‘गाउँ आएको बाटो’मा भड्किएको गाउँको ‘आत्मा’
गाउँको आफ्नै आत्मा (मौलिकता) थियो र छ; त्यो कहाँ गयो, कहाँ जाँदै छ ? गाउँका वास्तविक मेरुदण्ड को हुन् ? तिनीहरू कसरी पलायन हुँदै छन् ? ‘ग्लोबल भिलेज’ भनिएको आजको विश्वमा एउटा विकासोन्मुख देशका गाउँहरू कसरी परनिर्भर अर्थात् ‘उपनिवेश’ बन्दै छन् ? नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले गाउँको गुम्दै गरेको आत्माको कथा–व्यथा बोलेको छ ।
यस फिल्ममा द्वन्द्वको दर्शन गहिरो छ । कथानक अनुसार, भोजपुरको साम्बाखिम (सायद काल्पनिक नाम) भन्ने गाउँका मेरुदण्ड माइला राई (प्रधानपात्रको भूमिका निभाउने दयाहाङ राई)ले आफ्नो पुख्र्यौली सीपको सम्पूर्ण शक्तिले आधुनिक बजारसँग भिड्छन् ।
सहरबाट बाटो र बस गाउँ पुगेदेखि माइलाको सीप गाउँलेका लागि काम नलाग्ने भयो । बाटोसँगै पुगेको बजारले सबैभन्दा पहिले स्थानीय उत्पादन र सीपको मेरुदण्डमाथि प्रहार ग¥यो ।
गाउँमा बजारिया ब्रान्डेड रक्सी पुग्यो, उता सहरका केही मानिसले स्थानीय रक्सी खोजिरहेछन् । रक्सी पार्ने सीप छ माइली (माइलाकी पत्नी)सँग, तर राज्यले स्थानीय रक्सीको बेचबिखनमाथि रोक लगाएको छ ।
बुधबार सङ्घीय राजधानीको सिटी सेन्टरमा ‘प्रिमियर’ गरिएको फिल्म ‘गाउँ आएको बाटो’ हेर्दै गर्दा एकपटक मेरो स्मृतिमा अहिलेका गृहमन्त्री रवि लामिछाने छाए । उनले केही दिनअघि नियम ल्याएका थिए— मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई एक घन्टा ट्राफिक बनाउने । उनलाई के थाहा ? काठमाडौँ खाल्डो नेवारहरूको आदिम बस्ती हो; नेवारहरूको अधिकांश संस्कार र संस्कृतिमा रक्सीको प्रयोग हुन्छ । रक्सी कति मात्रामा खान दिने भनी नाप्ने यन्त्र बनाउने वा किन्ने हुत्ती छैन सरकारसँग, उसले खालि ब्राह्मणवादी चरित्र देखाउन जानेको छ । हुने खानेलाई के गाह्रो छ र ? विदेशी रक्सी खान्छन्, गाडी ड्राइभरले चलाइहाल्छ । कथंकदाचित आफैँले रक्सी खाएर गाडी चलाए सत्ता उनीहरूदेखि परको छैन ।
फिल्मका कुनै पनि दृश्यले सरकार र शक्ति राष्ट्रहरूको चिन्तन, चरित्र र व्यवहारमाथि चोथाले चोट दिँदैनन्; बरु प्रत्येक दृश्यले बौद्धिक वर्गको चिन्तनमा हान्छन् । यस्तै, सर्वसाधारणलाई सरल ढंगले सोच्न बाध्य पार्छन्— यो खालको विकासका बिच निम्न वर्गले गर्ने के ?
यो फिल्म हेरिरहँदा मेरो ख्यालमा एकपटक नेकपा सरकारको नारा घन्कियो— सुखी नेपाली समृद्ध नेपाल । वर्ग बिर्सेको समृद्धिले गाउँको मेरुदण्ड भाँच्छ, गाउँको आत्मासँग बजार साट्छ । बजारको केन्द्र अन्त कतै छ, कतै बन्दै पनि छन्, जहाँ वैदेशिक रोजगार वा अवसरका नाममा युवाशक्ति पलायन हुँदै छन् । सरकार भने भ्यु–टावर बनाउन उद्यत् छ ।
यस फिल्मका कुनै पनि दृश्यले सरकार र शक्ति राष्ट्रहरूको चिन्तन, चरित्र र व्यवहारमाथि चोथाले चोट दिँदैनन्; बरु प्रत्येक दृश्यले बौद्धिक वर्गको चिन्तनमा हान्छन् । यस्तै, सर्वसाधारणलाई सरल ढंगले सोच्न बाध्य पार्छन्— यो खालको विकासका बिच निम्न वर्गले गर्ने के ? कहाँ जाने ? हो, यस फिल्मले सबैको न्याय गर्ने विश्व–व्यवस्था र विचारतिर स्पष्ट सङ्केत गर्दैन, तर त्यतातिर सोच्न बाध्य पार्छ ।
गाउँ र सहरको सम्बन्धको डोरी हो, सडक वा बाटो । गाउँ र सहरबिच लेनदेन न्यायपूर्ण हुनुपर्छ अर्थात् दुवैको हात तल र माथि हुने प्रक्रिया बराबरजस्तो हुनुपर्छ । सहरले गाउँसँग के कति लिने र के कति दिने ? गाउँले सहरसँग के कति लिने र के कति दिने भन्नेबारे मूल रूपमा सबै गाउँलेसँग सल्लाह हुनुपर्छ; अनि निम्न वर्गको आवाजको सम्बोधन हुनुपर्छ ।
सरकार (स्थानीय पनि)को ठोस योजना वा सिद्धान्तबिनै गाउँमा सहर घुस्यो भने गाउँ एक दिन अन्य सहरको ‘आर्थिक, सामाजिक र सांंस्कृतिक उपनिवेश’ बन्ने निश्चित छ — यो फिल्मले मोटामोटी रूपमा यही सङ्केत गर्छ । अर्थात् स्पष्ट दृश्य र संवादमा यस्ता कुरा फिल्मले बोल्दैन, सङ्केत मात्रै गर्छ । यस्तै, विज्ञान र प्रविधिले ल्याएको परिवर्तनसँगै गाउँका गरिखाने वर्गलाई हिँडाउन राज्यसँग खास योजना हुनुपर्छ भन्नेतर्फ पनि यस फिल्मले सङ्केत गरेको छ ।
फिल्ममा केही घतलाग्दा र लाक्षणिक दृश्य छन्—
छिमेकीको मन राख्न माइलाले डालाभरि जाँड लिएर जान्छन्, तर छिमेकी बिदेसिइसकेका हुन्छन् ।
सहरमा रक्सी बेच्न प्रहरीले नदिएपछि माइला कुनै सहयोग माग्न अवकाशप्राप्त लाहुरेकहाँ पुग्छन्, तर त्यहाँ बजारिया रक्सी खाएर छलफल हुन्छ ।
भारत सरकारको सिपाही भएर अवकाश पाएका लाहुरे व्यापार र कृषि गरी गाउँमै जम्न खोजेका छन्, तर उनका छोरा जर्मनी जान खोज्दै छन् ।
बाँसका रङ्गीन फिपी (टोकरी) बेच्न चाहन्छन् माइला, तर सहरमा उस्तै प्रकृतिका प्लास्टिकका सामान निकै सस्तोमा आइसकेका छन् ।
गाउँमा बस आउँदा पूजा गर्न जाने माइला अन्ततः गाउँमा गरिखाने अवस्था नरहेपछि त्यही बस चढेर अन्जान सहरतिर लाग्छन् । बस चढ्ने बेला माहिलीले छिमेकीलाई भन्छिन्, ‘चुला–माङखिम सप्पै यहीँ नै छ । यहाँ नफर्केर कहाँ पो जाने होला र ?’
यी सबै दृश्यले गाउँ आर्थिक, सामाजिक र सांस्कृतिक उपनिवेश बन्ने क्रममा छ भन्नेतिरै सङ्केत गरेका हुन् । माइलीको उपर्युक्त संवाद, जो फिल्म सकिने बेला आउँछ, यसलाई फिल्मको निष्कर्ष मान्नुपर्छ । फिल्मले आशाको किरण छरेकै यही संवादमार्फत हो कि उनीहरू एक दिन फर्कनेछन् तर प्रश्न खडा छ— माइला दम्पतीलाई गाउँ फर्कने बनाउने कसले ?
छोराछोरी र आफ्नो संस्कृतिका भरमा बाँचेका माइला दम्पती विरक्तिएर हिँडेपछि गाउँ छाडेपछि संस्कृति पनि गाउँमै छुट्छ ।
किरात राईहरूको सभ्यता, संस्कार र संस्कृतिको केन्द्र हो, सुप्तुलुङ (चुलो) । अर्को शब्दमा सबै सुब्बेफाब्बे (शुभ)का लागि प्रार्थना गर्ने आस्थाको केन्द्र हो सुप्तुलुङ ।
उनीहरूले जन्मदेखि मृत्युसम्मका प्रायः संस्कार सुप्तुलुङमै गर्छन् । विवाह गरेर ल्याएकी बुहारी र भर्खर जन्मेको परिवारको नयाँ सदस्यलाई सुप्तुलुङमा समेट्नुपर्छ । यतिसम्म कि बाहिरबाट कमाएर ल्याएको धन–सम्पत्ति पनि मुन्दुम (संस्कार विधि) गरेर एक रात सुप्तुलुङमाथि राखिन्छ । यस्तो संस्कार प्रायः घरका महिलाले गर्छन् ।
सरकार (स्थानीय पनि)को ठोस योजना वा सिद्धान्तबिनै गाउँमा सहर घुस्यो भने गाउँ एक दिन अन्य सहरको ‘आर्थिक, सामाजिक र सांंस्कृतिक उपनिवेश’ बन्ने निश्चित छ — यो फिल्मले मोटामोटी रूपमा यही सङ्केत गर्छ ।
सुप्तुलुङको छेउमा बसेर झगडा वा चर्को स्वर गर्नु हुँदैन भन्ने मान्यता छ । यस फिल्ममा किरात राईहरूको आस्थाको केन्द्र सुप्तुलुङसँग जोडिएका केही संस्कारलाई सङ्क्षिप्त रूपमा देखाइएका छन् ।
मृत्युपछि पनि पितृका रूपमा सुप्तुलुङमै स्थान दिइन्छ तर सहज र असहज मृत्यु हेरिन्छ । असहज मृत्यु (आत्महत्या, दुर्घटना आदि) भएकाहरूले भने सुप्तुलुङमा स्थान पाउँदैनन् ।
यस फिल्ममा प्रतीकात्मक र विम्बात्मक ढङ्गले दृश्यहरू जोड्नु निर्देशकको बौद्धिक क्षमता लाग्छ । एक ठाउँमा— गाउँको घरको आँगनमा फिपी बुन्दा छरिएका रङ र चप्पल देखाइन्छ, त्यसलगत्तै सहरको फुटपाथमा बिक्रीमा राखिएका फिपी देखाइन्छन् । मानौँ, गाउँको आँगनका सपनाहरू सहरको फुटपाथमा बिक्रीका लागि राखिएका छन् । कहाँ पितापुर्खाले खनी–खोस्री र लिपी–पोती सम्याएको आँगन, कहाँ सहरको फुटपाथ !
सहरको फुटपाथमै आफ्नो जवानी बिक्रीमा राखेकी चेली पनि छन् । कता–कता आफ्नै गाउँले चेली ठानेर माइला उनीसँग बोल्न जान्छन् तर गाउँ र बजारको दूरीले सबै सम्बन्धका रेखा मेटिसकेको छ, पैसाको बाहेक ।
फिल्मको कथाले वा भनौँ छायाङ्कनले फिपीलाई पात्र बनाइसकेको थियो । फिपीलाई गाडीले कुल्चँदा नै दर्शकले दर्दको महसुस गर्न सक्थे । यस फिल्ममा किरात राईको बाजा बिनायोले पनि एउटा पात्रकै रूप लिन खोजेको छ ।
यो फिल्म अभिनयका दृष्टिले अब्बल छ । यसपालि दयाहाङको लबज, भावभङ्गी र हिँडाइ बदलिएको छ; अन्य फिल्ममा उनले गरेको अभिनयको तुलनामा । यस्तो लाग्छ, दयाहाङ र पशुपति राई (माइलाको पत्नीको भूमिका निभाउने)ले अभिनय गरेका छैनन्; किरात राई समुदायको गरिखाने परिवारको दाम्पत्य जीवन बाँचेका छन् । माइला दम्पतीको छोरा बिन्द्रमानको भूमिका निभाउने बालकलाकार प्रसन राईले यस फिल्ममा बालपनको चञ्चलता र चाहनालाई सहज ढङ्गले प्रकट गरेका छन् ।
महेश राई र नवीन सुब्बाले मिलेर लेखेको यस फिल्मलाई जोस हेरुमले खिचेका हुन् भने क्वान पुन लेउङले सम्पादन । गाउँको निम्न वर्गीय एउटा इमानदार बाबुले छोरो हुर्काउन र पढाउन कसरी सङ्घर्ष गर्छ, त्यसको स्पष्ट चित्र यस चलचित्रमा आएको छ ।