बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

टी–२० विश्वकपमा पहिलो पटक भिड्दै नामिबिया र स्कटल्यान्ड

बिहीबार, २४ जेठ २०८१, १७ : २७
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा शुक्रबार स्कटल्यान्डले नामिबियासँग भिडन्त गर्दैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केन्सिङ्टन ओभल रंगशालामा नेपाली समय अनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ ।

नामिबिया र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । उक्त समूहमा अस्ट्रेलिया, इङ्ल्यान्ड र ओमान पनि छन् । अस्ट्रेलिया र इङ्ल्यान्ड टी–२० विश्वकपका पूर्वविजेता हुन् । समूह ‘बी’ मा खेल्न लागिएको यो चौथो खेल हो ।

ruben trupleman

उक्त समूहको पहिलो खेलमा अफ्रिकी राष्ट्र नामिबियाले एसियाली प्रतिद्वन्द्वी ओमानलाई ‘सुपर ओभर’ मा हराएको थियो । इङ्ल्यान्ड र स्कटल्यान्डबिचको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । समूहको तेस्रो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

समूह ‘बी’ मा ओमानले दुई र अन्य चार टोलीले एक–एक खेल खेलेका छन् । अस्ट्रेलिया दुई अङ्कसहित पहिलो, नामिबिया दुई अङ्कसहित दोस्रो, इङ्ल्यान्ड एक अङ्कसहित तेस्रो र स्कटल्यान्ड एक अङ्कसहित चौथो स्थानमा छन् । लगातार दुई हारसँगै ओमान पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

namibia

टी–२० विश्वकपमा स्कटल्यान्डको यो छैटौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणमा पनि स्कटल्यान्डले भाग लिएको थियो । नामिबियाको भने टी–२० विश्वकपमा यो तेस्रो सहभागिता हो । नामिबियाले सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।

स्कटल्यान्डले टी–२० विश्वकपमा हालसम्म १९ खेल खेलेको छ । त्यसमध्ये स्कटल्यान्ड पाँच खेलमा विजयी र १२ खेलमा पराजित भएको छ । स्कटल्यान्डको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ । नामिबियाले भने विश्वकपमा हालसम्म १२ खेल खेलेको छ । त्यसमध्ये नामिबिया चार खेलमा विजयी र सात खेलमा पराजित भएको छ । नामिबियाको एक खेल भने बराबरीमा सकिएको छ ।

यसपटक स्कटल्यान्ड र नामिबिया दुवै छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । स्कटल्यान्ड युरोपेली क्षेत्रबाट र नामिबिया अफ्रिकी क्षेत्रबाट विश्वकपमा छनोट भएका हुन् । यी दुई टोलीबिच हालसम्म तीनवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ ।

त्यसमध्ये तीनवटै खेलमा नामिबियाले स्कटल्यान्डलाई हराएको छ । नामिबियाले तीनवटै खेल ‘न्युट्रल भेन्यू’ मा जितेको हो । सन् २०१९ को अक्टोबर २२ मा खेलिएको खेलमा नामिबियाले स्कटल्यान्डलाई २४ रनले हराएको थियो । त्यसको दुई वर्षपछि सन् २०२१ को अक्टोबर ९ तारिखमा खेलिएको खेलमा नामिबियाले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

scotland

टी–२० विश्वकप सुरु हुनुअघि आईसीसीले सहभागी सबै टोलीका लागि दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको थियो । नामिबियाले आफ्नो पहिलो अभ्यास खेलमा युगान्डालाई पाँच विकेटले हराएको थियो । दोस्रो अभ्यास खेलमा भने नामिबियाको टोली अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी विश्वकपअघि खेलिएको अभ्यास खेलमा स्कटल्यान्डको टोली अफगानिस्तानसँग ५५ रनले पराजित भएको थियो । स्कटल्यान्ड र युगान्डाबिच हुने भनिएको पहिलो अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो ।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टन नामिबियाविरुद्ध सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । यसअघि खेलिएको दुईवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ४२ को औसतले कुल ८४ रन बनाएका छन् ।

यसैगरी नामिबियाविरुद्धको खेलमा स्कटल्यान्डका लागि सबैभन्दा बढी विकेट लिने बलर जस डेभी र मार्क वाट हुन् । यी दुवै बलरले तीन–तीन विकेट लिएका छन् । जस डेभी भने स्टकल्यान्डको वर्तमान विश्वकप टोलीमा छैनन् ।

george munsey

यसैगरी स्कटल्यान्डविरुद्ध सबैभन्दा बढी रन बनाउने नामिबियाका ब्याट्सम्यान क्रेग विलियम्स र जेजे स्मित हुन् । क्रेग विलियम्स वर्तमान विश्वकप टोलीमा छैनन् । जेजे स्मितले भने स्कटल्यान्डविरुद्ध ६३ रन बनाएका छन् । स्कटल्यान्डविरुद्ध सबैभन्दा बढी विकेट लिने नामिबियाका बलर जन फ्राइलिंक हुन् । उनले चार विकेट लिएका छन् ।

जारी विश्वकपमा नामिबियाका जन फ्राइलिंक लयमा देखिएका छन् । उनले यसअघि खेलिएको ओमानविरुद्धको खेलमा ४५ रन बनाएका थिए । यसका अतिरिक्त जारी विश्वकपमा नामिबियाका बलरहरु पनि लयमा देखिएका छन् ।

ओमानविरुद्धको खेलमा रुबेन ट्रम्पलम्यान एक्लैले चार विकेट लिएका थिए । उनले चार ओभरमा २१ रन खर्चिएका थिए । डेभिड विसेले पनि तीन विकेट हात पारेका थिए । उनले ३.४ ओभरमा २८ रन खर्चिएका थिए ।

नामिबिया आफूले खेलेको पछिल्लो पाँचमध्ये दुई खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । एक खेल भने बराबरीमा सकिएको छ । अर्कोतर्फ स्कटल्यान्डले पछिल्ला पँचमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

स्कटल्यान्डको एक खेल अनिर्णीत रूपमा सकिएको छ भने एक खेल रद्द भएको छ । नामिबिया र स्कटल्यान्डबिच खेल हुँदा बार्बाडसमा वर्षाको कम सम्भावना रहेको समाचारमा जनाइएको छ ।

नामिबियाको सम्भावित टोलीमा माइकल भान लिङ्गेन, निकोलस डाभिन, जन फ्राइलिंक, जेरहार्ड एरास्मस (कप्तान), जेजे स्मित, डेभिड विसे, जेन ग्रिन (विकेटकिपर), मलान क्रुगर, रुबेन ट्रम्पलम्यान, बेनार्ड स्कोल्ज र टंगेनी लुंगामेनी रहेका छन् ।

यसैगरी स्कटल्यान्डको सम्भावित टोलीमा जर्ज मनसी, माइकल जोन्स, ब्रान्डन म्याकमुलेन, रिची बेरिङ्टन (कप्तान), म्याट क्रस (विकेटकिपर), माइकल लिस्क, क्रिस ग्रेभ्स, मार्क वाट, ब्राड ह्विल, क्रिस सोल र ब्राड करी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप