बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सुन तस्करी

६० केजी सुनको भुक्तानीमा जोडिए दुईवटा मोबाइल वालेट कम्पनी

पेवेल र सजिलो पे मार्फत ३ अर्बको कारोबार
बिहीबार, २४ जेठ २०८१, १६ : ५३
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न आरोपमा सीआईबीले १० जनालाई थुनेर अनुसन्धान गरिरहेको छ । दोस्रो चरणको अनुसन्धानको क्रममा सुनको रकम भुक्तानी गर्दा मोबाइल वालेटको पनि दुरुपयोग भएको भेटिएको छ ।

अवैध सुन कारोबारको रकम भुक्तानीमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ दुरुपयोग गरेको भेटिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । सुन तस्करले कारोबारको भुक्तानी वालेटमार्फत गरेका हुन् ।

सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा राष्ट्र बैङ्कले दुई वटा  मोबाइल वालेट कम्पनीको खाता रोक्का गरेको छ । अनामनगरमा कार्यालय रहेको पेवेल नेपाल प्रालि र बालुवाटारमा कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको कारोबार राष्ट्र बैङ्कले रोक्का गरेको हो ।

तस्कर समूहले दुई वटा मोबाइल वालेट कम्पनीमा पैसा डिपोजिट गर्थे । सो रकम वालेट कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्थे र दोस्रो समूहलाई भुक्तानी दिन्थे । सीआईबीका एआईजी ज्ञवाली भन्छन्– ‘मोबाइल वालेट प्लेटफर्मको प्रयोग भएको अनुसन्धानबाट देखिएको छ ।’

दुई वटा वालेट कम्पनीले सुनको भुक्तानीबापत ३ अर्बको कारोबार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । एआईजी ज्ञवाली भन्छन्–‘३ अर्बको कारोबार देखिन्छ ।’

चिनियाँ सुन तस्कर दाओजिन वाङ सहितको समूहले ब्रेक प्याडमा लुकाएर ६० केजी सुन काठमाडौँमा ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो सुन कारोबारको रकम आन्तरिक रेमिट्यान्स तथा वालेटमा ब्यालेन्स लोड गर्ने नाममा अवैध कारोबार गरेर वालेट कम्पनीहरूले भुक्तानी गरेका हुन् ।

आन्तरिक रेमिट्यान्सको नाममा विदेशबाट आएको हुन्डी को पैसा उनीहरुले ग्राहकलाई भुक्तानी दिने गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप