बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बाराको वनबाट यस वर्ष सवा लाख क्युफिट ढलापडा काठ उत्पादन

शुक्रबार, २५ जेठ २०८१, ०९ : ४६
शुक्रबार, २५ जेठ २०८१

बारा । बाराको वनक्षेत्रबाट यसवर्ष करिव सवा लाख क्युफिट ढलापडा काठ उत्पादन भएको छ । जिल्लाको सामुदायिक, साझेदारी, राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रबाट उक्त परिमाणमा काठ उत्पादन भएको हो ।

जसमध्ये ७० हजार क्युफिट काठ ३ वटा साझेदारी वनबाट मात्रै उत्पादन भएको छ भने ३० हजार क्युफिट सामुदायिक वन र बाँकी मध्यवर्ती क्षेत्रबाट उत्पादन भएको छ ।

मधेस प्रदेशकै सबैभन्दा उत्कृष्ट सालको वन भएको गढीमाई साझेदारी वनबाट यस वर्ष ४५ हजार, हलखोरिया साझेदारीबाट २२ हजार, तामागढी साझेदारी वनबाट ६ हजार ६०३, सामुदायिक वनहरूबाट मात्रै करिब ३० हजार र मध्यवर्ती क्षेत्रका ४ वटा सामुदायिक वनबाट १० हजार क्युफिट काठ उत्पादन भएको हो ।

उत्पादन भएको सबै काठ ढलापढा भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । बारामा ४ वटा साझेदारी, ४१ वटा सामुदायिक, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्ज छ ।

जिल्लामा रहेका ४१ वटा सामुदायिक वनमध्ये निजगढ सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका पशुपति सामुदायिक वन, जनमुखी, राधाकृष्ण, जनज्योति, जनहित, आदर्श सदावहार, जनजागृती सुन्दर सामुदायिक र जीतपुर सिमरामा रहेको पथलैया सामुदायिक वनमा यस वर्ष कटान-छपान भएको थियो ।

b3

वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका वनमा भने सङ्घीय सरकारले नै कोभिड–१९ पछि कटान-छपान र बिक्री वितरण रोकेकाले ४ वर्षपछि यस वर्ष कटान भएको हो ।

गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष राम एकवाल प्रसाद तेलीले घर बनाउँदै गरेका उपभोक्ताहरूको स्थलगत अनुगमनपछि ४५ क्युफिटसम्म काठ वितरण गर्ने जनाए ।

b1

‘हाम्रो अनुगमन समितिले घर घरमा पुगेर अनुगमन गरेको छ,’ उनले भने ‘हामीले वितरण गरेको काठ झ्याल, ढोका लगायतका लागि हो ।’

यसअघि गढीमाई साझेदारी वनले उपभोक्ताहरूलाई वितरण गरेको काठ दलालहरूले बिचमा बिक्री गरेको भेटेपछि डिभिजन वन कार्यालय बाराले काठको वितरण नै रोकेको थियो । गढीमाई साझेदारी वनमा करिब २ हजार उपभोक्ताले काठको माग गर्दै आवेदन दिएका छन् ।

गढीमाई साझेदारी वनमा १ लाख १७ हजार र हलखोरिया साझेदारी वनमा सबैभन्दा धेरै २ लाख ४० हजार उपभोक्ता छन् ।

साझेदारी वनले भ्याट बाहेक ‘ए ग्रेड’ को काठ १ हजार ५५७ रुपैयाँ प्रतिक्युफिट ‘बी ग्रेड’ १ हजार २४६ र ‘सी ग्रेड’ को काठ १ हजार २२ रुपैयाँमा उपभोक्तालाई बिक्री गर्दछ ।

यता मध्यवर्ती क्षेत्रका सामुदायिक वन समूहले भने उपभोक्ताहरूलाई ‘ए ग्रेड’ को काठ प्रतिक्युफिट एक हजार रुपैयाँमा राजस्व लिएर बिक्री गर्दछ ।

मधेस प्रदेशका ८ जिल्लामा सबैभन्दा राम्रो वन बारा, रौतहट र सर्लाहीमा छ । मधेस प्रदेशमा दिगो वन व्यवस्थापन सम्भाव्यता अध्ययनमा ५० वटा सामुदायिक वनबाट वार्षिक २५ करोड क्युफिट, १६ वटा साझेदारी वनबाट ४८ करोड र सरकारद्वारा व्यवस्थित गरिएको वनबाट ६ करोड क्युफिट काठ उत्पादन हुने उल्लेख छ ।

b5

जसमा सामुदायिक वनमा ९२५ जना, साझेदारी वनमा १ हजार ७१७ र सरकारद्वारा व्यवस्थित वनमा २२२ जनाले रोजगारी पाउने उल्लेख छ ।

साथै मधेश प्रदेशको वन मध्ये सामुदायिक वनबाट वार्षिक १२ करोड ५० लाख, साझेदारी वनबाट २४ करोड र राष्ट्रिय वन क्षेत्रबाट ३ करोड वार्षिक राजस्व सङ्कलन हुनसक्ने अध्ययनमा देखाइएको छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले मधेस प्रदेशमा दिगो वन व्यवस्थापन सम्बन्धी गरिएको सम्भाव्यता अध्ययन कार्यान्वयन गर्नसके वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्न सकिने बताए ।

वनजङ्गल संरक्षण, सम्वर्द्धन र काठदाउरा बिक्री वितरणलाई उपभोगलाई व्यवस्थित गर्न मधेस प्रदेश वन मन्त्रालयले दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरिरहेको डिभिजन वन प्रमुख सिंहले जनाए ।

b2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप