आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

जनमत नेतृत्वको सरकारमा को–को बन्दैछन् मन्त्री ?

शुक्रबार, २५ जेठ २०८१, ११ : ०२
शुक्रबार, २५ जेठ २०८१

वीरगन्ज । मधेस प्रदेशमा जनमतको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेको छ ।  प्रदेश प्रमुखको कार्यालयमा सरकार गठनका लागि दाबी पेश भएसँगै ६ दलले सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा १२ बजे हुने शपथग्रहणका लागि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागिसकेको माओवादीका प्रदेश सांसद युवराज भट्टराईले बताए ।   सतिश सिंह नेतृत्वको सरकारमा दलहरूले जनमत बाहेकका १० जना मन्त्रीहरूकै नाम टुङ्गो लगाइसकेको उनले बताए । 

को–को बन्दै छन् मन्त्री ?

नेकपा एमालेले भने आफ्ना पुरानै मन्त्रीहरूलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ ।  संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने दलका उपनेता दीपेन्द्र ठाकुरले जनाए । 

एमालेबाट भौतिक मन्त्रीमा सरोज यादव, शिक्षा मन्त्रीमा प्रमोद जैसवाल, स्वास्थ्य मन्त्रीमा शत्रुघन सिंह कोइरी र युवा तथा खेलकुद मन्त्रीमा राजकुमार लेखीलाई पठाउने निर्णय गरेको छ ।  माओवादी केन्द्रले भने भरत साहको नेतृत्वमा नेतृत्वमा २ जना मन्त्रीहरूलाई सरकारमा पठाउने टुङ्गो लगाएको छ । 

माओवादी केन्द्रले अर्थमन्त्रीमा भरत साह र पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई सरकारमा पठाउने निर्णय लिएको छ ।   जनमतले भने मुख्यमन्त्री र एक राज्यमन्त्रीलाई मात्र शपथग्रहण गराउने निर्णय गरेको छ । पार्टी अध्यक्ष सिके राउत बाहिर रहेको कारणले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो नलागिसकेको जनमतका नेता सतिश सिंहले बताए । 

उनले भने, ‘पार्टी अध्यक्ष आएपछि मन्त्रीहरूको नाम टुङ्गो लगाइन्छ, त्यसपछि शपथ गराउने पार्टीभित्र सहमति भएको छ ।’  तर आज मुख्यमन्त्रीमा सिंहसँगै राज्यमन्त्रीमा रंजु खङ्ग मण्डलले शपथ लिनेछन् ।  यता एकीकृत समाजवादीले यसअघिका सरकारमा सहभागी मन्त्रीहरूलाई नै  दोहोर्‍याउने निर्णय गरेको छ । दलका नेता गोविन्द न्यौपानेको नेतृत्वमा समाजवादी सरकारमा सहभागी हुँदैछ । 

एकीकृत समाजवादीले कृषि मन्त्रीमा गोविन्द न्यौपाने र ऊर्जा मन्त्रीमा बेची लुङगेलीलाई पठाउने तय भएको छ ।   त्यस्तै नागरिक उन्मुक्ति पार्टीले श्रम तथा रोजगार मन्त्रीमा उर्मिला चौधरी र नेपाल सङ्घीय समाजवादीले गृह तथा सञ्चार मन्त्रीमा विमला अन्सारीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

सबै दलले टुङ्गो लगाएका मन्त्रीहरूको नाममा कुनै विवाद नआए आजै सबै मन्त्रीहरूलाई शपथग्रहण गराउने तयारी छ ।  तर आपसी सहमति नजुटे आज सरकारमा सहभागी दलहरूमध्ये एक–एक जना पठाएर शपथ खुवाउने तयारी गरिएको एमालेका एक प्रदेश सांसदले बताए । 

आज बिहान १२ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री सिंहलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप