसम्म २६ खेल खेलेको छ । आयरल्यान्डले त्यसमध्ये सात खेलमा जित र १६ खेलमा हारको नतिजा निकालेको छ । आयरल्यान्डको तीन खेल भने अनिर्णीत रूपमा सकिएको छ । क्यानडाले भने टी–२० विश्वकपमा एकमात्र खेल खेलेर हार भोगेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा आयरल्यान्ड ११औँ स्थानमा छ । क्यानडा भने पछिल्लो आईसीसी वरीयताको २३औँ स्थानमा छ । यस पटक क्यानडा र आयरल्यान्ड दुवै छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । क्यानडाले अमेरिकी क्षेत्रबाट र आयरल्यान्डले युरोपेली क्षेत्रमा छनोट चरण पार गरेका हुन् ।

आयरल्यान्ड र क्यानडाले हालसम्म आपसमा चार वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । त्यसमध्ये दुई खेलमा आयरल्यान्डले क्यानडालाई हराएको छ । बाँकी दुई खेलमा भने क्यानडाले जित हासिल गरेको छ । तर, सन् २०१९ पछि यी दुई राष्ट्र आपसमा भिडेका छैनन् ।

सन् २०१९ को अक्टोबर २३ तारिखमा यी दुई टोलीबिच भएको खेलमा क्यानडाले आयरल्यान्डलाई १० रनले हराएको थियो । त्यो खेलमा क्यानडाले पाँच विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । आयरल्यान्डले भने सात विकेट गुमाएर एक सय ४६ रनमात्र बनाउन सकेको थियो ।

क्यानडाले आफूले खेलेका पछिल्ला पाँचमध्ये एक खेलमा पनि जित हासिल गर्न सकेको छैन । चार खेलमा क्यानडा पराजित भएको छ भने एक खेल रद्द भएको छ । सन् २०२४ को अप्रिल ९ तारिखमा खेलिएको खेलमा अमेरिकाले क्यानडालाई ३१ रनले हराएको थियो ।

अप्रिल १० तारिखमा तय भएको क्यानडा र अमेरिकाबिचको खेल वर्षाका कारण रद्द भएको थियो । अप्रिल १२ तारिखमा खेलिएको खेलमा अमेरिकाले क्यानडालाई १४ रनले हराएको थियो । अप्रिल १३ तारिखमा खेलिएको खेलमा अमेरिकाले क्यानडालाई चार विकेटले हराएको थियो ।

जुन १ तारिखमा खेलिएको खेलमा पनि अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको थियो । अर्कोतिर, आयरल्यान्डले आफूले खेलेका पछिल्ला पाँचमध्ये तीन खेलमा जित हात पारेको छ । एक खेलमा आयरल्यान्ड पराजित भएको छ भने एक खेल वर्षाका कारण रद्द भएको छ ।

सन् २०२४ को मे १९ तारिखमा खेलिएको खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई एक रनले हराएको थियो । मे २० तारिखमा हुने भनिएको आयरल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । मे २३ तारिखमा खेलिएको खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।

यसैगरी मे २४ तारिखमा खेलिएको खेलमा आयरल्यान्डले नेदरल्यान्ड्समाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । जुन ५ तारिखमा खेलिएको खेलमा भने आयरल्यान्डको टोली बलियो प्रतिद्वन्द्वी भारतसँग आठ विकेटले पराजित भएको थियो ।

आयरल्यान्ड र क्यानडाबिच शुक्रबार खेल हुँदा न्यु योर्कमा वर्षाको सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार न्यु योर्ककको तापक्रम २५ देखि २७ डिग्री सेल्सियसको बिचमा रहने जनाएको छ ।

क्यानडाको सम्भावित टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, नवनित धालिवाल, परगत सिंह, निकोलस किर्तन, श्रेयस मोभा (विकेटकिपर), दिलप्रित सिंह, निखिल दत्त, डिल्लन हेलिगर, कलिम साना र जेरेमी गोर्डन रहेका छन् ।

यसैगरी आयरल्यान्डको सम्भावित टोलीमा पल स्टर्लिङ (कप्तान), एन्ड्र्यू बलबिर्नी, लोर्कन टस्कर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, गारेथ डेलानी, मार्क एडिर, बेरी म्याककार्थी, जोसुआ लिटल र बेन्जामिन ह्वाइट रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप