जनमत नेतृत्वको सरकारमा को–को बन्दैछन् मन्त्री ?
वीरगन्ज । मधेस प्रदेशमा जनमतको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेको छ । प्रदेश प्रमुखको कार्यालयमा सरकार गठनका लागि दाबी पेश भएसँगै ६ दलले सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा १२ बजे हुने शपथग्रहणका लागि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागिसकेको माओवादीका प्रदेश सांसद युवराज भट्टराईले बताए । सतिश सिंह नेतृत्वको सरकारमा दलहरूले जनमत बाहेकका १० जना मन्त्रीहरूकै नाम टुङ्गो लगाइसकेको उनले बताए ।
को–को बन्दै छन् मन्त्री ?
नेकपा एमालेले भने आफ्ना पुरानै मन्त्रीहरूलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ । संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने दलका उपनेता दीपेन्द्र ठाकुरले जनाए ।
एमालेबाट भौतिक मन्त्रीमा सरोज यादव, शिक्षा मन्त्रीमा प्रमोद जैसवाल, स्वास्थ्य मन्त्रीमा शत्रुघन सिंह कोइरी र युवा तथा खेलकुद मन्त्रीमा राजकुमार लेखीलाई पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रले भने भरत साहको नेतृत्वमा नेतृत्वमा २ जना मन्त्रीहरूलाई सरकारमा पठाउने टुङ्गो लगाएको छ ।
माओवादी केन्द्रले अर्थमन्त्रीमा भरत साह र पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई सरकारमा पठाउने निर्णय लिएको छ । जनमतले भने मुख्यमन्त्री र एक राज्यमन्त्रीलाई मात्र शपथग्रहण गराउने निर्णय गरेको छ । पार्टी अध्यक्ष सिके राउत बाहिर रहेको कारणले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो नलागिसकेको जनमतका नेता सतिश सिंहले बताए ।
उनले भने, ‘पार्टी अध्यक्ष आएपछि मन्त्रीहरूको नाम टुङ्गो लगाइन्छ, त्यसपछि शपथ गराउने पार्टीभित्र सहमति भएको छ ।’ तर आज मुख्यमन्त्रीमा सिंहसँगै राज्यमन्त्रीमा रंजु खङ्ग मण्डलले शपथ लिनेछन् । यता एकीकृत समाजवादीले यसअघिका सरकारमा सहभागी मन्त्रीहरूलाई नै दोहोर्याउने निर्णय गरेको छ । दलका नेता गोविन्द न्यौपानेको नेतृत्वमा समाजवादी सरकारमा सहभागी हुँदैछ ।
एकीकृत समाजवादीले कृषि मन्त्रीमा गोविन्द न्यौपाने र ऊर्जा मन्त्रीमा बेची लुङगेलीलाई पठाउने तय भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले श्रम तथा रोजगार मन्त्रीमा उर्मिला चौधरी र नेपाल सङ्घीय समाजवादीले गृह तथा सञ्चार मन्त्रीमा विमला अन्सारीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।
सबै दलले टुङ्गो लगाएका मन्त्रीहरूको नाममा कुनै विवाद नआए आजै सबै मन्त्रीहरूलाई शपथग्रहण गराउने तयारी छ । तर आपसी सहमति नजुटे आज सरकारमा सहभागी दलहरूमध्ये एक–एक जना पठाएर शपथ खुवाउने तयारी गरिएको एमालेका एक प्रदेश सांसदले बताए ।
आज बिहान १२ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री सिंहलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुन्छ‚जित्ने कांग्रेसले नै हो : डंगोल (भिडियोसहित)
-
लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै
-
सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घट्यो
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा पेसी
-
‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने
-
बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा